Saturday, September 28, 2024

हिमालतिर पनि कालाजार

नेपालगञ्ज–पछिल्लाे समय पहाडी र हिमाली जिल्लामा समेत कालाजार नामक रोगको संक्रमण बढ्न थालेको छ।

नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचारार्थ कालाजारका बिरामी।

नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल प्रमुख कल्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार २०७२ साल यता अञ्चल अस्पतालमा कालाजारका ५८ बिरामी उपचारका लागि पुगेका छन्। अस्पतालमा उपचारका लागि आएका कालाजारका बिरामीमध्ये करीब २० प्रतिशत पहाडी र हिमाली जिल्लाका रहेकाे उनले बताए।

१ साउनमा मात्र भेरी अञ्चल अस्पतालमा भर्ना भएका कालाजारका ४ जना बिरामी उपचार गराइरहेका छन्। अस्पतालमा उपचार गराइरहेका बिरामीहरु कालिकोट, मुगु, दार्चुला र बर्दियाका हुन्। अस्पतालमा भर्ना भएका ४ जना मध्ये २ जनामा कालाजार दोहोरिएपछि पुनः भर्ना हुन आएका बिरामीहरू हुन् ।

कालिकोटकी १० वर्षीया पार्वती र मगुका २३ वर्षीय राजबहादुर रावललाई पहिलो पटक कालाजार देखा परेपछि अस्पताल भर्ना भएका हुन्। बर्दियाका १८ वर्षीय रवी थारु र दार्चुलाका ४० वर्षीय रामसिंह रावल कालाजार दोहोरिएपछि पुनः अस्पताल पुगेका हुन्। पछिल्लो समय डोल्पा, हुम्ला, कालिकोट र बाजुराका मानिसमा पनि कालाजारको संक्रमण देखिएको डा. पाण्डेले बताए।

डा. पाण्डेका अनुसार २०७२ साल यता बर्दियाका १४, बाँकेका ११, सुर्खेतका १०, र सल्यानका ४ जना कालाजारका बिरामी उपचारका लागि भेरी अस्पताल पुगेका छन्। दैलेख, बाजुरा र कालिकोटबाट पनि ३-३ तथा दाङ र कैलालीबाट २-२ जना कालाजारका बिरामी आएका हुन् । कञ्चनपुर, रोल्पा, हुम्ला, बाजुरा, मुगु र दार्चुलाबाट कालाजारका १-१ जना बिरामी आएका छन्।

नेपालले सन् २०२० भित्र कालाजार उन्मूलन गर्ने लक्ष्य लिएको छ। तर, लक्ष्यमा पुग्न चुनौती रहेको पाण्डे बताउँछन् ।

कालाजार प्रोटोजोवा अन्तर्गत पर्ने लेइसमानिया दोनोभानी नामक परजीबीको कारणले सर्ने सरुवा रोग हो। यो एक प्रकारको भुसुनाको टोकाईबाट सर्छ। यो रोग लागेका बिरामीहरुमा लामो समय सम्म ज्बरो आउने, रगतको कमी हुने, तौल घटने, कलेजो सुन्निने र छाला कालो हुने जस्ता लक्षण देखिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार