११ असोज, काठमाडौं
राष्ट्रियस्तरमा संकटमा परेको राज भद्राई (ग्रेट ग्रे स्राइक) काठमाडौं उपत्यकामा फेला परेको छ । भक्तपुरको मनोहरामा भेटिएको राज भद्राई काठमाडौं उपत्यकाका लागि पहिलो अभिलेख हो ।
मनोहरामा भेटिएको यो पक्षीबारेको तथ्य परीक्षण गर्दा उपत्यकाका लागि पहिलो अभिलेख पुष्टि भएको हो । पक्षी अनुसन्धाता सञ्जय था श्रेष्ठ र बिकी अदुवाले गत साता (५ असोज शनिबार विहान) राज भद्राईको तस्बिर कैद गरेका थिए । सुरूमा चीनको रैथाने अनुमान गरिए पनि यो नेपालको तराई भेगमा भेटिने भद्राईकै प्रजाति पुष्टि भएको छ ।
वरिष्ठ पक्षीविद् डा. हेमसागर बराल, पक्षी अनुसन्धाताद्धय सञ्जिव आचार्य र हठन चौधरीले राज भद्राईबारे विगतका तथ्य खोज्दा श्रेष्ठ र अदुवाको प्रमाणलाई उपत्यकाका लागि पहिलो अभिलेख मानेका छन् । विहान ७ बजेर ५३ मिनेटमा यो पक्षी भेटिएको बताउँदै श्रेष्ठले भने, ‘फ्याक्ट चेक गर्दा काठमाडौं उपत्यकामा यस्तो चरा रेकर्ड भएको रहेनछ । भोकाएर होला हामीले देख्दा गड्यौला खाँदै थियो, ३/४ वटा गड्यौला खाएपछि केहीबेरमा हरायो ।’
बसाइँसराईका क्रममा यो पक्षी मनोहरामा आएको हुनसक्ने उनको ठहर छ । यससँगै ३ महिनाको अन्तरमा २ वटा भद्राईका प्रजाति उपत्यकामा अभिलेख भएका छन् । यसअघि गत १ असारमा यूरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पक्षी ‘लेसर ग्रे स्राइक’ (सानो राज भद्राई) उपत्यकासहित नेपालको पहाडी भेगका लागि पहिलो पटक भेटिएको थियो ।
पक्षी अनुसन्धाता सञ्जय था श्रेष्ठ र पक्षी पथ प्रर्दशक शंकर तिवारीले मनोहरा क्षेत्रमै ‘लेसर ग्रे स्राइक’ भेटेका थिए । गत वर्षको वैशाख अन्तिम साता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा नेपालमै पहिलो पटक यो पक्षी भेटिएको थियो ।
राज भद्राई शुक्लाफाँटा, बर्दिया, लुम्बिनी र कोशीटप्पुमा नियमित पाइए पनि केही वर्षयता संख्या पातलिँदै गएकाले पक्षी अनुसन्धाताहरूले यसलाई ‘राष्ट्रियस्तरमा संकटको सूची’मा समावेश गरेका छन् । वरिष्ठ पक्षीविद् डा. बरालका अनुसार राज भद्राई खेतबारी बाहेक अन्यत्र विरलै पाइन्छ । गड्यौला, कीरा, फट्याङ्ग्रा, छेपारा यसका आहरा भएकाले खेतबारीमा बढ्दो विषादीको प्रयोगले यसको संख्या पातलिन थालेको उनको बुझाइ छ ।
परम्परागत खेती प्रणाली क्षेत्र घट्दै जाँदा, खनजोत गरिने भू–भाग बाँझिनेक्रमसँगै कृषिमा हुने अत्यधिक विषादी र रसायनिक मलको प्रयोगले राज भद्राईको विचरण क्षेत्र खुम्चिएर संख्या पातलिएको बरालको विश्लेषण छ ।
झट्ट हेर्दा राज भद्राई गौथली र भगेराझैं देखिन्छ । आँखाको भागमा गाजल लगाएझैं देखिने यसको पुच्छर र पखेटामा कालो, सेतो र गाडा खैरो रङ मिसिएको हुन्छ । आकारमा यो २४ सेन्टिमिटर हाराहारीको हुन्छ ।
नेपालमा भद्राईका ७ प्रजाति अभिलेख भएका छन् । नेपालका विभिन्न भेगमा खैरो भद्राई, रातो पुच्छ्रे भद्राई, चित्रक भद्राई, भद्राई, हिमाली भद्राई, सानो राज भद्राई र राज भद्राई पाइएका छन् । खैरो भद्राई हिउँदे आगन्तुक हो भने रातो पुच्छ्रे भद्राई हिउँदमा विरलै आउने पाहुना हो । चित्रक भद्राईले स्थानीयस्तरमा वच्चा समेत कोरल्छ भने भद्राई तराईदेखि ३१ सय मिटरको उचाईसम्म विचरण गर्ने स्वभावको भएकाले नेपाली भू–भागमा व्यापक फैलिएको पक्षी हो ।
३ हजार मिटरदेखि ४ हजार मिटर उचाईमा भेटिने हिमाली भद्राई हिउँदको समयमा भने तराईको भू–भागसम्म झर्ने गर्छ । गत वर्ष र यो पटक शुक्लाफाँटा तथा मनोहरामा देखिएको सानो राज भद्राई सुख्खा ठाउँ, पातलिएका वन कृषिजन्य भूमि आसपासमै भेटिने पक्षीविद् बरालले प्रष्ट्याए । ‘भद्राईका सबै प्रजातिलाई प्रायः खुला ठाउँनै चाहिन्छ’, उनी भन्छन्, ‘घना र ठूला वनमा यस्ता पक्षी रम्न रूचाउँदैनन् ।’