Wednesday, September 25, 2024

अाहाराका लागि प्रयाेग हुने कछुवाकाे संरक्षण कथा

photo source : new york times

इन्डेनेसिया–इन्डोनेसियाको वालीमा बस्ने नागरिकहरू लोपोन्मुख सामुन्द्रिक कछुवाको बारेमा लामो समयदेखि निकै द्विविधामा छन्। केही नागरिक सामुन्द्रिक कछुवालाई जोगाउन चाहन्छन्, भने कोही यसलाई आहाराका रुपमा प्रयोग गर्न रुचाउँछन्।

तर, पछिल्लो समयमा विशेषगरी युवाहरूबीच कछुवालाई जोगाउन पर्छ भन्ने मत बलियो बन्दै गएको छ। लेगिन सामुन्द्रिक किनारामा दिनहुँ हजारौ पर्यटकको भीड देखिने गर्छ, जहाँ उनीहरू बालुवा र सर्फ अवलोकनका लागि आउने गर्दछन्।

रातिको समयमा जब समुन्द्र अँध्यारो देखिन थाल्छ र प्रायः मानिस देखिदैनन्, त्यतिबेला यो क्षेत्र कछुवाका लागि बासस्थान बन्ने गर्छ। मानिसको गतिविधि कम भएपछि कछुवा देखिन थाल्छन्। एलेक्स उन्वाकोली, वाली कछुवा समाजका एक स्वयंसेवक हुन्। एकदिन उनी सो समुन्द्री किनाराको वरपर गस्ती गरिरहेका थिए। त्यही बेला उनले बालुवामा एक कछुवाले फुल (अण्डा) पार्न खोजिरहेको दृश्य देखें। त्यसपछि त्यो कछुवाको फुललाई जोगाउने तीव्र अप्रेशनको शुरुवात गरियो।

उनी र उनका साथीहरूले पर्यटकलाई केही पर नै बस्न भने र इन्डोनेसियामा नै लोपोन्मुख प्रजातिमा रहेको सामुन्द्रिक कछुवालाई फुल पार्न उनीहरूले सहज वातावरण बनाइदिए। त्यसपछि अन्य उद्धारकर्ताहरू समेत आइपुगे। जब त्यो कछुवाले फुल पार्‍याे। उनीहरूले १ सय ३६ वटा फुल जम्मा पारे, त्यसलाई बाल्टिनमा हाले र फुललाई कोरल्न सुरक्षित ठाउँमा लगे।

‘ती कछुवा हरेक पटक फुल पार्न यहाँ आउँछिन किनभने उनी यहाँ जन्मेकी थिइन,’ उद्धारकर्ता स्वयंसेवकले भने। एक वर्षमा नै धेरैपटक सो कछुवा आएर फुल पार्ने गरेको उनले जानकारी दिए। वालीको कछुवा जोगाउन चालिएको यो स्वयंसेवी अभियान एकदमै कममध्येको एक अभियान हो। यो समुन्द्री किनाराले यतिबेला गम्भीर वातावरणीय समस्या झेलिरहेको छ।

यस्तो अवस्थामा कछुवालाई प्राकृतिरुपमा नै फुल कोरल्न दिइयो भने यसले विभिन्न चुनौतीको सामना गर्नुपर्छ। समुन्द्रमा जानेले त्यसलाई कुल्चन सक्छन, समुन्द्रको आँधीको कारण बगाउन सक्छ तथा चोरी समेत हुन सक्छ।

समुन्द्रमा कछुवाले पार्ने फुलको राम्रोसँग संरक्षण नगरेमा फुल चोरी हुने र त्यो खाना बन्नसक्छ। विश्वको ७ लोपोन्मुख कछुवामध्ये ६ वटा इन्डोनेसियामा पाइन्छन्। र, ती सबैलाई संवेदनशील सूचीमा सूचीकृत गरिएको छ।

अहिले चलाइएको स्वयंसेवी अभियानले ‘लोलिभ रिडली’ नामक प्रजातिको कछुवाको संरक्षणमा केही प्रगति भएको छ। किनभने यो प्रजातिको कछुवालाई प्रदूषण, होहल्ला र आधुनिक बत्तीले कम प्रभाव पार्ने गर्दछन्। यो प्रजातातिको कछुवाको स्वाद माछाको स्वादसँग मिल्छ जुन समुन्द्रमा पाइने हरियो कछुवाभन्दा फरक हुन्छ। त्यसैले ‘लोलिभ रिडली’ कछुवालाई वालीमा एक मिष्ठान भोजनको रुपमा लिने गरिन्छ। पहिले यो धेरैको लागि मिठो आहारा थियो तर, अहिले परिस्थिति बदलिएको छ।

सन् २००१ पछि कछुवाको अवस्थामा निकै खराब भएको छ। सन् १९९९ मा यस्ता जनावर समात्ने, प्रशोधन गर्ने र खाने कार्यमा प्रतिबन्ध लगाइयो तर, त्यसपछि पनि दशौं हजार कछुवा मारिएका छन्। र, खानाको प्रयोजनको लागि प्रयोग भइरहेका छन्। कछुवाको मासु होटलमा पाइन्छ र हिन्दूहरूको विभिन्न कार्यक्रम र परम्परामा समेत यसको प्रयोग हुने गर्दथ्यो। कछुवाको तीव्र तस्करी भइरहेको थियो। तर, उनीहरूलाई कुनै कारवाही भएको थिएन्।

यति मात्र होइन, यसलाई प्रतिबन्ध लगाएको निहुँमा प्रदर्शन समेत भएको थियो। कछुवलाई ज्यूँदै काटेर पोलिन्थ्यो। पछि विशेषगरी हिन्दू पूजारीहरूले नै ‘लोलिभ रिडली’ लार्ई संरक्षण गर्न सहयोग गरे। उनीहरूले कछुवालाई बली चढाउने कार्य धार्मिक परम्परा नभएको उनीहरूले प्रचारप्रसार गरे। यतिबेला कछुवाको व्यापार लगभग भूमिगत जस्तो छ, निकै कडाइ गरिएको छ। केहीले लुकेर र लुकाएर व्यापार गर्ने प्रयास गरिरहेका छन् ।

गत वर्ष वालीको प्रहरीले १ हजार ५ सय ४० पाउण्ड कछुवाको मासु जफत गरेको थियो। त्यसभन्दा दुई वर्ष अघि त्यहाँको प्रहरीले ३ जना तस्करबाट १ सय २० वटा ज्यूँदै कछुवा बरामद गरी उद्धार गरेको थियो। यसै वर्षको मार्च महिनाको एक बिहानै प्रहरीले एक जना कुकलाई कछुवाको माछा काटिरहेकै अवस्थामा गिरफ्तार गरेको थियो।

प्रहरीले छापा मार्न केही ढिलाई गरेको भए सम्पूर्ण कछुवा साना–साना टुक्रा बनिसक्थे। ‘हामी त्यहाँ पुग्दा कछुवा काटिसकिएको थियो,’ एक प्रहरी अधिकारीले भने।अप्रिल महिनामा एक मोटरसाइकलमा चेकजाँच गर्दा ९७ वटा कछुवाको फुल (अण्डा) फेला परेको थियो। प्रहरीले ती फुल बच्चा कोरल्न दियो, जसमध्ये दुईवटा फुटे।

सन् २००१ यता कछुवा जोगाउन विभिन्न अभियान सञ्चालन भएका छन्। संरक्षणमा जुटेकाले फुल फेला पारेमा त्यसलाई ल्याउने र बच्चा कोरलेर छाड्ने गरेका छन्। सन् २००१ यता विस्तारै यसको संरक्षणको बारेमा जनचेतना फैलाउने काम भएको छ, स्वसंसेवकको संख्या बढेको छ। रेखदेखको लागि नेटवर्क बनाइएको छ। विशेषत ट्याक्सी चालक र होटलका सुरक्षागार्डलाई यसको जिम्मा दिइएको छ, जसले समुन्दी किनारामा देखिने कछुवाको बारेमा जानकारी गराउने गर्छन्।

गत वर्ष संरक्षणको लागि गठन भएको समाजले ७ सय ६१ गुँडबाट फुल संकलन गरे। र, झण्डै ७० हजार कछुवाका बच्चा समुन्द्रमा छोडेका थिए। यस वर्ष पनि त्योभन्दा बढी उद्धार गर्ने र बढी बच्चा बनाएर समुन्द्रमा छोड्ने योजना उनीहरूले बनाएका छन्। तीमध्ये आधा कछुवा ओलिभ रेडलिज प्रजातिका छन्। तर, अन्य पाँच प्रजातिका कछुवाको भने उचित संरक्षण हुन सकेको छैन।

तर, संरक्षणकर्ताहरूका अनुसार यो सजिलो काम भने होइन। होटलको स्थापना, सामुन्द्रिक किनाराको अतिक्रमण, समुन्द्रको बढ्दो सतह, जलवायू परिवर्तन लगायतका कारणले कछुवाको गुँड खतरामा पर्दैै गएका छन्।

त्यसैगरी गैरकानूनी शिकार र प्लाष्टिकको प्रयोगले कछुवाको मृत्यु समेत हुने गरेको छ। उद्धारकर्ताले फुल प्राप्त गरेपछि त्यसलाई कोरल्न सुरक्षित स्थानमा लैजाने गर्दछन्। एउटा ३० फिट लामो ह्याचरी बनाइएको छ, जसको आकार हरियो सामुन्द्रिक कछुवाको जस्तो छ। उद्धारकर्ताले फुललाई बालुवामा गाड्ने र पर्खने गर्दछन। र, त्यसलाई बच्चामा परीणत गर्न ४५ देखि ६० दिनसम्म लाग्ने गर्छ।

बच्चालाई छोड्ने समयमा पर्यटकको समेत भीडभाड हुने गर्दछ। केही समय अगाडिको एक मध्यान्हमा उनीहरूले ४ सय बच्चा समुन्द्रमा छोडेका थिए। यस बारेमा पहिले नै सबैलाई जानकारी गराइएको थियो र हेर्नेको ठूलो भीडभाड थियो। संरक्षणकर्ताहरूका अनुसार ती कछुवाका बच्चा हुर्कन निकै चुनौति छ । यदि कछुवाका एक हजार बच्चा छोडियो भने धेरै थोरैमात्र बाँच्ने गर्दछन्। संरक्षणको लागि समाजले चन्दा संकलन गर्ने गर्दछ तर, चन्दाका लागि करकाप गरिएको छैन।

जो कोही पनि यो अभियानमा संलग्न हुनसक्छन्। हालै झण्डै २ सयभन्दा बढी मानिस लाइनमा बसे, जसमध्ये अधिकांश बाह्य पर्यटक थिए। उनीहरूले कछुवाका बच्चा पाए र समुन्द्रमा छोड्न किनारातर्फ गए। लाइन बसेर सबैलाई तयार हुनुहुन्छ भनेर सोधेपछि एक–दुई–तीन तपाईहरुसँग भएका कछुवा छोडनुस् भन्ने गरिन्छ। ‘यो एउटा गज्जबको काम हो,’ एक विश्वविद्यालयमा अध्ययनरत अष्ट्रेलियाका १९ वर्षीय टीनगन हरकसले भने, ‘यो हामीले वालीमा गरेको एउटा राम्रो काम हो।’

(न्यूयोर्क टाइम्समा प्रकाशित समाचारको भावनुवाद)

ताजा समाचार

सम्बन्धित समाचार