सुभाष पोखरेल
२२ साउन, काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायु प्रदूषण संसारको सबैभन्दा ठूलो पर्यावरणीय चुनौती हो । संसारका १२ प्रतिशत मृत्युको कारक दूषित हावा रहेको डब्लुएचओको ठहर छ । विषाक्त हावाका कारण बर्सेनि झण्डै ५० हजार नेपालीले अकाल मृत्युवरण गर्ने गरेको अध्ययनले देखाएको छ ।
श्वासप्रश्वाससम्बन्धी रोग मात्र होइन, बरु वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सर, मधुमेहलगायतका धेरै समस्या बढाएको छ । पहिलेदेखि नै विभिन्न रोगको कारण मानिँदै आएकोमा हालै प्रकाशित नयाँ अध्ययनहरूले दूषित वायु र ही भाँचिने समस्याबीचको अन्तर्संबन्धसमेत स्थापित गरेका छन् ।
समान दिनचर्या रहेका धनुषाका बासिन्दाका दाँजोमा राजधानीका नागरिकमा ही छियाछिया बनाउने समस्या, ओस्टिओपोरोसिस, अधिक देखिन्छ अनि हीको समस्या उकासिन्छ भन्ने सोधपत्रको निचोड देखियो । श्वासप्रश्वासमार्फत फोक्सोमा पुग्ने विशाक्त वायुले ‘रेस्पिरेटोरी’ समस्या ल्याउनु स्वाभाविक भए पनि आखिर किन प्रदूषित हावा धेरै किसिमका रोगको जड भयो त ?
कुनै पनि वस्तु बल्दा, सवारी साधनको धुवा अनि विविध कारणले पैदा हुने पर्यावरणीय धुलो विसर्जन हुँदा साना कण वायुमण्डलमा पुग्छन् । ठूला कण केही समयपछि जमिनमा पुग्छन् भने सूक्ष्म आकारका कणहरू वायुमा लामो समयसम्म सहजै घुलेर बस्छन् । हावामा रहेको सूक्ष्म धुलो धुवामा सल्फेट, नाइटे«ट, मिनरल लगायत विभिन्न किसिमका रासायनिक पदार्थहरू हुन्छन् ।
यसरी हावामा रहेका सूक्ष्म रासायनिक पदार्थ श्वासप्रश्वासका क्रममा हाम्रो शरीरमा पुग्छन् । अलि ठूला आकृतिका अणुहरू फोक्सोमा पुग्छ अनि आफ्नो खराब असर देखाउन थाल्छन् । तर ०.१ माइक्रोनभन्दा साना कणले आफ्नो दुष्चरित्रको सीमालाई त्यहीँ रोक्दैन बरु बहुआयामिक हानि पु¥याउन फोक्सोलाई छिचोल्दै रक्त सञ्चार प्रणालीमा पुग्छ। यसरी रगतमा पुगेका सूक्ष्म कण रक्त सञ्चारमार्फत शरीरका प्रत्येक अंगमा पुग्छन् ।
विषाक्त हावामा रहेका तत्त्वहरू रगतमार्फत शरीरका विभिन्न कोषमा पुगेपछि रासायनिक प्रतिक्रियामार्पmत फ्रि रेडिकल बनाउँछन् । अस्थिर रासायनिक तत्त्व भएकाले कोषमा रहेको अणुवांशिक पदार्थ, डिएनए, आरएनए, प्रोटिन, इन्जाइमलगायत सबै किसिमका शारीरिक तत्वसँग मिल्छ ।
दुर्भाग्यवस भष्मासुर चरित्रको फ्रि रेडिकलले देखाउने व्यवहार सबै अनिष्ट हुन्छन् । आनुवांशिक पदार्थमा जीवको अस्तित्व कायम रहने भएकाले डिएनएमा क्षति पुगेपछि क्यान्सरलगायतका विभिन्न रोग भित्रन्छन् ।
त्यस्तै इन्जाइममा खराबी आएपछि शारीरिक प्रक्रिया अवरुद्ध हुन्छ । बायोलोजिकल रियाक्सनमा रुकावट आएपछि रोग लाग्छन् । दूषित हावामा रहेका तत्त्वले शरीरको कुन जैविक पदार्थसँग प्रतिक्रिया ग¥यो त्यसैअनुरूपको रोग लाग्छन् । डिएनएमा प्रहार भए क्यान्सर जस्ता महारोग लाग्छ भने कमजोर संयन्त्रहरू प्रभावित भएको खण्डमा अल्पकालीन समस्या बेहोर्नुपर्ने हुन्छ ।
अल्पकालीन वायु प्रदूषणले शरीरलाई खासै समस्या पार्दैन । तर दीर्घकालीन खराब हावाले भौगोलिक इलाकाका सबै बासिन्दालाई प्रभावित पार्छ । काठमाडौँको विषाक्त हावाले पार्ने प्रभाव महल र झुपडीमा खासै फरक पर्दैन । युनिभर्सिटी अफ शिकागोको इनर्जी पोलिसी इन्स्टिच्युटले वर्गीकृत गरेको २ सय ५२ देशमध्ये वायु प्रदूषणको हिसाबले नेपाल तेस्रो स्थानमा छ ।
बंगलादेश र भारतपछि रहेर प्रदूषणको कास्य पदकको दाबी गर्ने अवस्थामा छ नेपाल । नेपालले आफ्नो हावाको स्तरलाई डब्लुएचओको मापदण्डमा ल्याउन सक्ने हो भने नेपालीको सरदर आयु ४ वर्ष ७ महिना बढ्ने अवधारणा एयर क्वालिटी लाइफ इन्डेक्स प्रतिवेदनको छ ।
खाना पकाउन प्रयोग गरिने दाउरा र गोबरका गुइँठा अनि कृषि उत्पादनको अवशेष बाल्ने प्रवृत्तिले गाउँको हावा विषाक्त बन्छ । अव्यवस्थित बसाइँ सराइका कारण जनसंख्या अत्यधिक बढ्दा सहरमा वायु प्रदूषण उकासियो । सन् १९९० देखि २०१५ सम्म आइपुग्दा काठमाडौँको जनसंख्या ३ गुणा बढ्यो । अनि पछिल्लो समयमा उक्त रेखा अझ उकासिँदो छ ।
बढदो जनसंख्याको चापलाई धान्न बाल्नुपर्ने अर्गेनिक फ्युलका कारण राजधानीको वायु प्रदूषण उकासियो । काठमाडौं मात्र होइन सबै सहरमा प्रदूषण बढ्यो । ज्ञात रहोस्, काठमाडौंको वायु प्रदूषण डब्लुएचओले निर्धारण गरेको मापदण्डभन्दा झण्डै ५ गुणा बढी छ ।
सन् २००७ मा युनिभर्सिटी अफ ओस्लोका प्राध्यापक कारी अल्भरको समूहले पहिलो पटक वायु प्रदूषणले ज्येष्ठ नागरिकको हीमा लवणको मात्रा घटाउने बेहोराको अन्वेषण ओस्टियोपोरोसिस इन्टरन्यासनल जर्नलमा प्रकाशित गरे । त्यसको झण्डै ३ वर्षपछि अल्भरले नै धूमपान गर्ने समूहमा ही भाँचिएर इलाज गर्ने अनुपात अर्को समूहको दाँजोमा अधिक रहने बेहोरा सार्वजनिक गरे । यसरी नर्वेजियाली समूहले पहिलो पटक हावाको स्वच्छता र हीको स्वास्थ्यबीचको अन्तरसम्बन्ध स्थापित गरे। अनि यो नवीन अन्वेषणप्रति अन्य अनुसन्धान समूह आकर्षित भए ।
अमेरिकाको माउन्ट साइनाइ अस्पतालका वैज्ञानिकहरूले झण्डै १ करोड प्रौढ समूहको बासस्थानको वायु प्रदूषण र नागरिकको अस्थिपञ्जर स्वास्थ्य अध्ययन गर्दा हावामा खरानीको मात्रा अधिक भएको सहरमा बस्ने बासिन्दाको ही कमजोर हुने निष्कर्षसहितको नतिजा सन् २०१७ मा लान्सेट जर्नलको प्लानिटरी हेल्थमा छपाए ।
स्वतन्त्ररूपले भारत, चीन र अमेरिकामा गरिएका फरक फरक अध्ययनले अधिक वायु प्रदूषण हुने स्थानमा बस्ने मानिसको ही भाँचिने संभाव्यता अत्यधिक बढी हुने देख्यो । त्यस्तै गत वर्ष झण्डै २ लाख रजस्वला रोकिएका महिलामा गरिएको अन्वेषणले उक्त समूहमा वायु प्रदूषणको असर अधिक रहने मात्र भनेन बरु दूषित हावाका कारण उनीहरूको ही जीर्ण हुने सम्भाव्यता अधिक पायो ।
यसरी पृथक स्थान, समूह र वर्णमा गरिएका दर्जनौँ अनुसन्धानले हावामा रहने धुलो धुवाँको मात्राले बासिन्दाको हाडको स्वास्थ्यबारे बताउने देखियो ।
पुराना कोषलाई नयाँले प्रतिस्थापन गर्नु प्रकृतिको नियम हो । त्यही नीतिका कारण घाउ, चोटपटकपछि व्यक्ति निको हुन्छ, पूर्वावस्थामा फर्कन्छ । उक्त नियमको अपवाद अस्थिपञ्जर प्रणाली पनि होइन नै । चोटपटक लाग्दा नयाँ कोषहरूमार्फत ही सकुशल बन्छ ।
हीमा चोटपटक लाग्दा बायोलोजिक संयन्त्रले छिटोभन्दा छिटो उक्त समस्या समाधान गर्न भन्छ । उक्त आदेशपछि बिउका रूपमा विशेष चरित्रको कोष ओस्टियोब्लास्ट निर्माण हुन्छ । सानो संख्यामा रहेका ओस्टियोब्लास्टको निरन्तर परिमार्जन र विभाजन हुन्छ अनि हीका कोष बन्छन् । पर्याप्त मात्रामा हीका कोष बनेपछि कैफियतपूर्ण भाग सकुशल बन्छ । तर वायु प्रदूषण अत्यधिक हुँदा उक्त सामान्य शारीरिक प्रक्रियामा तगारो लाग्छ ।
हावामा रहेका विषाक्त रासायनिक तत्त्वले हीमा कैफियत भएको सन्देश दिने बायोलोजिकल संयन्त्रलाई निस्तेज पार्छ । अनि सही सूचना नपाउँदा शारीरिक प्रक्रियाले आवश्यक कोष निर्माण गर्न सक्दैन । अनि पहिलेदेखि नै कमजोर हीमा थप छिद्र बन्छन् । हातखुट्टा भाँचिन्छ । तसर्थ शुद्ध हावामार्पmत मजबुत शरीर बनाउन सकिने देखियो ।
शुद्ध वायुका अतिरिक्त ही बलियो बनाउन खानपिनमा समेत ध्यान दिनुपर्छ । क्याल्सियम, प्रोटिन, भिटामिन डी र कसरतमार्फत हातगोडा मजबुत बनाउन सकिन्छ । तर दूषित हावालाई शुद्ध बनाउन व्यक्तिको एक्लो प्रयासले सम्भव हुँदैन, कानुनी परिमार्जन आवश्यक पर्छ । परिमार्जन चुलो अनि जनचेतनामार्फत गाउँको प्रदूषण नियन्त्रण गर्न सकिन्छ ।
सहरमा साना गाडीको बदला ठुला यातायात साधन, ग्यासको बदला बिजुली चुलोको प्रयोग अनि कलकारखानाको उचित व्यवस्थापनमार्फत स्वच्छ हावाको प्रत्याभूति गर्न सकिन्छ । जनचेतना र सरकारी प्रयासलाई सँगै लान सके वायु प्रदूषण नियन्त्रण गरी नेपालीको स्वास्थ्य सबल बनाउन सकिन्छ ।
नागरिक दैनिकमा प्रकाशित । पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।