Tuesday, September 17, 2024

खडेरीले सुक्यो ट्युबेलको पानी

२७ वैशाख, उदयपुर
खडेरीले त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर कलमा पानी आउन छाडेको स्थानीय बताउँछन् ।

त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरका कलमा १० दिनदेखि पानी आउन छाडेको बताए । त्रियुगा–११ शिवालय टोलका देवराज कार्कीकाअनुसार यसपटकको कडा खडेरीले २० फिट मुनिसम्म गाडेको ट्युबेलबाट समेत पानी आउन छाडेको छ ।
वडा नं १ जोगीदह क्षेत्रमा १७देखि २० फिटमुनिसम्म गाडिएको ट्युबेलबाट केही दिनयतादेखि पानी आउन छाडेको अर्का स्थानीय कृष्ण ढुंगानाले बताए ।

त्रियुगा–२ खैजनपुर र वडा नं ३ भुल्के मोतिगडा र वडा नं ५ देउरी जलजले क्षेत्रमा ५ दर्जनभन्दा बढी ट्युबेल सुकेका छन् । गाईघाट डिएमगेटका ट्युबेल मिस्त्री पशुपतिदेव चौधरीकाअनुसार यसपटक यस क्षेत्रमा खडेरीका कारण २५ देखि ३० फिट गहिराइसम्म जमिनमुनि पानीको सहत घटेको छ । यस क्षेत्रमा झन्डै ५ सयभन्दा बढी ट्युबेलबाट पानी आउन छाडेको उनले बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार