Wednesday, September 25, 2024

घोडाघोडीमा दुर्लभ १३ र संकटापन्न २६ प्रजातिका चरा

काठमाडौं–विश्व रामसार सूचीमा सूचीकृत कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा विश्वमा दुर्भल मानिएका १३ प्रजातिका चरा भेटिएका छन्।

ताल क्षेत्रमा २ सय ९९ प्रजातिका चरा रहेकोमा विश्वमा दुर्लभ मानिएका १३ र राष्ट्रियस्तरमा संकटापन्न २६ प्रजाति भेटिएको एक गणनाले देखाएको हो।

यसअघि विभिन्न समयमा हिउँद र गर्मीयाममा गरिएका गणना र पछिल्लो १ देखि ६ चैत २०७४ मा नेपाल पंछी संरक्षण केन्द्रले गरेको गणनाअनुसार घोडाघोडी ताल क्षेत्रमा ७३ प्रजातिका नयाँ चरा भेटिएका छन्।

सन् २००३ मा १ सय ४० प्रजातिका चरा पाइएकोमा सन् २०१२ मा सय २ सय २६ प्रजाति पुगेका थिए। यअसघि विश्वमै दुर्लभ १० र राष्ट्रियस्तरमा संकटापन्न १८ प्रजातिका चरा भेटिएकोमा अहिले संख्या बढेको हो।

नेपाल पंछी संरक्षण संघका सहायक फिल्ड अधिकृत हिरुलाल डगौंराका अनुसार घोडाघोडी बाहेक २२ वटा ताल रहेको यस क्षेत्रमा विश्वमै दुर्लभ मानिएको राजलाहाँचे चरा फेला परेको छ।

नेपालको चितवन राष्ट्रिय निकुञ्ज, वर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाइने राजलाहाँचे घोडाघोडी ताल क्षेत्रको चुरे भावरमा तीनवटा फेला परेका हुन्। कैलालीको वसन्ता जैविक मार्ग क्षेत्रको जंगलमा पनि राजलाहाँचे हुन सक्ने अनुमान गरिए पनि अध्ययन भने नभएको डगौंराले बताए।

यसैगरी, विश्वमै दुर्लभ मानिएको सुनोलो टोप चरा, घेघरी घाँसे फिस्टु, कैले टाउको हाँस, लघु महाचील, डंगर गीद्ध, सानो खैरो गीद्ध, गोब्रे गीद्ध, लोभीपापी गरुड, राजलाचे पनि भटिएको उनले बताए।

घोडाघोडीमा नयाँ भेटिएका चराका प्रजातिमध्ये काँढे भ्याकुर राष्ट्रियस्तरमा संकटापन्न हो। काँढे भ्याकुर नेपालमा मात्र पाइने गरेकोमा पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको डगांैराले बताए। घोडाघोडी क्षेत्रमा राजलाचे, घेघरी घाँसे खिःटे, राजधनेश लगायत प्रजातिका चरा पनि भेटिएका छन्।


विश्वमै दुर्लभ मानिएको लोभीपापी गरुड र राजलाचे गरूड। तस्बिर हिरुलाल डगौंरा

चिन्ता
घोडाघोडी ताल क्षेत्रमा चराका प्रजाति बढ्दै गएपनि संख्या घट्दै गएकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

डगाैंरा भन्छन्, ‘चराको वासस्थानमध्ये ताल क्षेत्र एउटा हो। तर, माछापालनका लागि ठेक्कामा दिइँदा चरा प्राथमिकतामा पर्न सकेका छैनन्। जसकारण चराको संख्यामा कमी आएको हो।’ योसँगै खेतमा विषादीको प्रयोग, चोरीशिकार, वनजंगल मासिनु जस्ता कारणले पनि चराको संख्यामा कमी आएको हुन सक्ने उनको भनाइ छ।

महत्वपूर्ण सूचक मानिएको हरिहाँस घोडाघोडी ताल क्षेत्रमा ३ सय ७६ वटा छन्। सन् २०१३ को गणनामा ३ सय ७४ हरिहाँस भेटिएकोमा सन् २०१८ सम्म पुग्दा संख्या २ वटा मात्र बढेका छन्। डंगौराका अनुसार ताल क्षेत्रमा १ हजार ९ सय ८५ वटा जल पंछी गणना गरिएको छ।

उनका अनुसार हरिहाँसको ‘ब्रीडिङ’ का लागि घोडाघोडी क्षेत्रमा कृत्रिम घोलहरू बनाइएको छ। साथै, चरा संरक्षणका लागि विद्यालयस्तरमा वातावरण अर्थात् ईको क्लब गठन गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए।

घोडाघोडीलाई १३ अगस्ट २००३ मा विश्व रामसार सूचीमा सूचीकृत गर्दा यहाँ हरिहाँसको संख्या १ हजार थियो।

राजलाहाँचे चरा

संरक्षण
२ हजार ७ सय २६ हेक्टर क्षेत्रफलमा रहेको घोडाघोडी रामसार क्षेत्रमा रहेका अन्य तालतलैयामा माछापालनका लागि ठेक्का नदिने निस्कर्षमा घोडाघोडी नगरपालिका पुगेको छ ।

घोडाघोडी रामसार क्षेत्रमा रहेका स–साना तालतलैयामा माछापालनका लागि यसअघि सामुदायिक वन उपभोक्ता समूहमार्फत् ठेक्का दिइँदै आएकोमा अब रोक्ने निस्कर्षमा नगरापालिका पुगेको मेयर ममताप्रसाद चौधरीले बताए।

‘तालमा माछापालन गरेपछि माछा मार्नका लागि पानी नै सुकाइने गरिन्छ, जसले घोडाघोडी तालको पानीमा पनि असर गर्छ,’ हाकाहाकीसँग कुरा गर्दै मेयर चौधरीले भने, ‘रामसार क्षेत्रमा रहेका जीवजन्तु र चराचुरुङ्गीका लागि पनि तालमा पानी रहिरहनु आवश्यक रहन्छ।’

उनका अनुसार घोडाघोडी क्षेत्रमा रहेका ठूला तालमा माछापालनका लागि ठेक्का दिइने छैन, साना तालतलैयामा पनि ठेक्का आह्वान गरिएमा पानी सुकाउन दिइने छैन।

घोडाघोडी संकटापन्न अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको बासस्थानको रुपमा चिनिन्छ। मेयर चौधरीका अनुसार नगरपालिकाले अबलम्बन गरेको नीति तथा कार्यक्रममा ‘घोडाघोडी क्षेत्रलाई संरक्षित पर्यटकीय क्षेत्रको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन’ गरिने उल्लेख छ।

मेयर चौधरी भन्छन्, ‘चोरीशिकार नियन्त्रणका लागि सामुदायिक वन, ईको क्लबमार्फत् सचेतनामूलक कार्यक्रम चलाउछौं। ताल वरपर रहेको खेतमा विषादी प्रयोगमा प्रतिबन्ध गर्न र तालमा फोहोरमैला फ्याक्नेलाई दण्डित गर्ने छौं।’

घोडाघोडी ताल क्षेत्रमा ५२ प्रतिशत वन, ३४ दशमलव ५ प्रतिशत खेतीयोग्य जमीन, ६ प्रतिशत ताल, २ प्रतिशत घाँसे मैदान, १ दशमलव ६ प्रतिशत नदी र बलौटे जमिन, ३ प्रतिशत हैसियत बिग्रेको वन तथा शून्य दशमलव ५ प्रतिशत पूर्वपश्चिम राजमार्गले ओगटेको जिल्ला वन कार्यालय कैलालीको तथ्यांकमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार