बाढी नियन्त्रण गर्न नदी किनारामा रोपियो ४ हजार बाँसका बिरूवा

२१ जेठ, झापा।
मेचीनगर नगरपालिकाले निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि ४ हजार बाँसका बिरूवा रोपेको छ ।

परम्परागत रूपमा गरिने ढुंगा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरूवा रोपेको मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

मेचीनगर नगरपालिका–७ स्थित पूर्वी निन्दा करिडोरबाट करिब पाँच किलोमिटर दक्षिणसम्म नदी किनारमा बाँसका बिरूवा रोपिएका हुन् । ‘बाँसका बिरूवा बाढी नियन्त्रणका निम्ति उपयोगी हुन्छन्’, बुढाथोकीले भने, ‘बाँसलाई सही तरिकाले हुर्काउन सकियो भने यसले बाढी र भू–क्षय नियन्त्रण हुन्छ ।’

नगरपालिकाले चालु आर्थिक वर्षभित्रै मेचीनगर–७ र १५ का नदी तटीय क्षेत्रमा ८ हजार बाँसका बिरूवा रोप्ने योजना तर्जुमा गरेको छ ।

नदी कटान तथा भू–क्षय रोक्न र वातावरण सन्तुलनका निम्ति राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहयोगमा ‘बंगलादेशी काँडे बाँस’ प्रजातिका बिरूवा रोपिएका हुन् ।

झापामा नदी नियन्त्रणका लागि बाँसमा आधारित जैविक तटबन्धको प्रयोग यसअघि कनकाई नगरपालिकामा गरिएको थियो । जिल्लाका अन्य नदी किनारमा पनि बाँस तथा भेटिभर (एक प्रकारको जरा फैलिने घाँस) प्रयोग गरेर कटान रोक्ने प्रयास हुँदै आएको छ ।

कनकाई नदीको तटीय क्षेत्रअन्तर्गत शिवसताक्षी र झापा गाउँपालिका क्षेत्रमा विगतमा बाँस र भेटिभर रोपेर जैविक तटबन्ध निर्माण गरिएको थियो । यसले नदीको धार परिवर्तन हुनबाट जोगाएको छ ।

यसैगरी, मेचीनगरको हँडिया र भद्रपुर नगरपालिका क्षेत्रमा पर्ने नदी किनारमा पनि स्थानीय उपभोक्ता समिति र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बाँसका बिरूवा रोपिएका थिए । यसले पनि भू–क्षय नियन्त्रण गरेको छ ।

मावा र रतुवा नदी आसपासका क्षेत्रमा दमक नगरपालिका र कमल गाउँपालिकाले पनि चुरे क्षेत्रबाट आउने भेल नियन्त्रणका लागि बाँस र अम्रिसो रोपणलाई प्राथमिकता दिएका छन् ।

बाँसका जराले माटोलाई मजबुत रूपमा समात्ने भएकाले तीव्र बहावले समेत कटान गर्न नसक्ने विशेषज्ञहरूको भनाइ छ । ढुंगा–जालीको तटबन्धको तुलनामा बाँसको तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री हुने मानिन्छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार