Sunday, May 19, 2024

स्वच्छ सास लिन सङ्घर्ष

डा. प्रकाश बुढाथोकी 
काठमाडौं उपत्यकाको वायु अस्वस्थ छ । देशका सयौं स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि वर्षा पनि हुन सकेको छैन । आकाशमा रहेका धुलोका कणहरूले वायु अस्वस्थ बनिरहेको छ । यसैले केही महिनादेखि काठमाडौं सहर विश्वका प्रदूषित सहरमा पर्छ । तथ्यांकले दसौं स्थानभित्रै पर्नु एकातिर दुःखदायी कुरा भयो भने अर्कोतिर स्वास्थ्य जोखिममा परेको स्पष्ट पार्छ । सरकारसँग वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन छैन । संविधानमा स्वच्छ वातावरणमा बाँच्न पाउनु नागरिकको मौलिक हक हो भनिएको छ ।

काम गर्न स्वस्थ शरीर चाहिन्छ । स्वस्थ शरीरका लागि सन्तुलित भोजन, व्यक्तिगत सरसफाइ र वरिपरिको वातावरण पनि सफासुग्घर हुनुपर्छ । हिजोआज वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण (कोलाहल), घरभित्रको प्रदूषणजस्ता शब्द आधुनिक जीवनका लागि गम्भीर समस्या बनेका छन् । शुद्ध हावामा हानिकारक पदार्थ मिसिन गई जीवजन्तु र बोटबिरुवामा समेत नराम्रो असर परिरहेको छ । वायु प्रदूषणमा हावाले उडाउने धुलो, फूलका परागकण, ज्वालामुखी आदि प्राकृतिक प्रदूषक पर्छन् भने मानव सिर्जित वायु प्रदूषणमा बढ्दो सवारीसाधन, गुणस्तरहीन पेट्रोलियम पदार्थ, मर्मतसम्भारविहीन सवारीसाधन, अव्यवस्थित र साँघुरा सडक, सयौं उद्योगको धुवाँ, घरमा दाउरा बाल्दा निस्कने धुँवा, इँट्टाभट्टा आदि पर्छन् ।

मुख्य वायु प्रदूषणमा १० माइक्रोनभन्दा साना धुलोको कण– पी.एम. १०, सल्फरका अक्साइडहरू, नाइट्रोजनका अक्साइडहरू, कार्बनडाई तथा मोनो अक्साइड, लिड, ओजन, हाइड्रोजन छन् । वार्षिक ५० हजार टनभन्दा बढी घातक प्रदूषित ग्याँस थपिन्छन् । त्यसैले अहिले विशेषतः काठमाडौं उपत्यकाको वातावरण बिग्रिएको अवस्थामा छ । राजधानीको वायु प्रदूषणको झन्डै आधा हिस्सा सवारीसाधनको धुवाँले लिएको छ ।

विपद्कै रूपमा वायु प्रदूषण 
उपत्यकामा बढ्दै गरेको प्रदूषणको अवस्था हेर्दा भोलिका दिनमा हामीले स्वच्छ हावा लिन क्लिन एयर ब्याग बोकेर हिँड्ने दिन नआउला भन्न सकिँदैन । नेपाल विश्वका दुई ठूला र अति धेरै वायु प्रदूषण उत्सर्जन गर्ने मुलुक चीन र भारतबीच अवस्थित छ । वरिपरिको वातावरणले पार्ने प्रभावले पनि नेपाल यसै मारमा परेकै छ ।

नेपाल सरकारले २०७६ मा पारित काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले वायु प्रदूषण सूचकांक ३ सयभन्दा बढी भएको अवस्थालाई विपद् मान्न सकिने उल्लेख छ । जुन खतरनाक र आपत्कालीन अवस्था हो । विगतमा पनि दुईपटक आपत्कालीन अवस्था आएको र विद्यालय बन्द, सवारीसाधनमा कटौतीलगायत न्यूनीकरणका उपाय अवलम्बन गर्नु परेको थियो ।

सासका लागि पनि संघर्ष 
मानव शरीरका लागि नभई नहुने तत्व हो अक्सिजन । जसका लागि हरेक मानिसले दिनमा करिब २२ हजार पटक सास फेर्छ । यसका लागि २५ किलो शुद्ध हावा जरुरत पर्छ । स्वास्थ्य मन्त्रालयको ढोकैमा २०२३ मा झुन्ड्याइएको ‘हेपा फिल्टरजडित कृत्रिम फोक्सो’ १५ दिनमै कालो भयो । जनचेतनाका लागि उक्त फोक्सो पृथ्वी दिवसका दिन उपत्यकाका विभिन्न स्थानमा राखियो ।

यसले अनेकन संक्रमण हुने, रोग बढ्नेमात्रै नभई आयु नै ४.१ वर्षले घटाएको देखाएको छ । १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटी हरेक दिन प्रदूषित हावामा सास फेर्छन् । उनीहरूको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पारिरहेको छ । जसले हरेक १० जनामा १ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन बताउँछ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण हरेक वर्ष ७० लाख तथा नेपालमा ४२ हजार १ सयको अल्पायुमै मृत्यु हुने गरेको छ । संवेदनशीलतालाई हेरेर सूचकांक ० देखि ५० लाई राम्रो, सूचकांक ५१ देखि १ सयलाई मध्यम, १ सय १ देखि १ सय ५० लाई संवेदनशील मानिन्छ । सूचकांक १ सय ५१ देखि २ सयलाई अस्वस्थ र २ सय १ देखि ३ सयलाई धेरै अस्वस्थ मानिन्छ । सूचकांक ३ सयभन्दा माथिलाई विपद् वा आपत्कालीन अवस्था मानिन्छ । स्टेट अफ ग्लोबल एअर २०२० का अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा ४२ हजार जनाको मृत्यु भएको थियो । जसमा १९ प्रतिशत ५ वर्षमुनिका, २७ प्रतिशत ७० वर्षमाथिका थिए ।

स्वास्थ्यमा अल्प तथा दीर्घकालीन गरी दुई किसिमले असर पार्छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम, स्मरण शक्तिमा ह्रास, खाना नरुच्नेजस्ता समस्या ल्याउँछ । गर्भवती तथा गर्भको शिशुमा असर परी समयपूर्व शिशु जन्मने, कम तौल भएका बच्चा जन्मने खतरा हुन्छ । एलर्जी, नाक, कान, घाँटीको संक्रमण, खोकी, थकान, आँखा सुक्खा, आँखा पोल्ने, रातो हुने तथा लामो समयसम्म प्रदूषणमा भए ५० वर्ष नपुग्दै दम लाग्ने हुन सक्छ । मुटुको रक्तनली ब्लक हुन सक्छ । श्वास नली, छाला तथा फोक्सोको क्यान्सर बनाउन सक्छ। पक्षाघात र मस्तिष्कघातको खतरा बढ्छ । श्वासप्रश्वाससम्बन्धी समस्या जटिल बन्दै जाँदा सास फेर्न संघर्ष गर्नुपर्ने अवस्था निम्तिन्छ ।

बढदो वायु प्रदूषणले कोभिड—१९ लगायतका खोपको प्रभावलाई एन्टिबडी आईजी एम र जीलाई १० प्रतिशत कम गर्दिन्छ । उक्त तथ्य कोभिड खोप लगाएका ४० देखि ६५ वर्षका ९ सय २७ मानिसबाट २०२०देखि २०२१ गर्मीसम्म दुवै मात्रा खोप लगाइसकेकाबाट संकलित तथ्यांकमा छ । वायु प्रदूषणले एलर्जी र दममा देखिए जस्तै टी हेल्पर लिम्फोसाइट टाइप १७ जस्ता प्रतिरक्षा प्रतिक्रियाका कारक बढाउँछ । एन्टिभाइरल प्रतिरक्षा प्रतिक्रियालाई बिगार्छ र खोपको प्रभावकारिता तथा रोगको पनि जटिलता बढाउने गर्छ ।

धूलोधुवाँका कणले वायुमण्डलको ओजन तह नष्ट गरी सूर्यका हानिकारक विकिरण सीधै आइरहेका छन् । जसले आँखा, छाला, मोतीबिन्दु र क्यान्सर बढाइरहेका छन् । छाला, आँखा, श्वासप्रश्वास र मुटुरोगीहरूको संख्या तथा गाम्र्भीयतामा भएको बढोत्तरीमा पनि प्रदूषण जिम्मेवार देखिएको छ । तसर्थ स्वास्थ्य संस्थामा यस्ता बिरामीको बढोत्तरी हुनासाथ वायु प्रदूषण बढिरहेको संकेत गर्छ ।

अन्त्यमा, नेपालमा हाल सूचीकृत विपद्ले भन्दा यसले बढी दैनिक १ सय बढीको मृत्यु हुन्छ । कचौराजस्तो उपत्यकामा सदाबहार समस्याका रूपमा रहेको वायु प्रदूषणले ल्याउने विपद्लाई सरकारले सूचीकृत गरी तत्सम्बन्धी नीति र कार्यक्रम ल्याउन ढिला भएको छ । सरकारले प्रदूषण शुल्क भनेरै नेपाल भित्रिने पेट्रोल, डिजेलबाट प्रतिलिटर रूपैयाँ उठाउने गर्छ । मुलुक आर्थिक रूपमा गरिब भएर यस्तो विसंगति देखिएको कदापि होइन । आर्थिक समस्याभन्दा पनि योजनाविहीनताले असर पारेको स्पष्ट देखिन्छ । घरमा बस्ने सार्वभौम नागरिकदेखि वडास्तरमा काम गर्ने महिला, जनप्रतिनिधि तथा संघसंस्था सबै सरोकारवाला जागरूक बन्नैपर्छ । अन्यथा घरभित्र तथा काममा निस्कँदा सास फेर्न घरबाटै झोलामा स्वस्थ हावा बोकेर हिँड्ने दिन आउनेछन् ।

बुढाथोकी नेपाल चिकित्सक संघका उपाध्यक्ष हुन्,अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित।

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान