Sunday, September 29, 2024

कलिला मुना टिप्दा हिमाली जडिबुटी लोप हुँदै

मनाङ– परिपक्क नहुँदै कलिला मुना टिप्नुका साथै उत्खनन् गर्दा हिमाली जिल्ला मनाङमा पाइने कतिपय जडीबुटी लोप हुने अवस्थामा पुगेका छन्।

विशेषगरी यार्सागुम्बा, वन लसुन, सतुवा लगायतका जडिबुटी परिपक्क नभइ उत्खनन गर्दा समस्या आएको जिल्ला वन अधिकृत अजय कार्कीले जानकारी दिए।  उनका अनुसार यसरी परिपक्क नभएका जडिबुटी उत्खनन गर्दा वनजंगलमा बीउ छरिन पाउँदैन, जसले गर्दा नयाँ जडिबुटी उम्रने क्रम घट्दै जान्छ।

‘बोटविरूवा फुलेर पाकेपछि बीऊ उत्पादन हुन्छ, तर फूल मस्किन नपाउँदै पूर्जी लिएर जडिब्ुटी खोज्न जाने चलन छ,’ जिल्ला वन अधिकृत कार्कीले भने, ‘हिमाली काखमा पाइने यी जडीबुटी पहिलेको तुलनामा पछिल्लो समयमा कम पाइनु मुख्य कारण कलिलैमा टिप्नु एवं उत्खनन गर्नु हो।’

कार्कीका अनुसार यार्सागुम्बा टिप्ने अनुकुल समय जेठको अन्तिमदेखि असारको दोस्रो सातासम्म हो। तर, अचेल वैैशाखको अन्तिमबाट नै पूर्जी लिएर यार्सा संकलन थालिने गरेको उनले बताए।

मनाङमा यार्सा लगायतका जडिबुटी संकलनका लागि गोर्खा, लमजुङ, रुकुम, रोल्पा लगायतका क्षेत्रका स्थानीय आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । जिल्लाभित्र र जिल्ला बाहिरका लागि फरक–फरक दरमा राजस्व लिएर पूर्जी दिने गरिएका अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बावुलाल तिरुवाले जानकारी दिए।

उनकाअनुुसार यार्सागुम्बा संकलनका लागि जिल्लाभित्रका मानिसलाई स्थान हरेर १० हजारदेखि १२ हजारसम्म राजस्व लिने गरिएको छ, भने बाहिरी जिल्लाको हकमा २० हजारदेखि २५ हजारसम्म राजस्व तिरेर मात्र संकलन गर्न पाउँछन्।

वन लसुनका लागि माथिल्लो मनाङको भ्राका, खांसार, पिसाङ, चामे, गाउँपालिका र नासों गाउँपालिकामा छ्ट्टाछ्ट्टै दर रहेको छ। प्रत्येक गाउँपालिकामा रहेका संरक्षण व्यवस्थापन समिति (सीएमसी) ले जडिबुटी संकलन सम्बन्धि व्यवस्थापनको काम गर्दै आएका छन्।

संरक्षण व्यवस्थापन समिति ताचै गाउँका अध्यक्ष याद घलेका अनुसार वन लसुन संकलनका लागि स्थानीयबाट ५ हजार र जिल्ला बाहिरबाटा १० हजार रुपैयाँका दरले राजस्व लिइने गरिएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार