राईलाई वातावरण पत्रकारिता पुरस्कार

२२ जेठ, काठमाडौँ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार पत्रकार विद्या राईलाई प्रदान गर्ने भएको छ ।

वातावरण र दिगो विकासका विषयमा खोजमूलक समाचार लेखन गरेवापत उनलाई समूहले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । राई नेपाल न्यूज डटकमकी विशेष संवाददाता हुन् ।

समूहले हरेक वर्ष विश्व वातावरण दिवस (जून ५) को अवसरमा वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । नगद र सम्मानपत्र सहितको पुरस्कार समूहको आगामी साधारणसभामा प्रदान गरिने छ ।

गत वर्ष (सन् २०२५ मा) वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनहरूमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट प्राप्त आवेदन मध्येबाट राई सर्वोत्कृष्ट चयन भएकी हुन् ।

समूहले वातावरण र दिगो विकासका विविध विषयहरूमा पत्रकारहरूलाई प्रोत्साहन गर्न विगत ४ दशकयता वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२५ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन सार्वजनिक आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा पूर्व महासचिव संगीता लामा र विज्ञ सदस्य बटुकृष्ण उप्रेती सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा राईलाई पुरस्कार दिने निर्णय गरिएको हो ।

राई समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२५’ पाउने ३९ औँ पत्रकार हुन् ।

यससँगै समूहले २०२५ का लागि उत्कृष्ट र प्रशंसनीय रिपोर्टिङ गरेका अन्य ५ जना पत्रकारहरूलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२५’ प्रशंसा पत्र प्रदान गर्ने भएको छ ।

निर्णायक मण्डलले क्रमशः महेश के.सी.(कान्तिपुर टिभी), रूकुम पूर्व, सविता बुढा, (रातोपाटी अनलाइन) धनगढी, हरिबहादुर लम्जेल, (अन्नपूर्ण पोष्ट), धनकुटा, सिर्जना बुढाथोकी, (नेपाल समाचारपत्र) सुर्खेत र घनश्याम खड्का, (उकालो डटकम) म्याग्दीलाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको हो ।


ताजा समाचार

सम्बन्धित समाचार