२३ वर्षअघिदेखि चर्चामा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाप्रति पछिल्लो समय आशा पलाएको छ। ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्र ओगटने गरी बारामा विमानस्थल बन्नेप्रति आशा मात्र जागेको छैन। बहस पनि भइरहेको छ–विशेषगरी त्यहाँ विमानस्थल बनाउँदा वन तथा वातावरणीय क्षेत्रमा पार्ने असरबारे।
विमानस्थलले ओगट्ने क्षेत्रमध्ये सात हजार नौ सय ६९ हेक्टरमा वनजंगल र बाँकी क्षेत्रमा बस्ती रहेको ९ जेठमा स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) मा उल्लेख छ।
सन् १९९५ मा विभिन्न ८ स्थानमध्येबाट सो स्थानलाई अन्र्तराष्ट्रिय विमानस्थलको रुपमाा प्रस्ताव गरिएको थियो। बारामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउँदा के फाइदा हुन्छ ? यीनै सेरोफेरोमा केन्द्रित रही हाकाहाकीकर्मी नवीन लुईटेलले पूर्वक्याप्टेन प्रचण्डजंग (पीजे) शाहसँग कुराकानी गरेका छन्। नेपाल एयरलाइन्समा २१ वर्ष र इमिरेट्स एयरलाइन्समा १९ वर्ष काम गरेको अनुभव उनीसँग छ।

–निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व ?
अहिले अन्तर्राष्ट्रिय उडान र अवतरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र सञ्चालनमा रहेको छ। काठमाडौं उपत्यका सानो पनि छ र रनवे को वरिपरि डाँडा भएकाले यो विमानस्थल फूलफेजको एयरपोर्ट बन्न सक्दैन। यो ४ हजार ४ सय फिट उचाइँमा पनि छ। त्यसैले उडानमा केही समस्याहरु छन्।
त्यसकारण हामीलाई अनरेष्ट्रिकटेड फूलफेजको अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता परेको हो। नेपाल एउटा भूपरिवेष्ठित राष्ट्र हो। पर्यटन व्यवसाय नेपालको एक प्रमुख आयस्रोत भएकाले पनि अन्तर्राष्ट्रिय जगतका मानिसलाई नेपाल भित्र्याउन निजगढ विमानस्थल बन्नैपर्छ।
भूपरिवेष्ठित राष्ट्र भएकाले नेपालमा अन्य देशमा जस्तो यातायातमा सजिलो नहुने हुँदा हवाई यातायात नै उत्तम विकल्प हो। भोलि बारामा निजगढ विमानस्थल बनेको खण्डमा लामो–लामो दूरीमा युरोप, जापान लगायतमा सीधैं उडान हुनेछ। निजगढबाट अमेरिकासम्म सोझै उडान हुनसक्छ।
–अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै किन ?
सबैभन्दा ठूलो आर्थिक गतिविधि गर्ने स्थल र पर्यटन एवं सांस्कृतिक सम्पदाको स्थलबाट नजिक भएको ठाउँमा विमानस्थल बनाउन उपर्युक्त हुने भएकाले निजगढ नै उपर्युक्त हुन्छ। संघीय राजधानी रहेको काठमाडौंबाट नजिक पर्छ भने अन्य शहर पनि त्यहाँबाट नजिक पर्छन। त्यसैले निजगढ विमानस्थलका लागि राम्रो ठाउँ हो। यो नेपालको मध्यभागमा पर्न आउँछ।
–सुरक्षित पनि हो ?
उपत्यकामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेको समस्या छ। उडान र अवतरणका क्रममा कम स्थान हुँदा खुलेर उडान र अवतरण गर्न नसक्दा दुर्घटनाको पनि खतरा हुनसक्छ । जुन किसिमको विमानस्थल निजगढमा बन्छ, त्यसले विमानस्थलको एयरक्राफ्ट अप्रेसनलाई बढी क्षमता देखाउन सक्छ। पहाड नजिक नभएकाले पहाडमा ठोक्किएला भन्ने हुँदैन।
–विमानस्थलका लागि त्यतिधेरै जमिन किन चाहियो भन्ने पनि छ नि?
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा भनिए अनुसार एयरपोर्टको आधारभूत संरचनाका लागि एक हजार ९ सय हेक्टर जमिन आवश्यक पर्ने भनिएको छ। त्यस्तै एयरपोर्ट सिटीका लागि ६ सय हेक्टर आवश्यक पर्ने उल्लेख छ।
एयरपोर्ट सिटीको विषय सरकारको होइन। ठूलो विमानस्थल बनाउन धेरै कामदारको आवश्यकता पर्ने र तिनीहरू काठमाडौँबाट ओहोरदोहोर गर्न नसक्ने हुँदा त्यहाँ सानोखालको टाउनसीप हुनुपर्छ। सानो बजार हुनुपर्छ।
कामदारका छोराछोरी पढ्नका लागि विद्यालय हुनुपर्छ। यी विभिन्न कुराहरु आवश्यक पर्ने हुँदा क्षेत्रफल त बढी चाहिन्छ। तर, शहर भने बनाउने कुरा सरकारले गर्ने होइन। यो त प्राइभेट सेक्टरले गर्ने कुरा हो। आइकओले निर्धारण गरेको मापदण्ड अनुसार यत्रो खालको रनवे चाहिन्छ, यत्रो खालको ट्याम्सी वे चाहिन्छ वा यस्तो खालको एयर क्राफ्ट मुभमेन्ट गर्ने क्षेत्र चाहिन्छ। त्यसमा कुनै सम्झौता गर्न सकिदैन।
कुनै पनि एयरपोर्ट बनाउँद २५–३० वर्षको प्लान गर्नुपर्छ। पहिलो चरणमा टर्मिनल एरियासहित दक्षिण भागबाट रनवे बन्नुपर्यो र अर्को चरणमा उत्तरपट्टिबाट रनवे बन्नुपर्छ। त्यसका लागि डीपीआर हुनुपर्यो। जसबाट हामीलाई थाहा हुन्छ कि के कति चाहिन्छ क्षेत्रफल भनेर।
–रनवेले कस्तो भूमिका खेल्छ ?
विदेशमा कतै सिङ्गल रनवे छ, कतै डबल रनवे छ। माल्दिभ्समा ठाउँ नै नभएकाले सिङ्गल रनवे छ। हङकङमा समुन्द्रलाई पुरेर पनि दुईवटा रनवे बनाइएको छ। दुईवटा रनवे भएपछि एउटा स्टाण्डर्ड एयरपोर्ट बन्छ। एउटा रनवेमा दुर्घटना हुँदा विमानस्थल नै बन्द हुन पुग्छ तर, दुईवटा हुँदा एउटा बिग्रदा या समस्यामा पर्दा अर्कोबाट काम चलाउन सकिन्छ। नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा, क्वालालामपुर विमानस्थलमा २ वटा रनवे छन्।
–निजगढ विमानस्थल २३ वर्षसम्म पनि किन छलफलमा मात्र ?
यो त दुर्भाग्यको कुरा हो। १९९६ बाट परियोजनाको काम शुरु भएको भए, १० वर्षमा त सकिन्थ्यो होला। विमानस्थल बनेको भए कति सजिलो हुन्थ्यो। पर्यटकको आवतजावत बढ्थ्यो, विकासले फड्को मार्ने थियो।
फेरि यो विमानस्थल बनेको भए काठमाडौं गन्तव्य मानेर आउने यात्रुहरु सीधैं आउन सक्थे। उनीहरुलाई अन्य ट्रान्जिटको झन्झट पर्दैनथ्यो। तर, हाम्रो देशमा राष्ट्रिय गौरवका आयोजना शुरु हुन नै ढिला हुन्छ। भएका पनि पुरा हुन कठिन हुन्छ।
–किन यति धेरै वातावरणीय चर्चा भइरहेको छ ?
पहिलो र दोस्रो चरणमा गरी विस्तार हुने विमानस्थलका लागि साढे २४ लाख रुख कटान गर्नुपर्ने इआइएले भनेको छ। तर, मानिसमा बुझाई गलत भइरहेको छ। कोही वातावरणीय पक्षमा ख्याल गर्नुपर्ने माग गर्दै र कोही विमानस्थल हर हालतमा बन्नै पर्ने भनेर दुर्इं कित्तामा विभाजित भएको जस्तो देखिएको छ।
त्यसैगरी सरकारबाट डीपीआर नै तयार नगरी रुख काट्न दिने लगायतका कुराले पनि वातावरण र वन विज्ञहरुलाई आशंका गर्ने ठाउँ दियो। तर यो विमानस्थल सरकारको मात्र नभइ हामी सबैको भएकाले बनाउन सहयोग गर्नुपर्छ।





