Saturday, September 28, 2024

काठका पोल विस्तार कि विस्थापन?

काठमाडौं– ‘वातावरणमैत्री काठका पोल विस्तारका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरिनेछ,’ २१ वैशाख २०७५ मा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भनेका थिए।

१८ जेठमा ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा क्रमशः उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत । तस्बिर : मन्त्री पुनको निजी सचिवालय।

‘वन तथा वातावरण क्षेत्रको वर्तमान अवस्थाको स्थिति–पत्र’ सार्वजनिक गर्दै मन्त्री बस्नेतले भने, ‘वार्षिक एक करोड घनफिट काठ उत्पादन भइरहेको छ। तर, आयात रोकिएको छैन। अब आयात प्रतिस्थापनसँगै निर्यात गर्ने वातारणको सृजना हुनेछ। वातावरणमैत्री काठका पोललाई प्रर्वद्धन  गरिने छ।’

तर, वन तथा वातावरण मन्त्रालयले काठका पोल प्रयोगलाई विस्तार गर्ने योजना सार्वजनिक गरेको अढाई महिना नबित्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विस्थापनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।

काठका पोल चाँडै नै कुहिनुका साथै बर्खामा पानीसँगै पोलमा करेन्ट प्रवाह हुँदा मानवीय क्षति बढ्दै गएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। उनका अनुसार मुलुकका कतिपय क्षेत्रमा अझै काठका २ लाख पोल छन्। ‘विद्युतीय सुरक्षा’ अपनाउन काठसँगै स्टीलका पोल विस्थापन गरेर फलामे अर्थात् स्टिल ट्युब्लर पोललाई विस्तार गर्ने योजना रहेको घिसिङले बताए।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, प्राधिकरण कार्यकारी निर्देशक घिसिङ र सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेका थिए।
मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काका अनुसार छलफलमा ‘देशभरबाट काठका पोल विस्थापित गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी’ रहेको पुनले बताएका थिए।

उक्त छलफलमा सहभागी कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘विद्युतीकरणको सुरक्षाको पाटो मुख्य हो, काठका पोल विस्थापित गर्न मन्त्रिपरिषद्मा लैजाने कि अन्य उपाय अपनाउने भन्ने विषयमा छलफल भएको हो।’

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन आइतबार ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहितसँग छलफल गर्दै । तस्बिर : मन्त्री पुनको निजी सचिवालय।

तर, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धनन्जय पौडेल काठका पोल विस्तार गरेर आयात विस्थापन गर्न सकिने बताउँछन्। ‘फलामे पोल बाहिरबाट आयात गर्नुपर्छ। तर, हामीले स्वदेशी उत्पादनलाई बढवा दिऔं, आयातलाई विस्थापन गरौं भनेका हौं,’ प्रवक्ता पौडेलले भने, ‘काठका पोल चाँडै नै कुहिने र करेन्ट प्रवाह हुने भन्ने होइन।’

उनका अनुसार नेपालमा विशेषगरी साल र मसला प्रजातिबाट पोल बनाउन सकिन्छ। जुन ४०–५० वर्षसम्म टिकाउ हुने उनकाे दाबी छ।  ‘पोल आकारका रुख काटेर सीधैं प्रयोग गर्ने होइन। त्यसलाई प्रशोधन गर्नुपर्छ। सुरुमा ‘सिजनिङ’ अर्थात् काठबाट पानीसँगै हावाको निकालेर त्यसपछि विभिन्न रसायनको मद्दतबाट प्रशोधन गर्ने हो,’ उनले भने, ‘तर भौगोलिक अवस्थालाई मध्येनजर गरेर मात्र काठका पोल प्रयोग गर्ने हो। सबै ठाउँमा भनेका होइनौं।’

यद्यपी, फलामे अर्थात् स्टिल ट्युब्लर पोल प्रयोग नै गर्नु भन्ने वन मन्त्रालयको धारणा नरहेको उनको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार