Saturday, September 28, 2024

साइकल बोकेर सगरमाथा चुम्ने धाउन्नमा तीन ‘साइकलिस्ट’

काठमाडौं–२२औं बसन्तमा प्रवेश गरेकी ‘साइकलिस्ट’ सुस्मा कुमाल विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो चुम्ने तयारीमा छिन्।

दुई वर्षदेखि साइकललाई आफ्नो मुख्य सवारी साधनको रुपमा लिन थालेकी कुमाल अहिले त्यही साइकल बोकेर सगरमाथा चढ्ने लक्ष्य छ। उनलाई सुरुमा लाग्थ्याे–साइकल विपन्न वर्गले मात्र चलाउछन्। तर, अहिले साइकलको महत्व बारे बुझाउन उनले निकै चुनौतीपूर्ण यात्रा तय गर्न निर्णय गरेकी छिन्।

माइक्रो बायोलोजी पढ्दै गरेकी कुमाल भन्छिन्, ‘काठमाडौंको धुलो–धुँवाले गरिरहेको असरबारे सहजै अनुमान गर्न सकिन्छ। त्यस्तो प्रतिकूल प्रभाव कम गर्न केही त अवश्य गर्नुपर्छ।’ पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण प्रदूषण बढेको निस्कर्षमा पुगेकी कुमाल प्रत्येक घरमा साइकल भएमा वातावरण अनुकुलनमा सघाउ पुग्ने ठान्छिन्।

कुमालसँगै ‘साइकलिस्ट’ शर्मिला थापा र उषा खनाल पनि ‘सोंचलाई परिवतर्न गरौँ, नारी कोमल हुन्छिन् कमजोर हुँदैनन,’ भन्ने नाराका साथ साइकलसहित सगरमाथाको शिखरमा पाइला टेक्ने धाउन्नमा छन्।

‘माउन्टेन बाइक गाइड’ समेत रहेकी २५ वर्षीया खनाल नेपालमा साइकलको महत्वबारे जानकारी दिन पहिलेदेखि नै सगरमाथा चढने सोचमा रहेपनि अहिले आएर साकारको तयारीमा रहेको बताउँछिन्। उनी १० जना विदेशी पर्यटकलाई लिएर दुई पटकसम्म ५ हजार ४ सय १६ मिटर अग्लो थोरोङला पासमा पुगिसकेकी छन्।

स्वदेश तथा विदेशमा हुने साइकल दौडमा सहभागि हुँदै आएकी खनाल पनि साइकल बोकेर सगरमाथा चुम्ने तयारीमा छिन्।

सगरमाथा चढने योजनामा रहेकी ३६ वर्षीया थापा साइकलको माध्यमबाट प्रदूषणबारे सचेतना जगाउने प्रमुख लक्ष्य रहेको बताउँछिन्। उनी भन्छिन्, ‘हामी साइकलसहित सगरमाथा पुगेमा पर्यटन क्षेत्रको प्रचारप्रसार हुने अपेक्षा छ।’

उनी केही समय अघि बेलायत पुग्दा त्यहाँका एक व्यक्तिले ‘काठमाडौं प्रदूषण सहर’ रहेको संज्ञा दिएपछि सचेतना जगाउन सगरमाथा चढ्ने योजना पलाएको बताउँछिन्।

वैदेशिक रोजगारीबाट पीडित भएर फर्किनु भन्दा नेपालमै थुप्नै अवसर छ भन्छिन् थापा– ‘नेपालमा पर्यटन क्षेत्रमा महिलाहरुका लागि थुप्रौं अवसर छन् । बैदेशिक रोजगारमा जानुभन्दा पर्यटन क्षेत्रमा पनि महिलाका लागि अवसर छ भन्ने देखाउन पनि हामी सगरमाथा चढ्न लागेका हौं ।’

थापाले ‘साइकल टु एभरेष्ट–२०१९’ टीमकोे नेतृत्व गर्ने छिन्। सन् २०१९ को अप्रिलमा साइकलसहित सगरमाथा आरोहण गर्ने योजनामा उनीहरु छन्। आरोहणका लागि प्रतिव्यक्ति ३२ लाख रुपैयाँ खर्च हुने अनुमान उनीहरुले गरेका छन्।

उनीहरु बेस क्याम्पसम्म साइकल चढेर पुग्नेछन्, त्यहाँबाट साइकलका सबै पाटपूर्जा झोलामा राख्नेछन्। चुचुरोमा पुगिसकेपछि साइकल ‘फिट’ गरेर ‘प्रदूषण कम गर्न साइकलको प्रयोग गरौं’ भन्ने सन्देश फैलाउने उनीहरूको योजना छ।

ताजा समाचार

सम्बन्धित समाचार