Wednesday, September 25, 2024

दूधको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न सरकारको निर्देशन

काठमाडौं–खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागले दूध तथा दूग्धजन्य पदाथमा हुनसक्ने मिसावट तथा गुणस्तरको अनिर्वाय परीक्षण गरेर मात्र बिक्रीवितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ।

काठमाडौं उपत्यकामा बिक्री हुने कतिपय दूग्ध उद्योगको दूधमा कोलिफर्म नामक जीवाणु र सोडा भेटिएपछि विभागले कुनै पनि बेला आकस्मिक अनुगमन हुनसक्ने र मिसावट वा गुणस्तर अनुरूप नपाइएमा खाद्य नियमावली अनुसार कारबाही हुने चेतावनी दिएको हो ।

‘दूधको स्वच्छता एवं गुणस्तरका लागि विभिन्न गुनासा आइरहेका छन्,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘दूध संकलन, भण्डारण, प्रशोधन तथा विक्रीवितरणको क्रममा हुन सक्ने मिसावटलाई रोक्न सबै दूग्ध उद्योगीहरूलाई भनेका छौं।’ उनका अनुसार दूधमा कोलिफर्म र सोडा मिसावट पाइएका २३ वटा दूग्ध उद्योगविरुद्ध मुद्दा अगाडि बढाइसकिएको छ।

प्रवक्ता वस्तीका अनुसार हाल कायम खाद्य ऐनमा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्नेलाई कारबाही एवं जरिवना न्यून रहेको छ। तर, अब भदौ १ गतेदेखि लागू हुने खाद्य ऐनले कारबाही र जरिवानाको दायरा बढाएको छ।

हाल एक हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था खाद्य ऐनमा रहेकोमा अब भदौ १ गतेदेखि ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्मको कैद सजाय वा दुबै सजाय हुनसक्ने व्यवस्था लागू हुनेछ। ‘जरिवाना र कैद सजाय बढेसँगै दूग्धजन्य पदार्थको स्वच्छता बढ्ने अपेक्षा छ,’ उनले भने, ‘त्यसबाहेक हामी नियमित अनुगमन एवं सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छाैं।’

हाल दूग्ध संकलन केन्द्र, चिस्यान लगायत क्षेत्रमा हुनसक्ने मिसावट र गुणस्तर जाँच गर्न भनिएकोमा अब विभागले ‘दूग्ध उत्पादनसम्बन्धी निर्देशिका’ बनाउने प्रवक्ता वस्तीले जनाए। ‘गोठबाटै हुनुपर्ने सरसफाइदेखि संकलन केन्द्र, चिस्यान र प्रशोधन केन्द्रले अपनाउनुपर्ने विधि/प्रक्रियालाई समेटेर निर्देशिका बनाउने छौं,’ उनले भने, ‘त्यसका लागि दूग्ध उद्योगी, सरोकारवालासँग छलफल हुनेछ।’ उनका अनुसार आगामी भदौसम्म निर्देशिका जारी हुनेछ।

दूग्ध व्यवसायीहरूले ‘भ्रमपूर्ण’ हल्लाका कारण दूधको कारोबारमा ३० प्रतिशतसम्म गिरावट आएको बताइरहेका बेला प्रवक्ता वस्तीले भने, ‘विभागले भ्रमपूर्ण हल्ला फिँजाएको छैन। प्रयाप्त नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गरेपछि रिपोर्ट सार्वजनिक भएको हो।

२३ असारमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले भनेका थिए, ‘खाद्यले अनुगमन गर्दा पनि दूधमा अखाद्य तत्वको मिसावट फेला परेको छैन। भ्रमपूर्ण हल्लाले दूग्ध क्षेत्रलाई ठूलो घाटा पुगेको छ।’

तर, नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिश संघद्वारा २४ असारमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विज्ञ दीलिप सुब्बाले दूधमा कोलिफर्म, खाने सोडा लगायतका रसायन भेटिनु मुहान नै दूषित भएको बताएका थिए। उनको भनाइ थियो, ‘सरसफाइलाई गोठबाटै प्राथमिकता दिनुपर्छ।’

ताजा समाचार

सम्बन्धित समाचार