Thursday, November 14, 2024

काठमाडौंमा बढ्यो वायु प्रदूषण

२९ कात्तिक, काठमाडौं

काठमाडौं उपत्यका वायु प्रदूषणका दृष्टिले विश्वकै प्रदूषित सहर बनेको छ ।

बिहीबार बिहान (२९ कात्तिकमा) उपत्यकाका अधिकांश भेगको प्रदूषण मावन स्वास्थ्यका लागि निकै घातक तहमा पुगेको छ । ललितपुरको खुमलटार, काठमाडौंको रत्नपार्क र शंखपार्क तथा भक्तपुरमा प्रदूषणको मात्रा उच्च पाइएको हो ।

उपत्यकाका तीनै जिल्लामा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) जोखिम तहमा पुगेको हो । २४ घन्टा र प्रत्येक घण्टाको वायुमा विषाक्त कणको मात्रा उच्च छ । प्रत्येक घण्टाको अनुगमनमा आज विहान ११ बजे खुमलटारको एक्यूआई १६४, रत्नपार्कको १६१, शंखपार्क १५३, भक्तपुरको २५२ छ ।

यी भेगको वायु गुणस्तर विहानको तुलनामा ११ बजेपछि केही सुधार भएको हो । वातावरण विभागका अनुसार विहान ९ बजेअघि उपत्यकाका अधिकांश भेगको एक्यूआई १७० र सो भन्दा माथि थियो । काठमाडौं उपत्यका बाहिर चितवनको भरतपुरको एक्यूआई पनि खस्किएको छ । त्यहाँको एक्यूआई १६० छ ।

मानव स्वास्थ्यका लागि एक्यूआई ५० सम्मलाई उत्तम, ५० देखि १०० लाई सामान्य, १०० देखि २०० लाई मध्यम मान्ने गरिएकोमा केही दिनयता वायु गुणस्तर क्रमशः खस्किरहेको विभागका अधिकारीहरू बताउँछन् । स्वासप्रश्वास समस्या भएका, मुटुरोगी, बालबालिका र दीर्घरोगीका लागि १०० भन्दा माथिको एक्युआई घातक मानिन्छ ।

सुख्खायाममा प्राय वायु गुणस्तर खस्किने गरेको बताउँदै विभागका एक अधिकारीले भने, ‘वर्षा नभएसम्म एक्यूआई सुधार हुने सम्भावना छैन । यो बेला वन डढेलो पनि लाग्ने भएकाले तत्काल वायुको गुणस्तर राम्रो हुन्छ भन्न सकिदैन ।’ वायु गुणस्तरबारे विश्वव्यापी अनुगमन गर्ने स्विस कम्पनी आईक्यूएअरका अनुसार केही दिनयता काठमाडौं विश्वका प्रदूषित सहरको सूचीमा छ ।

आईक्यूएअरका अनुसार आज (बिहीबार) विहान काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरहरूको छैठौँ सूचीमा छ । वायु गुणस्तरको विश्व सूचीमा हिजो (२८ कात्तिकमा) काठमाडौं १०औं नम्बरमा थियो ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा छ, त्यहाँको एक्युआई ७५५ मापन गरिएको छ ।

त्यसैगरी प्रदूषणका दृष्टिले भारतको नयाँ दिल्ली दोस्रो सूचीमा छ । दिल्लीका सबै भेगको एक्युआई औसतमा ४ सय भन्दा माथि, तेस्रो स्थानमा भियतनामको हानोई, चौथो र पाँचौँ स्थानमा भारतको कलकत्ता र बंगलादेशको ढाका रहेको आईक्यूएअरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार