हनुमन्ते खोला ‘अतिक्रमण’ ले डुब्यो भक्तपुर

काठमाडौं– बुधबार रातिको वर्षाका कारण भक्तपुर डुबानमा पर्‍यो। भक्तपुरका चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चागुनारायणका हजारौं घर डुबानमा परे। कयौं परिवार विस्थापित बने। बेलुका पानी परेपछि राहत महसुस गरेका भक्तपुरबासीलाई उद्धार गर्न रातारात सुरक्षाकर्मीसहित स्वंयसेवक पुग्नुपर्‍यो।

भक्तपुरमा हनुमन्ते खाेलाकाे बाढी वस्ती पसेपछि घरभित्रै फसेका शिशु र अामाकाे उद्धार गर्दै नेपाली सेना। तस्बिर साैजन्य : नेपाली सेना।

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका घरसँगै भूकम्पपीडितको शिविर डुबान पर्‍यो। यसैगरी, मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र डुबानमा परे।

सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पस्यो। कौशल्टार पुलमा क्षति पुग्यो। बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर भत्किए मनोहरा सुकुम्वासी बस्ती पनि डुबानमा पर्‍यो।चागुनारायण नगरपालिका–७ मजुवा गाँउमा घर पछाडिबाट आएको पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको मृत्यु नै भयो।

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति परेको वर्षालाई त्यति ठूलो भनिहाल्ने अवस्था छैन। बुधबार रातिदेखि बिहीबार बिहान १० घण्टामा भक्तपुरमा क्षेत्रमा १ सय २९ दशमलव ६ मिलिमिटर वर्षा भएको वर्षा मापन केन्द्रले मापन गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘मापन अनुसार यति वर्षा हुनु सामान्य नै हो।’

तर, एक रातकै वर्षाले भक्तपुर किन यसरी डुबानमा पर्‍यो? मध्यपुरथिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली हनुमन्ते खोलाको माथिल्लो बेल्टमा अतिक्रमण भइ खोला साँघुरो हुँदा दक्षिणी क्षेत्र डुबानमा परेको बताउँछन्। खोलाको माथिल्लो बेल्ट भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका र चागुनाराण नगरपालिकाको सीमा क्षेत्र हो। ‘खोेला साँघुरो हुँदा पानीको बहाव बाहिर निस्किएर वस्तीमा पसेको पाइयो,’ हाकाहाकीसँग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘मुलमै समस्या छ।’

गत वर्ष मध्यपुरथिमि र सूर्यविनायकको सिमानास्थित हनुमन्ते खोला फर्काइएपछि प्रतिकार गरेकाे नगरपालिकाले तारबार लगाउने भनेको थियो। तर, कार्यान्वयन भएन  बुधबार रातिको पानीले सो क्षेत्र पूरै डुबानमा थियो।

भक्तपुरको जलाधार क्षेत्र।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली हनुमन्ते खोला चारवटा नगरपालिकाको सीमानामा पर्ने भएकाले अन्तर समन्वय गरेर अघि बढ्नुको विकल्प देख्दैनन्। उनी भन्छन्, ‘राधेराधे क्षेत्र र बालकोटको तल्लो क्षेत्रमा डुबान पर्नु नौलो होइन। तर, यो पटक माथिल्लो क्षेत्र नै डुबानमा परेपछि सोच्ने बेला आएको छ।’

हनुमन्ते खोला किनारास्थित ब्लक कारखानाले वर्षौंदेखि खोलाको करीब ७ रोपनी जग्गा ओगटेर बसेको छ। मध्यपुरथिमि नगरपालिकाको मेयरमा निर्वाचित भएलगत्तै मदनसुन्दर श्रेष्ठले भनेका थिए, ‘प्राकृतिक रुपमा बगिरहेको खोलामा नगरपालिकाको क्षेत्राधिकारभित्र ढुंगाको मेसिनरी पर्खाल लगाई स्थायी संरचनाको निर्माण गर्ने निर्णय भएको छ।’ तर, बिहीबार उनीसँग सम्पर्क हुन सकेन।  प्रमुख प्रसाशकीय अधिकृत ज्ञवाली ब्लक कारखाना खोलेर बसेका सञ्चालकलाई नगरपालिकाले हटाउन नसकिएको स्वीकार गर्छन्।

बिहीबारको प्रतिनिधिसभामा सांसद प्रेम सुवालले हनुमन्ते खोलाका कारण भक्तपुर डुबानमा परेको बताए। उनले भने, ‘खोला साँघुरो भएको, मानवीय अतिक्रमणमा परेका कारण बस्ती डुबानमा परेको हो ।’

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा डुबानका दुईवटा कारण देख्छन्–हनुमन्ते खोला अतिक्रमण र ‘नाम मात्र’ का सडकका नाली। सडकका किनारामा बनाइएका नाली साना हुँदा पानीको निकास नभएको उनको भनाइ छ। जगाती, बाराही, बालकोट क्षेत्रको डुबानको अवलोकनको क्रममा हनुमन्ते खोला नियालेका मेयर थापाले हाकाहाकीसँग भने, ‘खोलामा प्राकृतिक रुपले पानी बग्नै पाएको छैन। मापदण्डविपरीत संरचना बनाइँदा डुबानमा पर्नुपर्‍यो।

यो क्षेत्र पहिलो पटक डुबानमा परेको होइन। गत साउनमा पनि डुबानमा परेको थियो। तर, मेयर थापा भन्छन्, ‘गत वर्ष भर्खरै निर्वाचित भएर आएका थियौं। अब अतिक्रमण हटाउन तथ्यांक संकलन थालिएको छ। चाँडै अतिक्रमण हटाउने काम हुन्छ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७४ भदौमा उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, मनोहरालगायत १४ वटा नदी/खोलाको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दुरी सार्वजनिक गरेको थियो। जसअनुसार वागमती, विष्णुमती, हनुमन्ते र मनोहराको केन्द्रदेखि दायाँबायाँ २० मिटर जग्गा छोड्नुपर्ने हुन्छ। तर, कार्यान्यवन भएकाे छैन।

मेयर थापा सरकारी मापदण्ड पालाना नभएका संरचना हटाउन अन्तर नगरपालिका समन्वय हुने बताउँछन् ।

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दाले सामान सुरक्षित स्थानतर्फ लैजाँदै । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

बाढीपीडितलाई राहत दिन संसदमा माग
यसैबीच, बाढीपहिरोका कारण काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भेगमा भएको धनजनको क्षतिबारे सांसदहरूले संघीय संसदमा आवाज उठाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले राजधानीमा नै अविरल वर्षाका कारण दर्जनौँ बस्ती डुबानमा पर्नुको साथै मानवीय क्षति भएको भन्दै तत्काल उद्धार र राहतलाई तीव्रता दिन माग गरे।

सांसद महेश बस्नेतले चाँगुनारायण– ७ मा एकै परिवारका तीन जनाको ज्यान गएको घटनाबारे संसदलाई जानकारी गराए। मृतकका परिवारलाई राहत दिन र बाढीपहिरोपीडितलाई क्षतिपूर्ति दिन उनको माग छ।

सांसद अमनलाल मोदीले बाढी प्रभावित जनतालाई तत्काल राहतको प्रबन्ध गर्न र बाढीपहिरो नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए।

ताजा समाचार

सम्बन्धित समाचार