Wednesday, September 25, 2024

सार्वजनिक यातायातमा नागरिकले भोग्ने १० समस्या

काठमाडौं–सरकारले केही समय अगाडि सार्वजनिक यातायातमा लामो समयदेखि कायम रहेको सिन्डिकेट हटाउने निर्णय गर्‍याे। यातायात व्यवसायी त्यसको विरोधमा उत्रिए। तर, राजनीतिक दल, सञ्चार क्षेत्र र आम नागरिक सरकारको निर्णयको पक्षमा रहे। सार्वजनिक क्षेत्रमा लामो समयदेखि रहेको भद्रगोल र बेथिति अन्त्य गर्न सरकारले लिएको कदम प्रशंसनीय थियो।

तर, सरकारको त्यो पहल लामो समयसम्म टिक्न सकेन्। न सरकारले भनेजस्तो सिन्डिकेट हट्यो न सार्वजनिक यातायात प्रणालीका कुनै सुधार नै आयो। नयाँ सरकारको गठनपछि सार्वजनिक यातायातमा समस्या घटेको होइन बरु बढेको देखिन्छ।

सार्वजनिक यातायातमा आममानिसले भोगेका प्रतिनिधिमूलक समस्या यस्ता छन्।

पुरानाे गाडी।

प्रदूषण बढाउने गाडीः सडकमा अहिले पनि विशाक्त धुँवा फाल्ने गाडीहरू गुडिरहेका छन्। सरकारले बेलाबेलामा गाडीको प्रदूषण मापदण्ड जाँच गरेको बताएपनि प्रभावकारी हुन सकेको छैन। गत वैशाखदेखि लागू भएको २० वर्ष पुराना गाडी हटाउने निर्णयको कार्यान्वयन पक्ष पनि फितलो छ। पुराना गाडीले प्रदूषण मात्र बढाएका छैनन्, आमनागरिकको यात्रालाई समेत कठिन बनाएका छन्। पुराना र मर्मत नगरिएका गाडीमा चढ्दा सर्वसाधारणलाई निकै सकस हुने गरेको छ, दुर्घटनाको जोखिम उत्तिकै रहन्छ।

ढिलाइ : सार्वजनिक यातायातमा त्यहीँ पुराना र सीमित गाडीको दबदबा छ। जसकारण ढोकामा झुण्डिएर भएपनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। गाडी बस बिसौनीमा मात्र रोक्नुपर्ने हो।

तर, मनलाग्दी रोक्ने अनि गाडीमा सीट क्षमताभन्दा बढी यात्रु राख्नाले यात्रु समयमा नै गन्तव्यमा पुग्न सकेका छैनन् । तर, ट्राफिक प्रहरीले त्यति ध्यान दिएका देखिदैन।

फोहोर: कतिपय सार्वजनिक गाडीले सरसफाइमा ध्यान दिएका छैनन् । गाडीभित्र फोहोर तथा दुर्गन्ध मात्र होइन बस्ने सीट समेत निकै पुराना र मैलो (सफा सुग्घर नभएको) देखिन्छ। यसको अनुगमन कुन निकायले गर्ने टुंगो छैन।

कार्यालय समयमा स्कुलको लागि प्रयोगः कार्यालय समयमा सार्वजनिक यातायातमा चापाचाप हुनु सामान्य हो। तर, कतिपय सार्वजनिक गाडी बिहान र बेलुकाको समयमा विद्यालयका विद्यार्थी ओसार्नका लागि प्रयोग हुने गरेका छन्।

जसले गर्दा अति आवश्यक पर्ने समयमा नै सार्वजनिक गाडी सडकमा कम गुड्ने गर्दछन्। ती गाडी एकातिर सार्वजनिक रूट परमिट पनि लिने र बढी पैसा कमाउन विद्यालयको प्रयोजनका लागि समेत प्रयोग भइरहेको छन्। यसलाई रोक्नेतर्फ सम्बधीत निकायले ध्यान दिएका छैनन्।

दुर्व्यवहार र अपशव्दः सार्वजनिक यातायातमा चढ्ने यात्रुले भोग्ने गरेको अर्काे समस्या हो–सवारी चालक र सहयोगीको दुव्र्यवहार र अपशव्द। यात्रुले केही बोल्ने बित्तिकै ‘तपाईलाई मन छैन भने बसबाट ओर्लनुस्’, ‘किन चढेको त ?’ लगायतका बोली मात्र होइन ‘तँ’ जोडिएका शव्दको सामना गर्न तयार हुनुपर्छ ।

यति मात्र होइन, धेरै यात्रु भएको बसमा पछाडी बसेको मान्छेलाई बसबाट ओर्लनको लागि निकै हम्मेहम्मे पर्छ। बसमा उभिँदा समेत ‘दायाँ फर्क, बायाँ फर्क’, ‘अझ पछाडि’ भनेर बसका सहयोगीले यात्रुलाई हैरान गरिरहेका हुन्छन्।

आरक्षण सिटको दुरूपयोग : यतिबेला सार्वजनिक यातायातमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला लगायतका लागि भनेर आरक्षण सीट छुट्याइएको हुन्छ । तर, आरक्षण सीटको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

यात्रुलाई जसरी पनि आकर्षण गर्न गाडी चालक र उनका सहयोगीले नै यो प्रभावकारी रुपमा कार्यान्वयन गरेका छैनन्। आरक्षण सीटमा अरु नै यात्रुले ओगट्ने गरेको देखिन्छ।

अस्वस्थ्थ प्रतिस्पर्धा र जोखिमः एउटै रूटमा गुडिरहेका गाडीहरूबीच कतिपय समयमा यस्तो अस्वस्थ प्रतिस्पर्धा देखिन्छ कि जसले गर्दा दुर्घटना समेत निम्त्याउने गरेको छ।

एउटै रुटका गाडी एक समयमा भेट भयो भने ‘ओभर ट्याक’ गरेर गाडी हुइँक्याइन्छ। जसले गर्दा यात्रु गाडीमा चढ्ने तथा ओर्लने समयमा निकै असुरक्षित हुने गर्दछन्। विशेषगरी नेपाल यातायातमा यो समस्या निकै देखिन्छ।

गन्तव्यमा नपुगी बीचमै छोड्ने : कतिपय अवस्थामा एउटा निश्चित गन्तव्यमा हिँडेका गाडीले बीच बाटोमै यात्रुलाई अर्काे बसको जिम्मा लगाउने गर्छन्। अर्काे धेरै यात्रु भएको गाडीमा बिरामी, वृद्ध तथा अशक्तहरुले समेत कठीन यात्रा गर्नुपर्ने हुन्छ।

भाडामा मनोमानीः सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । तर, यातायात व्यवसायीले व्यवहारमा भने लागू गरेका छैनन्। यात्रुले भाडाको विषयमा जतिबेला सहचालकसँग झगडा र वादविवाद गर्नुपर्ने अवस्था सिर्जना हुन्छ।

जेब्रा क्रसिङमा आतंकः पैदलयात्रुलाई बाटो काट्न बनाइको जेब्रा क्रसिङमा सार्वजनिक यायायातले एक प्रकारको आतंक नै सिर्जना गरेका छन्। जेब्रा क्रसिङमा नै गाडी रोक्ने गर्नाले सडक पार गरिरहेका पैदलयात्रु जोखिममा पर्ने गरेका छन्। त्यसैले जेब्रा क्रसिङबाट बाटो काट्न झनै जोखिम हुने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार