Tuesday, October 1, 2024

बाहिरी चक्रपथको गाठो फुकाउन संसदीय समितिको सक्रियता

काठमाडौं–प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई छुने गरी निर्माण गर्न लागिएको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधनमा चासो देखाएको छ।

बाहिरी चक्रपथको पूरै खण्डको डिपिआर बनाउने समझदारी भएपनि पछिल्लो समय शहरी विकास मन्त्रालय, उपत्यका विकास  प्राधिकरण र बाहिरी चक्रपथ आयोजनाबीच समन्वय नहुँदा ढिलाइ भइरहेका बेला संसदीय समितिकाे अाइतबारकाे बैठकमा छलफल भएकाे छ।

विशेषगरी पहिलो खण्डको चोभारदेखि गाम्चा हुँदै सतुंगल सम्मको ६ किलोमिटर सडक खण्डको कित्ताकाटको विषयमा टुंगो नलाग्दा आयोजनाको काम त्यतिकै अलपत्र परेको हो।

पहिलो खण्डको खण्डको ६ दशमलव ६ किलोमिटर जग्गामा २ हजार ९ सय ५३ वटा सानाकित्ता परेपछि त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि मन्त्रालयले आयोजनालाई पुनः सर्वे गरी प्रतिवेदन मन्त्रालय पठाउन भनेको थियो । आयोजनाले उक्त कार्य सम्पन्न गरेर प्रतिवेदन मन्त्रालयमा पठाएको तर मन्त्रालयबाट केही पनि जवाफ नआएको आयोजना दाबी गर्दै आएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले पनि बाक्लो बस्ती भएको ठाउँबाट नभई अन्यत्रबाट सो आयोजनाको कामलाई अघि बढाउन पनि डिपीआर संशोधन गर्नुपर्ने अवस्था आएको बताए।

यसैबीच, संसदीय समितिले बाहिरी चक्रपथका बारेमा छलफल गर्न अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, लगानी बोर्ड र सम्बद्ध सरोकारवाला निकायलाई आमन्त्रण गर्ने निर्णय गरेको छ।

बाहिरी चक्रपथको क्षेत्र सबैभन्दा धेरै काठमाडौँमा पर्छ। त्यसपछि भक्तपुर र ललितपुरभित्र पर्छ। काठमाडौँमा ३५.०८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किलोमिटर गरी जम्मा ७२ किलोमिटरको बाहिरी चक्रपथ बन्नेछ।

बाहिरी चक्रपथको रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा, चपली, चुनिखेल, गोकर्णेश्वर, थलीडाँछी, दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल, बुङमती, हुँदै चोभारसम्म रहेको छ।

सम्बन्धित समाचार
अन्योलमा बाहिरी चक्रपथ स् बीचैमा गायव भयो आयोजनाको प्रतिवेदन
किन रोकियो बाहिरी चक्रपथ ?
बाहिरी चक्रपथ : अब ७२ किलोमिटरको एउटै डीपीआर

ताजा समाचार

सम्बन्धित समाचार