Sunday, September 15, 2024

थपियो पक्षी, भेटियो तालुधर्से अर्जुनक

१४ साउन, काठमाडौं

उपल्लो मुस्ताङको अन्नपूर्ण क्षेत्रमा नयाँ पक्षी अभिलेख भएको छ । तालुधस्रे अर्जुनक (स्पटेड फ्लाइक्याचर) नेपालका लागि पहिलोपटक भेटिएको प्रमाणित भएको छ ।

मुस्ताङको समरस्थित ३ हजार ६ सय ५० मिटर उचाइमा सो पक्षी भेटिएको हो । पदयात्राका क्रममा पक्षी अनुसन्धाता सञ्जय था श्रेष्ठ र पक्षी पथप्रदर्शक शंकर तिवारीले ‘स्पटेड फ्लाइक्याचर’ भेटेका हुन् ।

यही २ साउनमा भेटिएको ‘स्पटेड फ्लाइक्याचर’ नेपालका लागि पहिलो आधिकारिक अभिलेख भएको नेपाल पक्षीविद् संघको नेपाल बर्ड रेकर्ड कमिटिले जनाएको छ । पक्षीविद् संघका अधिकारी र अन्य विज्ञले मुस्ताङको सो भेगमा भेटिएको पक्षीबारे विस्तृत तथ्य बुझ्दा नेपालका लागि नयाँ पक्षी प्रमाणित भएको हो ।

यससँगै नेपालमा अभिलेख भएका पक्षीहरूको संख्या ८ सय ९६ पुगेको छ ।

लोमान्थाङ यात्राका क्रममा श्रेष्ठ र तिवारीले करिब आधा घण्टा यो पक्षीको गतिविधि नियाल्दै तस्बिर तथा भिडियो कैद गर्ने मौका पाएका थिए । विहान ८ बजेर ५८ मिनेटमा देखिएको ‘स्पटेड फ्लाइक्याचर’ आधा घण्टा हाराहारी प्रष्टै नियाल्ने अवसर मिलेको बताउँदै श्रेष्ठले भने, ‘देखिएको केही सेकेण्डभित्रै यो नयाँ चरा हो भन्ने लाग्यो, फिल्डमै हामीले नयाँ हो भन्ने ठहर ग-यौं ।’

भट्ट नियाल्दा भगेराझैं देखिने यो पक्षीका आहरा पुतली, किरा, फट्याङ्ग्रा हुन् । यो चरा गर्मीयामको आगन्तुक हुन सक्ने संघ अधिकारीहरूको ठहर छ । यूरोपका विभिन्न देश, दक्षिण अफ्रिका, रुस, चीन, मंगोलियामा भेटिएको छ ।

इरान, पाकिस्तान, अफगानिस्तान र भारतका केही भेगमा रेकर्ड भएको ‘स्पटेड फ्लाइक्याचर’ विभिन्न तथ्य परीक्षणका क्रममा नेपालका लागि पहिलो अभिलेख भएको हो । यो पक्षी हिउँदयामा जाडो छल्न अफ्रिका र पश्चिम एसियाली देशहरूमा बसाइँ सर्ने गर्छ ।

मुस्ताङमा बिजुलीका तार, ढुंगा र घरका छानामा देखिएकाले ‘स्पटेड फ्लाइक्याचर’ मानव बस्ती निकट घुलमिल हुने स्वभावको हुनसक्ने पक्षी अनुसन्धाता श्रेष्ठको ठहर छ ।

मुस्ताङमा भेटिएको पक्षीले आधा घण्टाको अवधिमा छिटोछिटो पुतली र अन्य किरा, फट्याङ्ग्रा खाएको हुनाले अन्यत्रको यात्राको तयारीमा रहेको हुनसक्ने श्रेष्ठले बताए । स्थानीय वातावरणमा घुलमिल भइसकेको पक्षी सामान्यतया आहारा खान हतार नगर्ने उनले प्रष्ट्याए ।

पक्षीविद् डा. हेमसागर बरालको बुझाइमा मुस्ताङमा भेटिएको ‘स्पटेड फ्लाइक्याचर’ अर्जुनक प्रजातिको हो । नेपालमा हिउँदे र गृष्मकालीन अर्जुनक पक्षीका प्रजातिमध्ये यो गृष्मकालीन फिरन्ते आगन्तुक रहेको उनले बताए ।

अर्जुनक पक्षीका धेरै प्रजाति जाडो छल्न दक्षिणी भूभागतर्फ बसाइ सर्छन् । नेपालमा अर्जुनक पक्षीका २४ प्रजाति पहिचान भएका छन् ।

‘स्पटेड फ्लाइक्याचर’सँगै यो वर्ष नेपालमा पक्षीका २ वटा प्रजाति थपिएका छन् । यसअघि गत २५ वैशाखमा लोमान्थाङको ३ हजार ८ सय ४० मिटरको उचाइमा फुस्स्रो सारौं भेटिएको थियो । मुस्ताङमा ‘स्पटेड फ्लाइक्याचर’ भेटेका उनै पक्षी पथप्रर्दशक तिवारीले नै फुस्स्रो सारौंको तस्बिर कैद गरेका थिए ।

तिवारी र श्रेष्ठले गत १ असारमा भक्तपुरको मनोहरामा ‘लेसर ग्रे स्राइक’ नामक पक्ष भेटेका थिए । सो पक्षी काठमाडौं उपत्यका र पहाडी भेगका लागि पहिलो पटक अभिलेख भएको पुष्टि भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार