Tuesday, October 8, 2024

तापक्रम वृद्धिले फेरिँदै बालीचक्र, पोषणमा कस्तो पर्ला प्रभाव ?

३२ साउन, काठमाडौं

हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ खेतीपाती र कृषिका लागि अब ‘दुर्गम’ रहेन । कृषि पकेट क्षेत्र तोकिएका अन्य भेगझैं व्यवसायिकरूपमा धेरैथरी अन्न र कृषि उपज उत्पादन हुन थालेपछि लमजुङहुँदै अन्यत्र पनि निर्यात हुन थालेको छ ।

२ हजार ७ सय मिटर उचाइको सदरमुकाम चामे मात्रै होइन ३ हजार ५ सय ४० मिटर उचाइको मनाङ ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मुला, टमाटर, रायोजस्ता बेमौसमी तरकारी खेती सफल भएपछि आन्तरिक खपतसँगै निर्यात र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रका अधिकारी बताउँछन् ।

मनाङका चारवटै पालिकामा एक दशकयता टनेल खेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साही बनाएको छ भने अर्कोतर्फ चिन्ता पनि बढाएको छ । विश्वव्यापी तापक्रम वृद्धिको प्रभावले हिमपात कम भएर रैथाने बालीनाली लोप हुनसक्ने तथा स्वाद र गुणस्तर खस्किनसक्ने किसानको चिन्ता छ ।

नासोँ गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङ भन्छन्, ‘अहिले त स्याऊ मात्रै ३/४ थरी फल्न थालेको छ, पहिला जस्तो हिउँ पर्दैन, पानी र गर्मी अलि बढ्न थालेको छ । यस्तो हुँदा स्याउसहित अरु बालीको स्वाद पनि फेरिँदै गएको छ ।’ आलुको स्वाद नै पहिलेको जस्तो नरहेको उनको अनुभव छ ।

स्याउ, मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, राजमा, गहु, कोलो (सिमी) जस्ता कृषि उपज मनाङका रैथाने बालीनाली हुन् । समय अगावै फलफूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयबासिन्दाले अनुभव गर्न थालेका छन् । मनाङका धेरैजसो किसान परम्परागत खेतीपाती छाड्दै व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मी बताउँछन् । जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उनले भने, ‘रैथाने बालीको बिउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँगको सहकार्यमा जुटेका छौ ।’

सन्दर्भ मनाङको मात्रै होइन, विश्वव्यापी तापमान वृद्धिको प्रभावले मौसम प्रभावित बन्दा नेपालका अन्य भेगमा पनि बोटबिरुवा र फलफूलको बाली चक्र फेरिँदै गएको छ । प्रायः बाह्रै महिना सेताम्य हुने हिमाल केही वर्षयता मध्य हिउँदमा पनि मुस्किलले हिउँले ढाक्ने गरेको देख्न थालिएको छ । फागुनपछि मात्रै फुल्ने गुराँस मंसिर/पुसमै फूलेका खबर अधिकांश नेपालीका लागि नौलो हुन छाडेको छ । विगतमा आँपका बोटमात्रै देखिने काठमाडौं उपत्यका आँप फल्न थालेको छ ।

गर्मी भेगमा मात्रै रम्ने फलफूल चिसो मानिने काठमाडौँसहितका ठाउँमा फल्न थालेपछि आफ्नो क्षेत्रमा व्यवसायिक खेतीको जानकारी लिन र अन्यत्र मात्रै हुने फलका बिरुवाबारे बुझ्न र लिन काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय फलफूल विकास केन्द्र (बागवानी केन्द्र) पुग्नेहरू बढेका छन् ।

मौसम परिवर्तनले कतिपय पुराना बालीको उत्पादकत्व घट्न थालेको अनुभव सुनाउने आगन्तुकहरूले विकल्प खोज्दै आफ्ना भेगमा नयाँ फल/बिरुवातर्फ चासो लिने गरेको केन्द्रकी वागवानी विकास अधिकृत शोभा शर्माले बताइन् । ‘विगतमा स्याउ राम्रोसँग नफलेका ठाउँमा तापक्रम अनुकूल हुँदा फल राम्रो लाग्न थालेपछि स्याउका बिरुवाको माग बढ्न थालेको छ’ शर्माले भनिन् ।

वर्षाको प्रकृतिसँगै अतिवृष्टि–अनावृष्टि हुने क्रम बढेर धेरै ठाउँमा बालीनालीको चक्र बदलिन थालेपछि यस्तो चासो बढेको हुनसक्ने शर्माको भनाइ छ । यो वर्ष काठमाडौं उपत्यकामा आँप, जापानिज हलुवावेद, चुच्चे ओखर लगायतका फल राम्रो लागेको शर्मासहित केन्द्रका अन्य प्राविधिकहरूको अनुभव छ ।

स्याउ फल्ने क्षेत्रमा आँप, लिचीलगायत अन्य फल उत्पादन हुन थालेपछि केन्द्रले व्यावसायिक खेती गर्न सकिने/नसकिने पक्षबारे ठाउँ विशेषको ‘नमूना अध्ययन’ गरिरहेको छ । ‘यो वर्ष काठमाडौंमा चुच्चे ओखर राम्रो ‘फ्रुटिङ’ भइरहेको छ । काठमाडौं र काठमाडौं जस्तै हावापानी भएका एक हजार ८ सय मिटरको उचाइसम्म यो ओखरको व्यवसायिक खेती गर्न सकिने सम्भावनाबारे हामी बुझ्दैछौ’, शर्माले भनिन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी)का अनुसार पछिल्लो दशकमा पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० का तुलनामा १ दशमलव १ डिग्री सेल्सियसले बढेको छ । विश्वको वार्षिक औसत तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस पुग्ने सम्भावना ८० प्रतिशतले बढेको संयुक्त राष्ट्रसंघ मातहतको विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ)ले औल्याएको छ ।

नेपालको औसत तापमान वृद्धिदर विश्वको औसतभन्दा करिब २ गुणा बढी भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा बर्सेनि ० दशमलव ०५६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि हुँदै आएकाले यसको प्रत्यक्ष/परोक्ष प्रभाव कृषिबाली र अन्य क्षेत्रमा परिरहेको विभागका अधिकारी बताउँछन् ।

तापक्रमको वृद्धिसँगै भारी र अतिभारी वर्षा हुने क्रम बढ्न थालेपछि धान लगायतका अन्नबालीमा ठुलो क्षति हुन थालेको छ । मिचाहा प्रजातिका वनस्पतिको वृद्धि, उच्च पहाड र हिमाली भेगका बालीनालीमा फौजीसहित अन्य किराको बढ्दो प्रभावलाई तापक्रम वृद्धिको असरका रुपमा व्याख्या गर्न थालिएको छ । नेपालको ३० प्रतिशत हाराहारी जमिन खेती गर्न योग्य र वनसँगको अन्तरसम्बन्धलाई जोड्दा करिब ५५ प्रतिशत क्षेत्र यो प्रयोजनमा प्रयोग गर्न सकिने कृषिविज्ञहरूको ठहर छ ।

नेपालसहित विश्वव्यापीरूपमै जलवायु परिवर्तनको प्रभावलाई नकारात्मक रुपमा व्याख्या गरिन्छ । मनाङजस्ता हिमाली जिल्लामा खेतीपाती विस्तार र केही वर्षयता गोरखामा १ हजार ५ सय मिटर उचाइ हाराहारीसम्म धान खेती हुन थालेकाले सकारात्मक रुपमा पनि लिनुपर्ने बहस समेत हुन थालेको छ ।

खाद्य तथा कृषिविज्ञ डा. यमुना घले जलवायु परिवर्तनको प्रभावलाई सँधै नकारात्मक अर्थमा मात्रै व्याख्या गर्नु उपयुक्त नहुने तर्क गर्छिन् । तापक्रम वृद्धि कृषि र बालीनालीको उत्पादकत्व बढाएर आयात प्रतिस्थापनको अवसरका रूपमा पनि चर्चा गरिनुपर्ने उनको भनाइ छ । ‘जलवायु परिवर्तनले सबै ठाउँमा क्षति गर्छ, नकारात्मक प्रभाव पार्छ भन्ने सन्देश र बुझाइलाई बदल्नुपर्छ, कतिपय भेगका किसानहरूका लागि तापक्रम वृद्धिले राहत पनि दिएको छ’ उनले भनिन् ।

जलवायु परिवर्तनको प्रभाव विश्वव्यापी रहेकाले कुनै एक्लो देश, सरकार र कुनै निकाय विशेषको पहलले मात्रै घटाउन नसकिने भएकाले अनुकूलनका अभ्यासलाई प्राथमिकतामा राख्नुपर्नेमा डा. घलेको जोड छ । क्षति कम गर्न नेपालजस्ता देशको जनशक्ति, स्रोत साधन र बजेट पर्याप्त नहुने भएकाले अनुकूलन कार्यक्रम परिणाममुखी बन्ने भएकाले अनुकूलन अभ्यासबाटै रैथाने बाली जोगाउन सकिने उनको तर्क छ । उनले भनिन्, ‘रैथाने बालीको राष्ट्रिय मर्म सरकारले बुझ्न सकेको छैन, यो काम स्थानीय सरकार र पालिकाहरूको हो भन्ने बुझाइ हुँदा यसका लागि पर्याप्त स्रोत र बजेट छुट्याउने कुरै भएन ।’

कृषि कार्यक्रमका सभा, सम्मेलनहरूमा लोपोन्मुख बालीनाली जोगाउन सरकारले बाली प्रवद्र्धनलाई जोड दिनुपर्ने तर्क सुनिन्छन् । रैथाने उत्पादन जोगाउन गाउँ घरमा सामुदायिक बिउ ब्यांक स्थापना गर्ने अभ्यास पनि छन् । समुदाय सक्रिय हुँदा देशका विभिन्न भेगमा बिउ ब्यांक स्थापना गर्ने लहर सुरु भएका छन् । बिउ ब्यांकले रैथाने बाली जोगाउन सकिने भए पनि बढ्दो तापक्रम वृद्धिले बालिनालीको चक्र फेरिँदा पोषण सुरक्षामा समेत असर परिरहेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशी बताउँछन् ।

बालिनालीको चक्र फेरिँदा पोषण सुरक्षा सुनिश्चित सहज नभएको बताउँदै उनी भन्छन्, ‘विषयविज्ञसहित बीउ ब्यांक दिगो बनाउन सक्दा रैथाने जात जोगिन्छ, उत्पादन दर पनि बढ्छ । कृषि उत्पादनको पोषण सुरक्षालाई लिएर नेपालमा यस्तो अध्ययन ज्यादै न्युन छ, छैन भने पनि हुन्छ । यो निकै गम्भीर पाटो हो ।’

नेपालमा अहिलेसम्म खाद्य स्वास्थ्य सूचकांक नभएकाले अनुवांशिक विविधताको अनुसन्धान फराकिलो बनाउन नार्कले मनाङ, मुस्ताङ, रसुवालगायत अन्य हिमाली जिल्लाका कृषि उपजको अध्ययन गर्ने गृहकार्य थालेको उनले जानकारी दिए । रैथाने बाली हराउने चिन्ता, उच्च पहाड र हिमाली भेगका कृषि उत्पादनको गुणस्तर राम्रो रहेको चर्चा भइरहँदा अध्ययनले रैथाने बिउ जोगाउन पोषण सुरक्षालाई प्राथमिकतामा राख्ने जोशीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार