सम्पादकीय
दशैंले छोपिसकेको छ। यससँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि हुँदै भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यतिबेला विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरी रहेका छन्। हवाई मार्गबाट जानेको संख्या पनि ठूलो छ।
योसँगै सडक दुर्घटनाका खबर समेत आउन थालेका छन्। हरेक वर्ष चाडवाडको समयमा सडक दुर्घटना तुलनात्मक रुपमा बढी हुने जोखिम हुन्छ। शुक्रवार मात्र सिन्धुली र नुवाकोटमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा केहीको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। चाडवाडको समयमा यस्ता दुर्घटना हुनु अत्यन्त दुर्भाग्य र दुःखद हो। दुर्घटनालाई सकेसम्म कम गर्न विशेष योजना ल्याइएको ट्राफिक प्रहरीले बताउने गरेको छ तर, त्यो पर्याप्त छैन।
केही वर्षयताको घट्नालाई सरसर्ती हेर्दा विशेषत राजमार्ग र दुर्गम पहाडमा चल्ने गाडी बढी दुर्घटना भएको पाइन्छ। विशेषत तीव्र गति, जीर्ण सडक, क्षमताभन्दा बढी यात्रु, पुराना सवारी साधन लगायतका कारणले सडक दुर्घटना बढेको पाइन्छ। यदि सरकारी निकायले यी कारणमा केही ध्यान दिने हो भने दुर्घटना कम गर्न सकिन्छ।
पहिलो कारण हो, प्रत्येक वर्ष चाडवाडका लागि पर्याप्त सवारी साधनको अभाव छ। यही अभावका कारण प्रत्येक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु रहेका हुन्छन्। सरकारी निकायले क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारवाही गर्छु भनेर मात्र समस्याको समाधान हुँदैन।
वर्ष दिनमा एक पटक आउने चाडवाडमा जसरी पनि घर जानुपर्ने हुन्छ, त्यही बाध्यताले गर्दा कति यात्रु कोचाकोच भएपनि बस चढ्ने गर्दछन्। तर, दशैंलाई लक्षित गरेर सवारी साधनको व्यवस्था गर्नेतर्फ कसैको ध्यान पुगेको छैन। संघदेखि प्रदेश र स्थानीय सरकारले समेत यसमा पर्याप्त ध्यान दिन आवश्यक छ।
अहिले हामीसँग स्थानीय सरकारको पालिका छन्। उनीहरूले स्थानीय रूटमा आफ्नो तथा स्कूल र कलेजका गाडी व्यवस्थापन गर्न सक्छन्। काठमाडौमा संघ सरकारले पनि त्यही व्यवस्था गर्न सक्छ।
तर, यसमा कसैको पनि ध्यान पुगेको छैन। यतिबेला देशभरका कलेज र विद्यालय बन्द छन्, उनीहरुसँग समन्वय गरेर भाडा नै लिएर गाडी चलाउन नसकिने होइन, त्यसका लागि खाली इच्छाशक्तिको मात्र जरूरत छ। तथापि दशैंका बेला क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने प्रवृत्ति बढी नै हुने भएकाले प्रहरीले अनुगमन र नियमनलाई चुस्त बनाउन सक्नुपर्छ। जसले सम्भावित दुर्घटनाको जोखिमलाई कम गर्न मद्दत गर्छ।
दोस्रो सडक सुधार। काठमाडांैबाट बाहिर जाने र विभिन्न लामो र छोटो दूरीमा चल्ने सवारीसाधनका लागि बाटोको अवस्था राम्रो छैन। सबै बाटो कालोपत्रे गर्न सकिदैन तर, कम्तिमा पनि स्थानीय सरकारले आफ्नो वरपर रहेका बाटोमा रहेका खाल्डाखुल्टी पुर्ने काम अवश्य पनि गर्न सक्छन् । यति सामान्य समस्यामा समेत ध्यान गएको पाइदैन।
अर्काे विशेषगरी ग्रामीण भेगमा जीर्ण सवारीसाधन चलिरहेका छन्। चाहे ठूलो यात्रुबाहक गाडी होस् अथवा अन्य साना गाडी। खाली भाडा उठाएर पैसा कमाउने ध्यले मात्र त्यस्ता सवारी चलिरहेका छन्। अझ पछिल्लो समयम २० वर्षे पुराना गाडी काठमाडौं र पोखराभन्दा बाहिर चलाउने दिने तयारी गरेर सरकारी निकायले यसलाई नै प्रोत्साहन गरेका छन्।
एक त पुरानो गाडी, त्यसमाथि दशंैको पर्याप्त किनमेल गरेर फर्केका यात्रु, धेरै भार परेर गाडी दुर्घटना समेत हुने गरेका छन्। यो यथार्थ हो कि चाडवाडको समयमा बढी दुर्घटना भइरहेका छन्। त्यसैले यस समयमा सुरक्षा निकाय र प्रशासन अझ चनाखो अवस्था रहन आवश्यक छ। दुर्घटना हुनसक्ने क्षेत्रमा प्राथमिक उपचार र घाइतेलाई छिटोभन्दा छिटो अस्पताल लैजाने व्यवस्था गर्न आवश्यक छ।
त्यसैले यो चाडवाडको समयमा सरकारी निकायले अन्य समयमा जस्तो सामान्य रुपमा हेर्ने होइन कि यात्रुको सुरक्षामा ध्यान दिनुपर्छ। यात्रुको सुरक्षामा सधैं ध्यान दिनैपर्छ तर, चाडवाडको समयमा अझ बढी सक्रियता देखाउन आवश्यक छ।
त्यसैले विशेषगरी अहिले स्थानीय सरकारले यसमा विशेष सक्रियता देखाउन आवश्यक छ। संघीय सरकारको जिम्मेवारी त छँदैछ, स्थानीय सरकारले यसमा विशेष सतकर्ता अपनाउन आवश्यक छ।
संघीय संरचनामा गइसकेपछि सबैले केन्द्रीय सरकारको मात्र मुख ताकेर बस्ने होइन कि जनताको सुरक्षामा विशेष योजना नै बनाएर लाग्ने हो। संघीय संरचनामा प्रत्येक वडामा नै पर्याप्त संरचना छन, स्थानीय जनप्रतिनिधि छन्, उनीहरूले यसलाई गम्भीर ढंगले लिन आवश्यक छ।





