Thursday, September 26, 2024

उपत्यकाको पूरै फोहोर उठ्न अझै एक साता लाग्ने

काठमाडौं–काठमाडौं उपत्यकामा दैनिक निस्काशन हुने पूरै फोहाेर उठ्न अझै एक साता लाग्ने भएको छ।  बर्खाका कारण सिसडाेल ल्याण्डफिल्ड साइट जाने बाटो बिग्रिएपछि गत साता थुप्रिएकाे फोहोर हाल अाएर उठाउन थालिएकाे छ।

बत्तीसपुतली सडमा थुप्रिएकाे फाेहाेर।

तर, एक सातासम्म थुप्रिएको फोहोर उठाउन अझै एक साता लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ। काठमाडौं उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर निस्काशन हुन्छ। एक सातासम्म थुप्रिएको सात हजार मेट्रिक टन र दैनिक रुपमा उत्पादन हुने एक हजार मेट्रिक टन फोहोर उठाएर सिसडोल ‘ल्याण्डफिल्ड साइट’ मा पुर्याउन कम्तिमा एक साता लाग्ने भएको हो।

ल्याण्डफिल्ड साइट जाने बाटो बर्खाको कारण बिग्रिएपछि काठमाडौं उपत्यकाको तीनवटै जिल्लाका चोकचोकमा फोहोरको डंगुर ह्वात्तै बढेको थियो। तर, अब बाटो बनिसकेकाले एक साताभित्र फोहोर व्यवस्थापन भइसक्ने काठमाडौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुँवरले दाबी गरे।

‘अहिले घाम लागेपछि दैनिक एक पटक फोहोर उठाइरहेका छौँ, एक साताभित्र काठमाडौँ उपत्यकाको सबै फोहोर उठाइसकिने छ,’ उनले भने, ‘एक साताको फोहोर थुप्रिएकाले उठाउन समय लाग्ने देखिएको हो।’

उनका अनुसार बर्खा अघि एउटा गाडीले दैनिक तीनपटक फोहोर उठाएर ल्याण्डफिल्ड साइट पुर्याउथ्यो। तर, अहिले सडक हिलाम्य हुनुका साथै पहिराेकाे पनि समस्या रहेकाले बिहान ५ बजे काठमाडौंबाट ल्याण्डफिल्ड साइट हिँडेको गाडी बेलुकी ७ बजे मात्र फेरि यहाँ आइपुग्ने गरेको कुँवरले बताए।

१ सय ३० वटा गाडीले दैनिक रुपमा ३ पटकसम्म गरी फाहोर उठाउने गरिएकोमा बर्खा लागेसँगै बाटो बिग्रिएपछि समस्या भएको थियो। कुँवर एउटा गाडीले दिनको तीन पटकसम्म फोहोर उठाउने गरेकोमा बाटो बिग्रिएपछि एक पटक मात्र उठाउन सकिने भएपछि फोहोरको डंगुर बढेको बताउँछन्।

उनका अनुसार पानी परेको दिन सिसडोल जाने सडकमा फोहोरको गाडी लैजानै सकिँदैन। ‘त्यसैले फोहोर सबै उठाउन सकिएको छैन्, एक त एक सातादेखिको फोहाेर त्यसमाथि पनि दैनिक रुपमा उत्पादन हुने फोहोर त्यो सबैलाई व्यवस्थापन गर्न अझै एक साता त लाग्छ,’ उनले भने,  ‘पानी पर्यो भने समय अझ बढी लाग्छ होला।’

हरेक वर्ष बर्खा लागेसँगै काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या देखिने गर्छ। एक सातादेखि काठमाडौँ, ललितपुर र भक्तपुरका चोकचोकमा थुप्रिएको फोहोर उठाउन सुरु गरिएको भनिएपनि कतिपय चोकमा अझै फोहोरको थुप्रो देखिन्छ।

सबस्टेसन टेकुमा पनि दुई साताभन्दा बढी फोहोर राख्न नसकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन्। सरकारले सिसडोलको बिकल्पमा नुवाकोटकै बन्चरे डाँडामा ल्याण्डफिल्ड साइट बनाउने घोषणा गरेपनि अझै बनाइएको छैन।

ताजा समाचार

सम्बन्धित समाचार