खस्कियो निकुञ्जको राजस्व

२२ असार, रसुवा।

लाङटाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ ।

पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवद्र्धनमार्फत आयआर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ ।

निकुञ्जको तथ्यांकअनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा भने हालसम्म ५० हजार ३ सय ६० पर्यटक निकुञ्ज पुगेका छन् । तीमध्ये ३९ हजार ११ जना आन्तरिक, सार्क राष्ट्रका ७ सय ८८ जना र अन्य मुलुकका १० हजार ५ सय ६१ जना छन् ।

पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ । गत आर्थिक वर्षमा पाँच करोड ७७ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा हालसम्म चार करोड २८ लाख २२ हजार ७ सय ५६ रूपैयाँमात्र संकलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्रले हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।

पर्यटनबाट प्राप्त राजस्वले निकुञ्ज संरक्षण, जैविक विविधताको व्यवस्थापन तथा स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार