Tuesday, September 17, 2024

बडिगाड पहिरो: ५० परिवार विस्थापित

२७ साउन, बागलुङ

बाढी पहिरोका कारण बागलुङको बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।

बडिगाडमा केही समयअघि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन् । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन ।

बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए ।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उनको भनाइ छ ।

पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको वनले जानकारी दिए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार