८ असोज, सुनसरी
नेपालमै एन्टी स्नेक भेनम उत्पादन हुने भएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ मा रहेको एन्टी स्नेक भेनम उत्पादन उद्योग स्थापना भएको १२ वर्षपछि सर्प पाल्ने अनुमति पाएको हो ।
उद्योग निजी क्षेत्रको लगानीमा स्थापना भएको हो । उद्योगले नेपाल सरकारबाट अनुमति नपाउँदा स्नेक भेनम उत्पादनको काम अगाडि बढ्न सकेको थिएन । स्नेक भेनम उत्पादनका लागि सर्प पाल्ने अनुमति पाएसँगै अब उद्योग सञ्चालनमा सहज हुने भएको छ । नेपालमै पहिलो पटक स्नेक (सर्प) पार्कको अनुमति पाएको उद्योगका सञ्चालक लक्ष्मीप्रसाद फुयाँलले बताए ।
उद्योगमा प्रदेश सरकार र संघीय सरकारले समेत सहयोग र सहकार्य गर्ने फुयाँलले बताए । अनुमतिसँगै उद्योगबाट पोलिभेनम र मोनोभेनम दुवै किसिमका औषधि उत्पादन गरिने छ । टोक्ने सर्प पहिचान नभएको खण्डमा पोलिभेनम औषधि उपयोगी हुन्छ । यसले सबै किसिमका सर्पको टोकाइमा काम गर्छ भने सर्पको पहिचान भएमा मोनोभेनम औषधि बढी उपयोगी हुन्छ ।
नेपालमा बर्सेनि भारतबाट करिब ६० हजार भायल भेनम नेपाल आयात गर्ने गरिएको छ । आयातलाई प्रतिस्थापन गर्दै निर्यात गर्न उद्योग स्थापना गरिएको फुयाँलले बताए । भारतको सर्वोच्च अदालतले सर्पदंशको उपचारमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनम भारतमै पर्याप्त नभएको भन्दै निर्यात नगर्न आदेश दिएको थियो ।
आदेशपछि नेपालमा उक्त औषधि अभाव भएको थियो । तत्कालीन समयदेखि नै स्वास्थ्य मन्त्रालयले एन्टी स्नेक भेनमको उत्पादनको सम्भाव्यता अध्ययन थालेको थियो । सर्प पाल्नका लागि वन मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागले अनुमति दिएको फुयाँलले जानकारी दिए । धेरै वर्षदेखि सर्पको संरक्षण गर्दै आए पनि अब उद्योगमा सर्प पाल्नसमेत बाटो खुलेको छ ।
सर्प पाल्न आवश्यक भवन तयारी गरिसकेपछि उद्योगमा विष उत्पादनका लागि आवश्यक पर्ने सर्प पाल्ने जनाइएको छ । सर्प पाल्ने अनुमति पाएपछि एन्टी भेनम भ्याक्सिनका क्षेत्रमा नेपाल पनि आत्मनिर्भर बन्न सक्ने फुयाँल बताउँछन् । उनी भन्छन्, ‘रक्तस्राव गराउने र स्नायु प्रणालीलाई असर पु¥याउने गरी सर्प २ किसिमका हुन्छन् ।’ एन्टी भेनम उत्पादन गर्न दुवै खाले सर्पलाई फार्ममा पाल्नु पर्छ ।
सर्पको विषबाट एन्टी भेनम उत्पादन गर्न सर्पसँगै घोडा, खरायो र मुसा पनि पाल्नु पर्छ । सर्पबाट निकालिएको विष सुईमार्फत घोडालाई दिएपछि एन्टीबडी (प्रतिरक्षात्मक) पदार्थ बनाउँछ । त्यसपछि सुईमार्फत घोडाको रगत तान्ने र तानेको रगतबाट प्लाज्मा निकालिन्छ । त्यसैलाई औषधि बनाउन उपयोग गरिन्छ । औषधिलाई मानिसमा प्रयोग गर्नुअघि सुईमार्फत मुसा वा खरायोमा परीक्षण गरिन्छ ।
सर्पले टोकेको उपचार गर्ने भ्याक्सिनको अभाव हुँदा तराई क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट मानिसले अकालमै ज्यान गुमाउँदै आएका छन् । नेपालमा वार्षिक रूपमा सर्पको डसाईबाट कति मर्छन् भन्ने तथ्यांक नभए पनि धेरैले सर्पको डसाइबाट अकालमै ज्यान गुमाउँदै आएका छन् ।
गोरखापत्र दैनिक