Wednesday, September 25, 2024

मच्छिन्द्रनाथको पुनर्निर्माण ‘कछुवा गति’ मा, ६ महिना म्याद थपियो

काठमाडौं–ललितपुरको ललितपुर महानगरपालिकास्थित बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर पुननिर्माणको ठेक्काको म्याद ६ महिना थपिएको छ।

पुनर्निर्माण थालिएको अढाई वर्षमा पनि आधा काम पनि नभएपछि पुरातत्व विभागले ठेकेदार कम्पनी प्रेरा भेगिम तुल्सी जभीसँगको म्याद थप गरेको हो। पुनर्निमाणको काम सन् जुन २०१८ भित्र सम्पन्न गरिसक्नु पर्थ्यो।

‘अब थप गरिएको ६ महिनामा पनि प्रगति भएन भने ठेक्का रद्द हुन्छ,’ पुरातत्व विभागका डिभिजन इञ्जिनियर सम्पत घिमिरेले भने, ‘थपिएको म्यादमा पुर्निर्माणको काम सम्पन्न हुने चरणमा पुगेमा फेरि थप्न सकिन्छ।’

उनका अनुसार १२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको मच्छिन्द्रनाथमा काठको बीम राख्ने काम सम्पन्न भएको छ, अब झ्यालढोका राख्ने काम सुरु भको छ। तर, म्याद थप गरिएको ६ महिनामा पनि मन्दिरको पुनर्निर्माण पूरा नहुने निश्चित प्रायः रहेको पुरातत्वका अधिकारीहरू नै स्वीकार गर्छन।

२ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माण अभियान थाल्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रातो मच्छिन्द्रनाथको मन्दिरबाट अभियान सुरू गरेका थिए । ओली पछि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीत्व सकेर फेरि ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेका छन् ।

तर, पुनर्निर्माणको काम ‘कछुवा गति’ मा भइरहेको छ। पुनर्निर्माण अवधिको अढाइ वर्षमा पुरातत्व विभाग र ठेकेदार कम्पनीबीचको मतभिन्नता मात्र भएन, निर्माण सामग्रीको अभावका साथै पुनर्निर्माणमा तदरूकता देखाइएन।

इजिनियर घिमिरे भने निर्माण सामग्रीको अभावकै कारण पुनर्निर्माणमा ढिलाइ भएकोमा अब नहुने दाबी गर्छन।  ‘ढुंगाको थाप (पिल्लर) नपाएर लामो समय काम रोकिएको थियो, अहिले खानीबाट ल्याइसकिएको छ,’ घिमिरेले भने, ‘अब समस्या हुँदैन। ठेकेदार कम्पनीले पुनर्निर्माणमा तदरुकता देखाउनुपर्छ।’

रातो मछिन्द्रनाथको मन्दिर पुरानो र उपत्यकाकै पृथक शैलीको हो। भूकम्पले मन्दिर भत्किएपछि रातो मच्छिन्द्रनाथ मूर्तिलाई बुङमतीमै अस्थायी मन्दिर निर्माण गरी राखिएको थियो, भने मछिन्द्रनाथको रथ पाटनका ल्याइएको छ।

साढे चार करोडमा प्रेरा भेगिम तुल्सी जभीलाई पुनर्निर्माणको ठेक्का दिइएकोमा अहिले ५० लाख लागत थप गरेर पाँच करोड पुर्याइएको उनले बताए। ‘सम्पदा पुनर्निर्माणमा समस्या हुन्छ, अन्य संरचना पुनर्निर्माण गरेजस्तो हुँदैन। परम्परागत निर्माण सामग्री, शील्प र शैलीलाई ध्यान दिनुपर्छ,’ घिमिरेले भने, ‘त्यो कारणले पनि लागत बढेको हो।’

सम्पदा पुनर्निर्माण अभियान थालेको २ वर्षमा रानीपोखरी ‘अस्तव्यस्त’ बनेको छ, भने रातो मच्छिन्द्रनाथको पुनर्निर्माण ‘कछुवा’ गतिमा भइरहेको छ । पुनर्निर्माणमा ढिलाइ भएको भन्दै पुरातत्व विभागकै व्यापक आलोचना भएपछि विभागले आइतबार ठेकेदार कम्पनी प्रेरा भेगिम तुल्सी जभीलाई पत्र काट्दै ‘प्रतिवद्धता बमोजिम पुनर्निर्माण गर्न’ भनेको छ।

पुरातत्व विभागका अनुसार रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा इँटा, काठ, ढुंगा, चुन र सुर्कीको प्रयोग भइरहेको छ। पहिलो ६ महिनामा धमाधम पुनर्निर्माण भइरहेको भनिएको मन्दिरका लागि काठ र इँटाको अभाव भएको भन्दै २०७४ वैशाखदेखि असारसम्म पुनर्निर्माणको काम ठप्प रह्यो।

हरेक वर्ष मच्छिन्द्रनाथको रथयात्रा मनाइन्छ। सहकालका देवताको रूपमा मछिन्द्रनाथ रथजात्रालाई उपत्यकाको ऐतिहासिक महत्व बोकेको जात्राको रूपमा लिइन्छ। रातो मछिन्द्रनाथको मन्दिर १४ सय वर्ष पहिले बनेको अनुमान गरिन्छ। भूकम्पले मन्दिर क्षतिग्रस्त बनाएपछि मछिन्द्रनाथको रथयात्रा उल्लाहसमय हुन छाडेको स्थानीयवासी बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार