Saturday, September 28, 2024

जनकपुर-जलेश्वर सडकको यस्तो दूरावस्था

जलेश्वर–  जनकपुरकी रीता रजक दिनहुँ सार्वजनिक बसमा १४ किलोमिटर दूरी पार गरेर जलेश्वरस्थित कार्यालय पुग्छिन्। र, बेलुका फेरि सोही रुटमा जनकपुर घर फर्किन्छिन्। तर, हिउँद, गर्मियाममा धुलाम्य हुने जनकपुर–जलेश्वर–भिठामोड (१८.५६ किलोमिटर) सडकमा बर्खाको यात्रा झन जोखिमपूर्ण हुने उनको अनुभव छ।

ग्राभेल र माटोयुक्त धुलाम्य सडकको पिपरा र सहोडवामा बाटो कटान भइ सडक नै अबरुद्ध हुने समस्या छ। सार्वजनिक यातायातबाट १४ किलोमिटरसम्मको यात्रा गर्न एक घण्टा खर्च हुने गरेकोमा बर्षातको बेलामा कतिखेर पुगिन्छ भनेर ग्यारेन्टी नै नहुने गरेको उनको भनाई छ। सडक अवरुद्ध हुँदा पुनः जलेश्वर फर्केर साथीको घरमा वास बस्नुपरेको अनुभव उनी सुनाउँछिन्।

सार्वजनिक बसभन्दा बढी कष्ट आफ्नै गाडी, मोटरसाइकल, स्कुटर र साइकलबाट यात्रा गर्दा हुने गरेको गरेको रुपा पाठक बताउँछिन्।  जनकपुरका कतिपय बासिन्दा सो सडक भएर दिनहुँ जलेश्वर पुग्छन्, भने जलेश्वरका विद्यार्थी पढ्नका लागि जनकपुर पुग्छन्।

तर, गत वर्षकै बाढीमा क्षतिग्रस्त भएको पिपरा र सहोडवाको सडक अझै पूर्णरुपमा मर्मत हुन सकेको छैन। सडक छेउमै रहेको औरही (कुटमुसरी) नदीले वर्षेनी कटान गर्दा यात्रा झनै जोखिममा पर्ने गरेको बताउँदै पाठक भन्छिन्, ‘कहिलेकाहिँ त बैकल्पिक मार्गसमेत अबरुद्ध भइदिन्छ ।’

सामान्यतयाः असार र साउन महिनामा यो सडकखण्ड अवरुद्ध हुने गरेको पर्सादेवाडकी रजिया खातुनले बताइन्। सामान्य वषामा नै जलेश्वर–मलंगवा हुलाकी राजमार्गको समसी तथा सम्सीबाट गौशालासम्मको सार्वजनिक यातायात सेवा बन्द हुने गर्छ। बर्खायाममा रातु नदी सडकमै बग्न थाल्छ। जसको प्रत्यक्ष प्रभाव नगरपालिका चोकबाट छ्ट्ने नगरबसमा यात्रा गर्नेहरुमा पर्ने गरेको बजराहीका मनोज साहले बताए।

१८ दशमलव ५६ किलोमिटरका जनकपुर–जलेश्वर–भिठामोड सडक निर्माणको जिम्मा पाँच वर्ष अगाडि भारत सरकारले लिएको थियो। तर, उक्त सडक तीन वर्षसम्म पनि कालोपत्रे हुन नसकेपछि नेपाल सरकारले दुई वर्ष अघि मात्रे दुई ठेकेदारमार्फत्प्रति किलोमिटर झण्डै पाँच करोड रुपैयाँ खर्चिने गरी सम्झौता गर्‍याे।

सडकलाई बाढीबाट सुरक्षित बनाई कालोपत्रे गर्ने कार्यको लागि एक वर्ष मात्र बाँकी रहँदा महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले ठेकेदारहरूलाई डाकेर समयमै काम सम्पन्न गर्न निर्देशन दिइसकेका छन्।

जनकपुर–जलेश्वर सडकखण्डको कार्य तोकिएको सम्पन्न गर्न सर्वोच्च अदालतले गत वर्ष नै सरकारका नाममा अन्तरिम आदेश दिइसकेको छ। न्यायाधीश ओमप्रकाश मिश्रको आदेशपछि कच्चीमाटो सडक खण्डमा अहिले एकलेन ग्राभेल छ । मुख्य बजार क्षेत्रमा ६ लेनबाहेक सडक चार लेनको छ। मुख्य बजार क्षेत्रमा जलेश्वर, पिपरा, सहोडबा लगायतको ठाउँपर्छ।

अधिवक्ता दिपेन्द्र झाले २०७४ साउन ८ गते दर्ता गराएको रिटमा एक हप्तापछि नै आदेश भएको थियो। उनले वातावरण संरक्षण ऐन २०५३, सार्वजनिक सडक ऐन २०३१ तथा संविधानले नागरिकलाई प्रदान गरेको अधिकारहरुको उल्लंघन भएकोले तत्काल आदेश जारी हुनुपर्ने माग गरेका थिए।

गत वर्ष औरही नदी लगायतका खोलानालमा आएको बाढीका कारण ९ जनाको ज्यान गएको थियो । घरमा क्षति पुग्नेलाई यस वर्ष मात्रै स्थानीय तहमार्फत् २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिका छन्। जिल्ला अस्पताल जलेश्वरमा बर्दिवास, औरही र गौशाला नगरपालिकाबाहेक अधिकांश नगर र गाउँपालिकाका बासिन्दाले सेवा लिने गर्दछन्। बाढीको बेला सबैभन्दा बढी समस्या बालबालिका र गर्भवती महिलालाई हुनेगर्छ। बाढीको सडक कटान र डुबानमा परेपछि एम्बुलेन्स सेवा सञ्चालनमा हुँदैनन।

हुनतः रात्रिकालिन सेवामा अझैसम्म एम्बुलेन्सको न्यून पहुँच नै छ। बाढीको बेला डुबानमै रहेको जिल्ला अस्पताल जलेश्वरमा प्रसूति सेवाको लागि काँधमा खाँटमा बोकेर आउनुपर्ने बाध्यता रहेको अस्पताल क्षेत्रका बासिन्दा जितेन्द्र पासवानले बताए। बाढीका बेला घर नजिकैको अस्पतालमा पुग्न समस्या हुने गरेको उनले बताए।

महोत्तरीमा प्रत्येकबर्ष बाढी आउने र क्षति पुर्‍याउने गरेको घटना नौलो नरहेपनि सबैभन्दा बढी क्षति २०६४ सालमा भएको थियो। त्यति जिल्लाको दुईतिहाई जनता बाढीबाट प्रवाहित भएका थिए। खेतवारीमा लगाइएको बाली नष्ट भएको थियो। सयौं घरवारविहीन बनेका थिए।

पूर्वतयारी
नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाका सभापति दीपक मिश्रले बाढीमा सहयोग गर्न सकिने सामानहरु जिल्लाभरिकै उपशाखाहरुमा पठाइसकिएको बताए। नगरपालिका र गाउँपालिका समेटिने गरि राहत सामग्रीहरु उपशाखामा राखिसकिएको छ। उनका अनुसार रेडक्रसले बाढीको बेला उद्धार र प्राथमिक उपचारमा मात्र नभई राहत वितरणको समेत तयारी गरिसकेको बताए। केही दिन अगाडि मात्रै एउटा डुंगासमेत रेडक्रस शाखामा उपलब्ध भइसकेको छ।

परिकौलीस्थित फस्ट रैफल गणका सेनाले विपद् व्यवस्थापनको पूर्वअभ्यास जलेश्वर पोखरीमा गरिसकेका छन्। बाढीपीडितको उद्धार तथा विपद् व्यवस्थानका लागि मातहतको सम्पूर्ण युनिट तयारी अबस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक विशेश्वर थापाले बताए।

महोत्तरी जिल्लाको बर्दिवास, जलेश्वर, गौशाला र रामगोपालपुरमा रहेको एफएम रेडियोहरु समेत बाढीबाट सुरक्षित रह्ने उपायहरुको बेला सूचनामूलक सन्देशहरु प्रसारण गरिरहेका छन्।

वर्षा र बाढीको समयमा मात्र नभई अन्य समयमा समेत धुलोको कारण प्रदृषित रह्ने जलेश्वर–जनकपुर सडकखण्ड मर्मत एवं कालोपत्रेको लागि नागरिकहरुले ‘सडक देउ अथवा फाँसी देउ’ नारासहित सुन्दर अभियान सञ्चालन गरिएको थियो। अभियानका सदस्य रमण कुमार चौधरीले नागरिक आन्दोलनको प्रभाव सरोकारवालामा न्यून मात्रामा पर्न सकेको जिकिर गरे।

ताजा समाचार

सम्बन्धित समाचार