मृत भेटियो रोनाल्डो

३ असोज, चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा विचरण गर्ने जंगली भाले हात्ती रोनाल्डो मृत भेटिएको छ ।

प्रायः चितवन निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास रहने सो हात्ती आज विहान चितवनको बीस हजारी ताल नजिकैको कुमाल ताल क्षेत्रमा मृत भेटिएको हो ।

करिब अढाई दशकअघिदेखि चितवन निकुञ्जमा देखिएको यो हात्ती हात्ती प्रजनन् केन्द्रको ‘ज्वाइँ’ कहलिएको थियो । यो हात्ती मार्फत प्रजनन केन्द्रका ढोइ हात्ती गर्भवती हुने गरेका थिए । रोनाल्डोसँगको प्रजनन प्रक्रियाबाट हात्ती प्रजनन् केन्द्रमा ३८ वटा छावा जन्मिएका निकुञ्ज प्रशासनको अभिलेख छ ।

रोनाल्डो ५० वर्ष हाराहारीको हो । सो हात्ती विद्युतीय करेन्ट लागेर मरेको निकुञ्ज प्रशासनको प्रारम्भिक अनुमान रहेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताए ।

निकुञ्ज सुरक्षार्थ खटिएको वरण्डाभार सुरक्षा पोस्टका लागि विद्युतीकरण गर्न लगिएको करिब १६ फिट अग्लो पोलबाट तानिएको विद्युतीय तार मुखले टोकेको अवस्थामा हात्ती भेटिएको उनले जानकारी दिए ।

यसैबीच चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक तथा प्राविधिकको टोलीले आवश्यक प्रक्रिया पूरा गरी हात्तीको शव परीक्षण गरेको छ ।

शव परीक्षणपश्चात हात्तीका दारा सुरक्षित राखिएको निकुञ्जले जनाएको छ । त्यसपछि हात्तीको शव सोही स्थानमा खाल्डो खनेर पुरिएको निकुञ्जले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार