काठमाडौं–पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएका सवारी दुर्घटनाबाट एक वर्षमा १६ वन्यजन्तु मरेका छन्।
२०७४ साउनदेखि ०७५ असार सम्ममा पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्रमा विभिन्न सवारी साधनसँग ठक्कर खाएर तथा सवारीले किच्दा सो संख्यामा वन्यजन्तुको ज्यान गएको हो।
निकुञ्जका रेञ्जर विनयकुमार झाका अनुसार दुर्घटनामा एउटा–एउटा चितुवा र साम्बर, दुई चित्तल, पाँच बँदेल र सात बाँदर सवारी दुर्घटनामा मरेका हुन्। पर्सा राष्ट्रिय निकुञ्जले चितवन, मकवानपुर र पर्सा जिल्लाका केही भुभाग ओगटेको छ।
आर्थिक वर्ष २०७३-७४ मा राजमार्गको निकुञ्ज क्षेत्रमा सवारी दुर्घटनाका कारण सात वटा वन्यजन्तु मरेका थिए। जसमा दुई–दुई वटा बँदेल र चित्तल तथा एउटा–एउटा जरायो, लगुना र बाँदरको ज्यान गएको थियो। ती दुर्घटनामा संलग्न रहेका सवारीसाधनका तीन चालकलाई कारवाही गरिएकोे रेञ्जर झाले जानकारी दिए।
‘पर्सा निकुञ्जमा बेरियर नहुँदा गाडीको गति तीव्र हुन्छ,’ रेञ्जर झाले भने, ‘तीव्र गतिमा आएको गाडीले ओहोरदोहोर गरिरहेका वन्यजन्तुलाई हान्दा घटनास्थलमै मर्ने गर्छन् । उनले समस्या समाधानका लागि यो वर्षभित्र निकुञ्जमा बेरियर बनाइने बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ का उपदफा (२) मा संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको उनी बताउँछन् ।
त्यस्तै, संरक्षित वन्यजन्तु बाहेक अन्य वन्यजन्तु मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था रहेको छ।
नेपालले चितवनको रामनगरमा वन्यजन्तुका लागि अन्डरपास बनाएको छ। तर, अन्य क्षेत्रमा अन्डर पास नहुँदा सडक दुर्घटनामा परी वर्षेनि सयौंको संख्यामा वन्यजन्तुको मृत्यु हुने गरेको छ। सडक बनाउँदा सवारीसाधन सञ्चालन लगायतका पक्षलाई समेटिने तर, वन्यजन्तुको सुरक्षाका बारेमा ध्यान नदिइँदा यस्तो समस्या बढ्दै गएको बताइन्छ ।
वन्यजन्तुको ओहोरदोहोर हुने सडक वन्यजन्तुमैत्री बनाउन संरक्षणविद्हरूले माग गर्दै आएका छन्। विश्वभर नै ठूला भौतिक संरचनाहरुको निर्माण गर्दा वन्यजन्तुको संवेदनशीलतालाई ध्यान दिइने गरिन्छ। तर, नेपालमा यो विषयलाई त्यति प्राथमिकता दिएको पाइदैन।
अन्य मुलुकमा राजमार्ग, रेलको ट्रयाक, नहर तथा अन्य पूर्वाधारको निर्माण गर्दा वन्यजन्तुको आवातजावतमा सहज हुने ढंगले निर्माण गन गरिएको छ।
वन्यजन्तु आवतजावत गर्ने ठाउँमा वन्यजन्तुको साङकेतिक चिह्न राख्ने र त्यस्ता ठाउँमा सवारीसाधन निश्चित गतिमा गुडाउनुपर्छ। नेपालमा पनि राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रका सडकमा सवारीसाधन गुडाउन प्रति घण्टा गतिको अवधि तोकिएको छ। तर, खासै कार्यान्वयन भएको पाइँदैन।
भारतले सन् २०१८ फेब्रअरीमा ठूला पूर्वाधारको निर्माण गर्दा वन्यजन्तुको आवत–जावत लागि विशेष व्यवस्था गर्नुपर्ने कानुन बनाएको छ।
वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
पर्सा निकुञ्जमा हात्ती, बाघ, चितुवाको आक्रमणबाट एक वर्षमा १० जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
रेञ्जर झाका अनुसार जंगली हात्तीको आक्रमणबाट ६ जना, बाघको आक्रमणबाट दुई जना तथा बंदेल र जंगली चितुवाको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको हो।
मानव र वन्यजन्तुबीचको द्वन्द्वमा परी मृत्यु भएमा सरकारले प्रतिमृतकका परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उनले बताए। वन्यजन्तुको उनका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ६ जनाका परिवारलाई राहत स्वरुप १०–१० लाखका दरले रकम उपलब्ध गराइएको छ।