Saturday, September 28, 2024

यी हुन् टिपरले गर्दा दुर्घटना बढ्नुका कारण

काठमाडौं– टिपरको बनावट, तीव्र गति, अस्वस्थ प्रतिस्पर्धा र कतिपयको चालक अनुमतिपत्र (लाइसेन्स) नक्कली हुनु दुर्घटनाको मुख्य कारण रहेको औंल्याइएको छ।

क्षमताभन्दा बढी भार भएका मालसामान बोकेर काठमाडौं उपत्यका प्रवेश गर्ने टिपरका कारण दुर्घटना बढेपछि पैदल यात्रुदेखि साना सवारीसाधनका चालक प्रताडित भएका हुन्।सरकारले १ साउन बाट लागू हुने गरी काठमाडौं उपत्यकाको चक्रपथभित्र तथा अरनिको राजमार्गमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर सञ्चालन गर्न पाइने नियम लागू गरेको थियो। तर, रातिको समयमा सडकमा टिपरको लाम नै लाग्न थालेपछि जोखिम झनै बढ्दै गएको सरकारी अधिकारी नै स्वीकार गर्छन।

टिपरका कारण सडकमा गाडी चलाउन समस्या परेको ट्याक्सी चालक मंगल चौधरी सुनाउँछन्। ‘सडकमा साना गाडीलाई धेरै पेलेर गाडी कुदाउँछन्,’ उनले भने, ‘टिपरको अगाडि परे त ‘सिध्याइदिन्छ’ कि भन्ने पीर हुन्छ। मेरो गाडीलाई पनि टिपरले हानेको छ।’

टिपरलाई रोक्ने र चलाउन नै नदिने भन्दा पनि के समस्या हुन र कसरी समाधान गर्नेतर्फ कुनै छलफल नभएको सरोकारवालको भनाई छ। विशेषत सरकारी निकाय र अन्य सरोकारवालाले मिलेर काम गर्नुपर्ने देखिन्छ।

टिपरको बनावटमै समस्या
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठ उपत्यकामा गुड्ने टिपरको बनावटमै समस्या रहेकाले दुर्घटना बढेको बताउँछन्।

उनका अनुसार काठमाडौं उपत्यकामा दैनिक २ हजार टिपर चल्छन्। त्यसमध्ये ५० प्रतिशत टिपर टाटा कम्पनीका एसके १६१३ चल्छन्। उनी भन्छन्, ‘टाटा कम्पनीेको टिपर गुडाउँदा चालकले अगाडीको भाग स्पट देख्न सक्दैनन्। चालकले गाडी हाँक्दा सडकको अगाडी र पछाडीको अवस्था स्पष्ट देख्नुपर्छ। तर, पछाडीको ठाउँ पनि खाली छ, त्यसलाई कसरी पुर्नु त्यसको मापदण्ड बनाउनु प¥यो । यो विषयमा कम्पनीसँग छलफल भैरहेको छ।’

उनले टिपरका कारण दुर्घटना बढ्नुमा चालकको लापवाही, चालक कम उमेरका हुनु, मोटरसाइकलले उछिन्न खोज्नु र नक्कली लाइसेन्स कारण रहेको बताए। उनी स्कुटर र मोटरसाइकलका लागि छुट्टै लेन बनाएमा दुर्घटना कम हुने बताउँछन्। सबै सरोकारवाला निकाय मिलेर सवारी दुर्घटना न्यूनीकरणमा लाग्नुपर्ने श्रेष्ठ बताउँछन्।

चालकको लापरवाहीले दुर्घटना

ट्राफिक इञ्जिनियर आशिष गजुरेल।

ट्राफिक इञ्जिनियर आशिष गजुरेल टिपर चालकको लापरवाहीका कारण दुर्घटना बढिरहेको बताउँछन् । ‘दुर्घटना हुनुमा मुख्य दोषी टिपर चालक नै हुन्। नियम कानूनमा नरही द्रुत गतिमा कुदाउँछन्,’ उनले भने, ‘यदि नियम कानूनमा रहेर टिपर चलाउने हो भने समस्या समाधान हुन्छ । ’

अन्य देशमा पनि भारी मालसामान ओसारपोसार गर्न सवारीसाधनलाई बिहान र बेलुका मात्र चलाउन पाउने नियम रहेको उनी सुनाउँछन्। ‘अन्य देशमा बिहान वा बेलुका एउटा निश्चित समयमा चलाउन दिइने गरिन्छ। जतिखेर पनि चलाउन पाइने नियम छैन,’ उनले भने। गजुरेल पनि नेपालमा देखिएको टिपरका कारण दुर्घटनाको समस्या समाधान गर्न दुई विकल्प रहेको बताउँछन् ।

उनी भन्छन्, ‘टिपरलाई प्रतिघण्टा ३० किलोमिटरका दरले मात्र गुड्न दिने गरी टाइम कार्ड लागू गर्नुपर्छ । ट्राफिक इञ्जिनियर गजुरेल टिपरको इञ्जिन शक्तिशाली हुने बताउँछन् । ‘टिपरको इञ्जिन एकदम शक्तिशाली हुन्छ, त्यसकारण एक्सिलेटर दाबेपछि गति तीव्र हुन्छ,’ उनले भने।

टिपरका कारण दुर्घटना बढ्नुमा चालकले बढी पैसा कमाउने लोभ र कस्तो सडकमा सवारी चलाउँदै छु भन्ने ज्ञान नहुनु जस्ता समस्या रहेको उनी बताउँछन्।

गजुरेलको तर्कसँग ट्राफिक प्रहरी पनि सहमत छ। चालकको लापरवाहीका कारण सडक दुर्घटना बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली बताउँछन्। ‘टिपर चालकको मात्र लापरवाही छैन। दुर्घटना हुनुमा मोटरसाइकल, स्कुटर चालकको पनि लापरवाही देखिन्छ,’ उनले भने।

प्रवक्ता मैनालीले विकास निर्माणको कार्य भैरहेकाले टिपर बढी चलिरहेका छन्। तर, ट्राफिक नियमको पालना नगर्ने, लापरवाही गर्न, क्षमताभन्दा बढी भार बोक्ने टिपरलाई कारवाही पनि भइरहेको उनी बताउँछन् ।

सडक दुर्घटनाको पाटो कसले हेर्ने ?
टिपरका कारण हुने गरेका दुर्घटना रोक्न र अनुशासनका नियम पालना गराउने सम्बन्धमा सरकारी निकायले खासै चाँसो दिएको देखिदैन ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुल्सीराम अधिकारी सडक दुर्घटनाको पाटो विभागको नभएको बताउँछन्। ‘सडक दुर्घटना हाम्रो पाटो होइन। यसमा कुनै पहल गरेको छैन,’ उनले भने। हामीकहाँ चालक र उनीहरुको कामको बारेमा अनुगमन गर्ने र कार्वाही गर्ने प्रणालीको अभाव देखियो। तर, यसलाई हेर्ने कुनै पनि निकाय छैन।

खोइ तालिम ?
विभिन्न देशमा टिपर चलाउन चालकलाई नै विशेष तालिम प्रदान गरिएको हुन्छ । तर, नेपालमा भने कुनै तालिम र जानकारी दिने गरिएको पाइँदैन ।

सीधैं लाइसेन्स प्राप्त गरेर भर्खरका युवाहरूले टिपर चलाउने गर्छन्। कतिपय देशमा टिपर र ठूला ट्रक चालकको लागि एउटा म्यानुल नै प्रदान गरिएको हुन्छ। विभिन्न अध्ययन अनुसार टिपरमा कुनै पनि सामग्री अपलोड गर्दादेखि नै ध्यान पु¥याउन आवश्यक छ।

सामानको लोड गर्दा नै कुनै भागमा बढी र कतै कम भएमा असन्तुलन भएर पनि दुर्घटनामा हुने गरेका उदाहरणहरु रहेका छन् । ओभर लोड भएको भन्दा खाली टिपरले बढी दुर्घटना निम्त्याउने गरेका छन्।

चालकको उमेर निर्धारण
एउटा विकल्प भनेको टिपर चालकको लागि उमेरको निश्चित समयसीमा निर्धारण गर्न सकिन्छ। विज्ञहरूका अनुसार सरकारले कानून नै बनाएर निश्चिित उमेर पार गरेकालाई मात्रै टिपर चलाउन दिने नियम बनाउन सक्छ। विभिन्न अध्ययनले विशेषत कम उमेरका चालकले चलाएको टिपरबाट बढी दुर्घटना हुने गरेको देखाएको छ। श्रेष्ठका अनुसार काठमाडौंमा गुड्ने धेरै टिपरका चालकको उमेर २२ देखि २४ वर्ष रहेको छ। ‘कम उमेर र गैरजिम्मेवारीका कारण पनि दुर्घटना भैरहेको छ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार