Tuesday, September 17, 2024

हात्तीले जन्मायो जुम्ल्याहा छावा

१७ भदौ, काठमाडौं
म्यान्मारमा हात्तीले जुम्ल्याहा छावा जन्माएको छ । दक्षिणी म्यान्मारको बागो क्षेत्रमा गत साता जन्मिएका भाले पोथी छावा स्वस्थ छन् ।

पर्ल सान्डर नामक २१ वर्षीय हात्तीले विङ्गाबा हात्ती शिविरमा अगस्ट २६ मा (१० भदौमा) चार मिनेटको अन्तरमा क्रमशः भाले र पोथी छावा जन्माएको सो शिविरले जनाएको छ । जुम्ल्याहा छावाले दुई दिनसम्म आमाको दूध पिउन नसकेपछि शिविरका कर्मचारीले बोतलमार्फत दूध खुवाएका थिए ।

दुई दिनपछि भने उनीहरूले आफ्नी आमाको दूध चुस्न थालेपछि स्वास्थ्य अवस्था सामान्य रहेको छ । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई दुर्लभ मान्ने गरिन्छ । म्यान्मारमा सन् १९६० यता १२ वटा यस्ता दुर्लभ घटना भएका छन् । विङ्बावा हात्ती शिविरमा नयाँ र जुम्ल्याहा सहित ९ वटा हात्ती छन् ।

यसअघि गत वर्ष थाइल्यान्डमा ३६ वर्षीय जमजुरी नामको हात्तीले जुम्ल्याहा छावा जन्माएको थियो । बैंककको उत्तरी भेगमा अवस्थित अयुथया एलिफ्यान्ट प्यालेसमा गत वर्षको जेठ अन्तिम साता १८ मिनेटको अन्तरमा भाले र पोथी छावा जन्मिएका थिए । जन्मदा क्रमशः ८० र ६० किलोग्रामका ती छावा स्वस्थ छन् ।

जुम्ल्याहा छावा जन्मिएपछि जमजुरीले अस्वभाविक महसुस गर्दै सुरुका केही दिन आफ्ना सन्नतीलाई आक्रमण गरेपछि पशु प्राविधिकले स्याहारसुसार गरेका थिए । आफ्नो जीवनकालमा जुम्ल्याहा छावा नदेखेकाले आमाले बच्चालाई सहज रूपमा नस्वीकारेको बताउँदै अयुथया एलिफ्यान्ट प्यालेसका अधिकारी भन्छन्, ‘आमाले बच्चालाई आक्रमण गरे किनभने उनीहरूसँग पहिले कहिल्यै जुम्ल्याहा थिएनन्’, एलिफेन्ट स्टे संस्थाका निर्देशक मिशेल रिडीले भने ।

वन्यजन्तु विज्ञहरूका अनुसार जुम्ल्याहा हात्तीको जन्म लगभग एक प्रतिशत मात्रै हुन्छ । अनुसन्धान संस्था सेभ द एलिफन्ट्सका अनुसार भाले र पोथी जुम्ल्याहाको जन्म झनै दुर्लभ मानिन्छ।

विभिन्न एजेन्सीहरूको सहयोगमा

ताजा समाचार

सम्बन्धित समाचार