Tuesday, September 17, 2024

जंगली हात्ती मृत फेला

१३ असार, झापा
मेचीनगर नगरपालिका–३ धरधरे टोलस्थित सुकेनिन्दा खोला किनारमा जंगली हात्ती मृत भेटिएको छ ।

मृत हात्ती करिब ९/१० वर्षको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । विहान ७ बजे आसपासमा भाले हात्ती मृत भेटिएपछि प्रहरी र वन कार्यालयलाई स्थानीयले खबर गरेका थिए ।

सो हात्ती विद्युतीय धरापमा परेर मरेको हुनसक्ने प्रहरी र वन कार्यालयका अधिकारीहरूको प्रारम्भिक ठहर छ । झापामा मृत भेटिएका अधिकांश हात्ती विद्युतीय धरापमा परेर मर्ने गरेको पाइएको छ ।

हात्ती मरेको खबर पाए लगत्तै घटनास्थल पुगेर प्रहरी र वन कार्यालयको टोलीले अनुसन्धान अघि बढाएको डिभिजन वन कार्यालयका एक अधिकारीले बताए । ‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौ, पोष्टमार्टमसहितको अनुसन्धानका लागि कोशीटप्पु वन्यजन्तु आरक्षका प्राविधिकको टोली बोलाइएको छ’, वन कार्यालयका एक अधिकारीले भने ।

यसअघि गत वैशाख पहिलो साता झापाको मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा करिब ४५ वर्षको वयस्क भाले हात्ती मृत भेटिएको थियो । गोली हानेर मारेपछि सो हात्तीको दाह्रा र रौं तस्करहरूले काटेर लगेको अवस्थामा फेला परेको थियो ।

झापाका विभिन्न क्षेत्रमा गत वर्ष ४ वटा जंगली हात्ती मृत भेटिएका थिए । गत वर्ष मृत्त भेटिएका हात्ती विद्युतीय धरापमा परेर मरेका पोष्टमाटमबाट पुष्टि भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार