Tuesday, September 17, 2024

केरला बाढी पहिरोमा ७० जना बढीको मृत्यु

१५ साउन, काठमाडौं
भीषण बाढी पहिरोमा परेर भारतको दक्षिण तटीय राज्य केरलाको वायनाडमा १ नेपाली बालकसहित कम्तीमा ७० जना भन्दा बढीको मृत्यु भएको छ ।

वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा भारी वर्षासँगै बाढी र पहिरोले ठूलो भौतिक क्षतिसँगै जनजिवन प्रत्यक्ष प्रभावित बनेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आज विहान सबेरै (मंगलबार विहान) वायनाडको पहाडी क्षेत्र मुंडक्कई र चूरलमाला क्षेत्रमा पहिरो गएको हो ।

टाइम्स अफ इन्डिया र एनडिटीभीका अनुसार थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको छ । भीषण वर्षासँगैको पहिरोले केरलाका ४ वटा गाउँ प्रत्यक्ष प्रभावित भएका छन् । बिबीसीका अनुसार १ सय भन्दा बढी घाइते छन् ।

पहिरोले गाउँवस्ती जोड्ने मुख्य र सहायक सडकसँगै पुलहरूमा समेत क्षति पुगेपछि उद्धारमा ढिलाइ भएको छ । अस्थायी पुल बनाएर सुरक्षाकर्मी उद्धारका लागि प्रभावित क्षेत्रमा पुगेका छन् । बाढी पहिरोमा परेर ४ सयभन्दा बढी परिवार विस्थापित बनेका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

बाढी पहिरोमा फसेका २ सय ५० भन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाको खोज तथा उद्धारका लागि २ सय भन्दा बढी सैनिक तैनाथ गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत सबै प्रकारका सहयोगको प्रतिबद्धता जनाएका हुन् ।


एजेन्सीहरूको सहयोगमा

ताजा समाचार

सम्बन्धित समाचार