Monday, June 24, 2024

वाग्मती चिहाउने कि बचाउने?

६ जेठ, काठमाडौं

विश्वमा कैयौं देश छन्, जो नदी किनारमै बर्सेनि लाखौं पर्यटक तानिरन्छन् । नदीमै क्रूजको यात्रा दिनरात गरिरहन्छन्, गराइरहन्छन् । नदी पनि सफा बगिरहन्छ । नदी किनारको शृङ्गारपटार त बखान गरिसाध्ये छैन । नदी किनार भनेर के गर्नु योजनाबद्ध विकासले भव्य बनाएका छन् । हरियाली उस्तै, रंगीचंगी फूलहरू फुलेको उस्तै । त्यहाँका बगैंचा त हेर्दै लोभलाग्दा । नदी किनारमा न धुलो न धुँवा । चिटिक्क पारिने ती नदी किनारको सरसफाइ झनै लोभलाग्दो । त्यहाँ बनाइएका पार्क देख्दा पनि पसिहालूँ, बसिहालूँ लाग्ने खालका । दिनमा यस्ता ती नदी किनार रात्रिकालीन समयमा त झनै विशेष हुन्छन्, लोभ्याउने । बत्तीको अनेक प्रयोगले आकर्षण गर्ने त छँदै छ, मनोरञ्जनसँगै व्यापार पनि सोचेभन्दा बढी ।

ठ्याक्कै विपरीत छन् नेपालका नदी किनार । भौतिक संरचना त निर्माण गरिएकै छैनन् भने पनि हुन्छ । अन्तको कुरा गर्नु त बेकार नै छ, देशको राजधानी काठमाडौं उपत्यकाका नदी र तिनका किनारको पनि बेहाल उस्तै छ, पछिल्ला वर्ष केही ठाउँमा कालोपत्रे बनेको बाहेक । नदीहरूमा कालो लेदो बग्नु सामान्य लाग्छ हामी नेपालीलाई । नदीमा ढल मिसाउनु कुनै अप्ठ्यारो वा असजिलो हुँदैन हामीलाई । फोहोर फाल्नु पनि लाजलाग्ने विषयमै पर्दैन राजधानीकै बासिन्दा भए पनि हामीलाई । कति भने नेपालको सभ्यता प्रतिबिम्बित गर्ने वाग्मती नदी ११ वर्षदेखि निरन्तर सफाई गर्नेहरूको एकातिर भरमग्दुर प्रयास चलिरहेकै छ स्वयंसेवी भावनाबाट । अर्कोतिर ढल मिसाइदिने घरधनी, ढल नदीमा हाल्न दिन रोक्नुपर्छ भन्ने मानसिकता नभएको सरकार र नदी त हो नि यहाँ फोहोर फालेर के हुन्छ ? भन्ठान्ने राजधानीवासी । त्यसमाथि वाग्मती सफाईको नाममा किनारमा आएर नदी चिहाएर भाषण ठोक्ने नेताहरू ।

एकातिर वाग्मती र अन्य नदीनाला सफा गर्ने र निरन्तर गरिरहनुपर्छ भनेर सबै काम छोडेर ढल मिसिएको कालो लेदोमा नघिनाइ अभियन्ता बनेर सफा गर्ने पवित्र मनहरू अर्कोतिर कुनै दायित्व नै छैन, जे गरे पनि हुन्छ भन्ने भाष्य पालेका मनमौजीहरू । एकातिर गोजी टक्टक्याएर नदी सफाईमा खर्चिने मनहरू अर्कोतिर सरकारी बजेटसँगै दाताबाट डलरसमेत ल्याएर पनि त्यसैमा लुछाचुँडी गर्नेहरू । कम्तिमा सरकारले गर्नुपर्ने झन्डै करोड बढीको काम नागरिक तहबाट भइरहँदा सरकारको नेतृत्व गर्ने दलीय नेतालाई अलिकति मन चस्ससम्म नहुनुचाहिँ ठूलै बिडम्बना होइन र !

सरकारले कम्तिमा होस्टेमा हैंसे गर्दिएको भए त बागमती नदीले हाँसीहाँसी बग्न पाउँथ्यो नि ! नेपालको सभ्यता र संस्कृति बोकेर पनि रोएर बगिरहनुपर्ने वाग्मती नदीको निरीहता आखिर कतिञ्जेल ? के वाग्मती रोइरहँदा कुनै नागरिक हाँसिरहन सक्छ ? के सरकारमा पुग्ने दलका नेताहरूलाई वाग्मती र अन्य यस्तै दुर्गन्धित नदीहरू र तिनका कुरूप किनारहरूलाई यसै अलपत्र पारेर कुर्सीको सौदाबाजी गरिरहन छुट छ ? छैन भन्ने यदि कुनै दललाई लाग्छ भने आजैदेखि वाग्मती नदी सफा बगाउन्, किनारहरू हराभरा बनाउन् ।

अन्नपूर्ण पोस्ट दैनिक

ताजा समाचार

सम्बन्धित समाचार