Wednesday, September 25, 2024

लापरवाहीको चरम नमुनाः दुई महिनासम्म पनि बनेन् वायु गुणस्तर मापन मेसिन

काठमाडौं– दुई महिना अगाडि बिग्रिएर थन्किएका वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू अझै बनेका छैनन्। जसका कारण देशका विभिन्न स्थानमा वायु प्रदूषणको मात्रा गणना गर्न कठिन भएको सरकारी अधिकारहरूले बताएका छन् ।

निकै तामझामका साथ जडान गरिएका १२ मध्ये ५ वटा वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू काम नै नलाग्ने गरि थन्किएका छन् ।

काठमाडौंको शंखपार्कमा रहेको मेसिनले पनि काम गर्न छोडेको वातावरण विभागले जनाएको छ। पोखराका ३ केन्द्रका मेसिन र कीर्तिपुरको एउटा मेसिनले काम गर्न छोडेपछि वायुको गुणस्तरको मापदण्ड नै जाँच गर्न समस्या भइरहेको छ ।

पोखरास्थित गण्डकी बोर्डिङ स्कूल, जल मौसम विभाग र पोखरा विश्व विद्यालयमा रहेका मेसिनमा पनि समस्या आएको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीले जानकारी दिए।

उनका अनुसार पोखराका ती मेसिनलाई अपडेट गर्न पोखराबाट डेढ महिनाअघि विभागमा ल्याइएको हो । ‘हरेक मेसिन जडान गरेको एक–डेढ वर्षमा त्यसको मापदण्ड तुलना गर्नका लागि जाँच गर्ने गरिन्छ,’ उनले भने, ‘मेसिनबाट आधिकारिक नतिजा त आउनुपर्यो नि । त्यही भएर जाँचका लागि विभागमा ल्याएका हौं।’

तर, विभागकी प्रवक्ता सफला श्रेष्ठले मेसिन ‘बिग्रिएर नभई यन्त्रको मापदण्ड जाँच्न’ का लागि ल्याइएको दाबी गर्छिन् । प्राविधिक भाषामा यसलाई क्यालिब्रेट भनिन्छ ।

‘पोखराका तीनवटै मेसिन ‘ठ्याक्कै’ बिग्रिएका होइनन्,’ उनले भनिन्, ‘ती मेसिनका गुणस्तर मापदण्ड मिलाउनका लागि त्यहाँबाट काठमाडौं ल्याइएको हो, केही दिनमा मिलाइसकेपछि ती यन्त्रहरू पोखरामा लगेर जडान गरिनेछ ।’

क्यालीब्रेट गर्न २ दिन मात्र लाग्ने भएपनि केहि सामान जर्मनीबाट मगाएर काम सुरू गर्नुपरेकाले ढिलाई भएको मेसिनको क्यालीब्रेट कार्यमा खटिएका कम्प्युटर अपरेटर जीतेन्द्र यादवले बताए ।

प्यासाफिक कम्पनीबाट आपुर्ती भएका ती मेसिन केही समय चलेपनि त्यसलाई अपग्रेड र अपडेट गर्न क्यालिब्रेट गर्नुपर्ने विभागका कम्प्युटर अपरेटर यादवले बताए । उनका अनुसार जुन ठाँउमा प्रदूषणको मात्रा धेरै हुन्छ, त्यहाँका मेसिन छिटो छिटो क्यालीब्रेट गर्नुपर्छ ।

त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा रहेको वायु गुणस्तर मापन केन्द्रमा पनि मेसिनले काम गर्न सकेको छैन ।
मेसिनका ब्याट्रिहरू चोरी हुँदा त्यहाँको मेसिनले काम गर्न छोडेको वातावरण विभागका महानिर्देशक दुवाडीले जानकारी दिए।

‘मेसीन बिग्रिएको होइन, ब्याट्रि चोरी भएको हो,’ उनले भने, ‘गत दसैंमा कीर्तिपुरको भौतिकशास्त्र विभाग नजिकै रहेको केन्द्रबाट ४ वटा ब्याट्री चोरी भएका थिए ।’ ब्याट्रि खोज्नलाई प्रहरीलाई आग्रह गरेपनि प्रहरीले. पनि प्रयास जारी राखेको बताउँदै आएको छ।
पोखरा र कीर्तिपुर बाहेक चितवन सौराहा, लुम्बीनी, पाटनको पुल्चोक इन्जिनियरिङ कलेज, काठमाडौं विश्वविद्यालय धुलिखेल, वीरेन्द्र सैनिक आवासिय विद्यालय भक्तपुर, रत्नपार्क, शंखपार्क, भैंसीपाटी आवास क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र छन् ।

विभागले ४ स्थानको मेसिन नचलेको भनिरहदा वेभसाइटबाट हेर्दा धुलिखेल र शंखपार्कमा रहेका मेसिनले पनि जानकारी दिएको पाइएन। शंखपार्कको मेसीन पनि क्यालीब्रेसन गर्ने बेला भएको उनले बताए ।
सडक विस्तार र मर्मतको काममा धेरै धुलो उडेकाका कारण शंखपार्कको मेसिन पनि जडान गरेको १ वर्षभित्रै ढिलो डाटा दिन थालेको उनले बताए।
‘यसको पनि क्यालीब्रेट गर्नुपर्ने बेला भएको छ, उनले भने, ‘पोखराको सकिएपछि शंखपार्कको गरिनेछ।’ मेसिनले केहि निश्चित समय वायु प्रदूषणका बारेमा देखाएपनि केही समयमा त्यसको सफाई गर्नुपर्ने हुन्छ। धेरै प्रदूषण भएको ठाँउमा चाडो र कम प्रदुषणको चाप भएको स्थानमा ढिलो क्यालीब्रेट गर्नुपर्छ ।

सबै मापन केन्द्रको वायु प्रदूषणका पीएम १० र पीएम २ दशमलव ५ स्टान्टर्ड मापन गर्ने गरेका छन्। जुन वायुको गुणस्तर हो । इसिमोडको सहयोमा स्थापित चितवन र रत्नपार्कका मेसिनले वायु गुणस्तरका सक्स, नक्स र ग्यासबारेमा डाटामा देखाउछ ।

वातावरण विभागले यहि असारभित्र काठमाडौं उपत्यका बाहिर ४ स्थानमा मापन केन्द्र राख्ने तयारी गरेपनि त्यसको प्रक्रिया बढ्न सकेको छैन् । इटहरी, दाङ, नेपालगञ्ज र सुर्खेतमा वायु प्रदूषण मापन केन्द्रको स्थापना गर्ने विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार