Wednesday, September 25, 2024

राप्ती नदीमा तटबन्ध निर्माण रोकिँदा एक लाख जनता बाढीको उच्च जोखिममा

नेपालगञ्ज–बाँकेको राप्ती नदीमा तटबन्ध निर्माणको काम रोकिँदा तटीय क्षेत्रका एक लाख बासिन्दा बाढी र डुबानको उच्च जोखिममा छन्।

बहुवर्षीय ठेक्का अन्तर्गत बिनौनाको गौडदोई, फत्तेपुरको ढलैया र खल्ला झगडिया र होलियाको टेपरी क्षेत्रमा गरी १३ हजार ५० मिटर तटबन्ध निर्माणको काम सुरु भएपनि बजेट अभावमा गत जेठ पहिलो सातादेखि काम रोकिएको छ। तटबन्ध निर्माणको काम आर्थिक वर्ष २०७५-०७६ भित्र सम्पन्न गरिसक्ने भनिएको थियो।

बाँकेको राप्ती नदी किनाराका वस्तीलाई नदीको कटान र डुबानबाट जोगाउन ‘जनताको तटबन्ध कार्यक्रम’ फिल्ड कार्यालय दाङले सुरु गरेको तटबन्ध निर्माणको काम समयमै बजेट निकासा नहुँदा रोकिएको आयोजनाका प्रमुख बिनोदकुमार चापागाइँले बताए।

चापागाइँका अनुसार तटबन्ध निर्माणका लागि ७३ करोड ४० लाख आवश्यक छ। तर, १२ करोड मात्रै निकासा भएको छ। तटबन्ध निर्माणको कामलाई तीव्रता दिन तत्कालै थप करीब ३० करोड आवश्यक रहेको उनले बताए।

तटबन्ध निर्माणको ठेक्का लिएको अम्मर मल्ल जेभी निर्माण सेवाका पञ्चालक कर्ण मल्ल सम्पन्न भएकाे कामको ३ करोड समेत भुक्तानी  पाउन बाँकी रहेकाे बताउँछन्।  निर्वाचन, सरकार परिवर्तन लगायतका विभिन्न कारण देखाउँदै भुक्तानी गर्न ढिलाइ गर्दा अाफूलार्इ समस्या भइरहेकाे उनले बताए।

कटान र डुबानको उच्च जोखिममा रहेको फत्तेपुरको खल्ला झगडियामा आर्थिक वर्ष २०७४-०७५ मा सुरु भएको करीब २ हजार २ सय मिटर लामो तटबन्ध निर्माणको काम २ प्रतिशत पनि पूरा भएको छैन। २० करोड ६९ लाखको लागतमा तटबन्ध निर्माणको काम सुरु भए पनि समयमै बजेट निकासा नहुँदा तटबन्ध निर्माणको काम रोकिएको हो।

सोही क्षेत्रको अर्काे प्याकेजमा २६ करोड २७ लाखको लागतमा चालु आर्थिक वर्ष २०७४-०७५ मै सुरु भएको करीब २ हजार ८ सय मिटर लामो तटबन्ध निर्माणको कामको प्रगति पनि ३० प्रतिशत मात्रै रहेको आयोजनाका इन्जिनियर हरिश पन्तले बताए।

गत आर्थिक वर्षदेखि सुरु भएको सोही क्षेत्रमा अर्काे प्याकेज अन्तर्गतको करीब १६ करोड ५० लाखको लागतमा सुरु भएको तटबन्धको काममा पनि निर्माण व्यवसायीले समयमै भुक्तानी पाउन सकेका छैनन्। २ हजार ५ सय मिटर लामो तटबन्धको काम पनि करीब ६० प्रतिशत मात्रै पूरा भएको छ।

बाँकेको होलिया क्षेत्रमा ३ वटा प्याकेज अन्तर्गत ८ करोड २६ लाखमा निर्माण भइरहेको करीब ९ सय मिटर लामो तटबन्धको प्रगति पनि ६० प्रतिशत मात्र छ। निर्माण व्यवसायीले भुक्तानी समेत नपाएको बताइएको छ।

तटबन्धको काम रोकिँदा बाढीको जोखिम बढेको राप्ती सोनारी गाउँपालिका– ७ का वडाध्यक्ष रामलखन चौधरीले बताए। यस क्षेत्रमा वर्षेनी आउने बाढीका कारण हजारांै बासिन्दा घरबारविहीन हुने गरेको र जंगलको किनारमा आश्रय लिने गरेको उनले बताए।

वर्षाैदेखि राप्ती नदीको कटान र डुबानको चपेटामा परेका फत्तेपुरका दुर्गा पाण्डे भन्छन्, ‘मन्त्री र नेताहरूले बाढी र डुबानका बेला हेलिकोप्टरबाट डुबानग्रस्त क्षेत्रको भ्रमण गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि बजेटको कमी हुन नदिने आश्वासन दिन्छन। बाढी सकिएपछि नेताहरु फर्किएर फर्किएर आउँदैनन् ।’

राप्ती नदीको कटान र डुबानको समस्या निक्कै ठूलो भएकाले छुट्टै आयोजना कार्यालय नै स्थापना गरेर तटबन्ध निर्माण लगायतका काम बढाउनुपर्ने मागसहित मन्त्रीहरुसँग राखेपनि सुनुवाइ नभएको बाके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथकले बताए।

अबिरल वर्षापछि राप्ती नदीमा आउने बाढीले नदी किनाराका खेतबारीसँगै वस्ती कटान गर्ने र वस्तीमा पसेर बितण्डा मच्चाउदै आएको छ। यो क्रम विगत १५ वर्षदेखि दोहोरिँदै आएको छ। गत वर्षको बाढीले राप्तीको सतहभन्दा ८ दशमलव ८७ मिटरसम्म पुग्दा बाँकेमा ठूलो क्षति भयो।

बाढीबाट बाँकेमा ८ जनाको मृत्यु भयो, भने ११ सय २२ घर पूर्ण रुपमा र १५ हजार ७ सय ३७ घर आंशिक रुपमा क्षति हुँदा भयाे। करीब ८० हजार जनता प्रत्यक्ष रुपमा प्रभावित भए। गत वर्ष बाढीका कारण करीब ४ हजार हेक्टरमा लगाएको खेतीबालीमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार