श्रीकमल द्विवेदी
२३ भदौ, काठमाडौँ ।
यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जनधनमा पुगेको नोक्सानीको विवरण अझै संकलन गरिसकिएको छैन । १ हजारभन्दा बढी शव भेटिएको छ भने सम्पर्कविहीन भएकाहरूको संख्या ५ हजारभन्दा बढी छ । भौतिक क्षतिको त कुरा गरिसाध्य छैन । सरकारले पुनर्निर्माणका लागि ५ खर्ब रूपैयाँभन्दा बढी रकम लाग्ने प्रारम्भिक आँकडा सार्वजनिक गरेको छ ।
कुनै पनि घटना भइसकेपछि त्यसमा अति धेरै चर्चा र चिन्ता व्यक्त गर्ने समाज हो हाम्रो । यसपटक मात्र होइन हरेक विपद् पछि हामी अत्याधिक चिन्तित भएको देखिन्छौँ सुनिन्छौँ । तर बिडम्बना के छ भने पहिलेका यस्तै प्रकोप तिनले पु-याएको नोक्सानी र त्यसबाट सिकेको पाठप्रति भने हामीले नजरअन्दाज गर्ने गरेका छौँ ।
बाढी, पहिरो, हिमबाढी आदि भू–गर्भिक प्रक्रिया हुन् । यसपटक रसुवामा आएको जस्तो भू–बाढी पहिले पनि आएका थिए । हिमाली क्षेत्रको हलचलबारे भएका अनुसन्धानले यस्ता घटना भइरहने तथ्य प्रमाणित गरिसकेको छ । हामीले करिब १ वर्षभित्रै एउटा नदी प्रणालीमा २ विनाशकारी हिमबाढी पनि भोगिसकेका छौँ । २० हजार वर्षअघि लाङटाङ हिमालमा ठूलो पहिरो गएर त्यहाँ चट्टान नै पग्लिएको घटनाबारे अस्ट्रियाका वैज्ञानिकले अनुसन्धान गरिसकेका छन् । यसपटकको जत्रो बाढी यसअघि हामीले आएको थिएन भन्ने कुरा हो तर हिमबाढीहरू नयाँ भने होइनन् ।
हामीले चेतेनौँ
पहिल्यैदेखि नै हामीले त्यस्ता प्राकतिक विपत्तिलाई भोग्दै आएका हौँ । तर यस्ता विपत्तिबारे हामीले पर्याप्त अध्ययन–अनुसन्धान गर्न स्रोत–साधन जुटाएनौँ । यसबारे रूचि भएकाहरूले आफ्नै बल बर्गतले जे जति गरे त्यसैमा सिमित भयोे त्यसलाई थप प्रोत्साहन भएन । विपतको पूर्वतयारीमा खास काम गर्न सकिएन । काम त के काम गर्नुपर्छ भन्ने सोच नै पनि राखिएको पाइँदैन । कागजमा धेरै काम भएको तर व्यहारमा खास केही नभएको जस्तो अवस्था रहन पुग्यो ।
यस्तो विपत्तिमा एकातिर प्राकृतिक कारण अर्थात् नियमित हलचल कारण थियो भने जलवायु परिवर्तनले त्यसमा थप मलजल गरेको छ । जमेर बसेको हिमाली क्षेत्रको हिमरेखा लगभग ४ हजार ५ सय मिटर वा त्योभन्दा पनि तलबाट सुरू हुने गरेकोमा तापमान वृद्धिका कारण अहिले हिमरेखा ५ हजार ५ सय मिटरभन्दा माथि पुगिसकेको विभिन्न अध्ययनले देखाएका छन् ।
पहिले यो क्षेत्रमा हिउँ नै हिउँ हुने भएकाले हिमाली हलचलको नोक्सानी तलसम्म आउन पाउँदैनथ्यो । तर ५ हजार ५ सय मिटरभन्दा तल भएका हिमनदीमा अहिले हिउँ पग्लिसेकोले गेग्रान मात्रै बाँकी छ । हिउँ पर्ने त्यो ठाउँमा अब तुलनात्मक रूपमा तातो मनसुनी पानी पर्न थालेकाले यस्तो पानीले गेग्रानलाई बगाएर लैजान थाल्यो ।
त्यसभन्दा माथि जमेर बसेको बरफ र जमिन (पर्माफ्रस्ट) मा पनि पानी पर्दा द्रुत गतिमा पग्लिएर यस्ता विपत् बढ्दै गएका हुन् । यसरी जोखिम झन् झन् बढ्दै गएको देखिन्छ । हाम्रो उत्तरतिरका हिम श्रृंखलामा रहेका धेरै यस्ता हिमताल, हिमनदी लगायतमा यस्तो तापमान वृद्धिका कारण जोखिम लगातार बढिरहेको छ । तर, हामी गम्भीर हुनै सकेका छैनौँ । यस्ता क्षेत्रमा स्थलगत अध्ययन अनुसन्धान हुन सकेको छैन ।
हामीसँग संस्थागत अभिलेख पनि भएन । बरू यस्ता संस्थालाई विगठन गर्ने, घटाउने, गाभ्ने, स्रोत साधन नदिने जस्ता गतिविधि भइरकहेको पाइन्छ । हामीलाई किन विज्ञ चाहिन्छ, किन यस्ता घटनाको अध्ययन गर्नुपर्छ? किन थप अनुसन्धान आवश्यक छ ? भन्ने खालको महत्व नै नबुझेको जस्तो लाग्छ ।
पूर्वसूचना प्रणालीमा सुधार
यसपटक पनि हिमबाढी पहिलेको सूचनाको विषयबारे चर्चा भइरहेको छ । कतिपयले चिनियाँ क्षेत्रमा पहिले नै जानकारी भए पनि समयमै जानकारी नदिइएको पनि भनेको सुनियो । तर मलाइ त्यस्तो होला जस्तो लाग्दैन । चीनतिर भएको नोक्सानीलाई हेर्दा पनि त्यो कुरा थाहा हुन्छ । तर हामीसँग विपदजन्य पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता छ ।
यसपटकक पनि त्रिशूली बजारतिरका कतिपय बासिन्दाले बाढीमा पनि कतिपयले बाढी आउँछ मात्र भनिएको त्यसको साटो ठूलो बाढी आउँदै छ भनिएको भए हामी बेलैमा सुरक्षित स्थानमा जाने थियौँ भनेको पनि मैले सुनेँ । यो कुरा पनि गम्भीर छ । बाढी आउँदैछ मात्र भन्दा मानिसले सँधैको जस्तै बाढी होला भन्ठाने । यति माथिसम्म बाढी आउला भन्ने सोचेनन् ।
अर्को कुरा फेरि के भयो भने सँधैजसो खोलामा बाढी आउँदा विस्तारै पानीको सतह बढ्दै जाने हुन्थ्यो । त्यसकै आधारमा पूर्वसूचना प्रणालीले बाढी बढ्दै गएको र खतराको तह पार गरेको भनेर जानकारी दिन्थ्यो । तर यसपटक त एकै झोक्कामा सबै सोहोरेर लगेको भिडिओ देखियो । यसले त हाम्रो पूर्वसूचना प्रणालीलाई नै चुनौती दियो । यसर्थ यस घटनाबाट हामीले विपद पूर्वसूचना प्रणालीबारे पनि धेरै कुरा सिक्नुपर्ने देखिएको छ ।
सिकाइ के त ?
हरेक विपतले हामीलाई केही न केही सिकाएको नै हुन्छ । हामीले सिक्न सक्छौँ कि सक्दैनौँ वा चाहन्छौँ कि चाहँदैनौँ भन्ने हो । हाम्रो सन्दर्भमा हामी कहिल्यै यस्ता विपतका घटनापछि केही सिक्ने र त्यसै अनुसारको तयारी गर्ने गरेको पाइँदैन ।
हाम्रो समस्या के छ भने एउटा अलि चर्चित ताल फुटेर ठूलो नोक्सानी गरेपछि मात्र हामीले यस्ता बाढीलाई विपत्ति मान्ने भयौँ । हामी यो काम विदेशी संस्थाले, गरिदेला वा यो त उनीहरूको पो काम हो त भन्ने खालको कुरा गछौँ । असर हामीलाई गर्ने, विषय हाम्रो हुने अनि सहयोग चाहिँ विदेशीले गर्ने भन्ने कुरा आफैँमा अमिल्दो हो ।
मेरो विचारमा हिमाली गेग्रानजन्य प्रकोप भनौँ वा हिमबाढी, यस्ता प्रकोप हेर्न छुट्टै निकाय र त्यसको एउटा अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक छ । सामान्य रूपमा यो काम गर्न सम्भव छैन । अर्कोतिर हाम्रो भौतिक संरचनाको निर्माणबारे पनि अब व्यापक वहस गर्न आवश्यक छ ।
पुललगायत नदी वरपरका संरचना डिजाइन गर्दा हामीले कति पानी बग्छ भन्ने मात्र गणना गरेर हुँदैन पानीसँगै गेग्रान कति हुन्छ र त्यसले कति सोहोरेर लैजान्छ भन्ने कुराको आँकलन गरेको पाइँदैन, जुन अपरिहार्य छ । पानी मात्र हेरेर हुँदैन रहेछ भन्ने त भोटेकोशीको बाढीले पनि भर्खरै हामीलाई पढाएको छ ।
तर हामी यो विषयलाई कतिको गम्भीरतापूर्वक लिन्छौँ र काम थाल्छौँ भन्ने कुरा महत्वपूर्ण हो । अहिले क्लाइमेट फन्डको चर्चा पनि भइरहेको छ । यो रकम के कति आउँछ भन्ने तय भइसकेको त छैन तर मेरो विचारमा अब हामी कागजी कार्ययोजनामा मात्र बनाएर बसेर हुँदैन ।
हामीलाई पटक–पटक प्रकृतीले पाठ पढाएको छ, यसबाट हामीले सिक्नु पर्छ । प्राकृतिक विपतबाट जोगिन र यसको नोक्सानी कम गर्न तत्कालै विशेष योजना बनाएर काम थाल्न अपरिहार्य छ । हामीले गर्नुपर्ने जति ढिलाइ गरिसक्यौँ अब कुनै पनि बहानामा बिलम्ब गर्नु हुँदैन ।
हिमबाढी अध्येता तथा भौगर्भिक प्रकोपजन्य विज्ञ द्विवेदीसँग प्रशिक्षार्थी पत्रकार लक्ष्मण कार्कीले गरेको कुराकानीमा आधारित ।





