Wednesday, September 25, 2024

कैलालीका नदीमा सहजै देखिन थाले डल्फिन

काठमाडौं–जलस्तर बढेसँगै कैलालीको मोहना, काँढा र पथरैया नदीको त्रिवेणीमा विश्वमै दुर्लभ मानिएको जलचर प्राणी डल्फिन देखिन थालेका छन्।

तस्बिर : नविन चौधरी

डल्फिन संरक्षण उपकेन्द्र नारायणपुरका अध्यक्ष भोजराज ढंगानाका अनुसार मोहना र पथरैया नदीको दोभान, पथरैया र काँढा नदीको दोभान, पथरैया नदी र गैरीनगरको दोभान तथा मोहना नदीको राप्ती नाला दोभानमा गंगेटिक प्रजातीका १५ वटा मंगलबार देखा परेको हुन् । देखापरेका डल्फिनमध्ये ८ वटा वयश्क र ७ वटा बच्चा रहेको उनले जनाए।

‘नदीमा जलस्तर बढेसँगै डल्फिन देखा पर्न थालेका छन्, अब तीन महिना सहजै डल्फिन देख्न सकिन्छ,’ हाकाहाकीसँग कुरा गर्दै अध्यक्ष ढुंगानाले भने, ‘डुंगाको सहायतामा डल्फिनको अवलोकन गर्ने गरिन्छ।’ ती दोभानमा गत वर्ष असार ८ गते डल्फिन देखा परेकोमा असोज १५ गतेसम्म रहेका थिए।

उनका अनुसार मोहना, काँढा, कान्द्रा र पथरैया नदीमा बर्खायाममा मात्र देखिने डल्फिन कर्णाली नदी र भारतको घाँघरा नदीका हुन्। सुख्खायाममा जलस्तर ज्यादै नै न्यून हुने भएकाले त्यतै फर्केर जाने गरेको ढुंगाना बताउँछन्।

नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने गंगेटिक प्रजातीका डल्फिन सफा पानीमा बस्न रुचाउछन्। ‘अहिले देखा परेका डल्फिन कर्णालीका भएको अनुमान छ, घाँघराका डल्फिन आउन अझै समय लाग्छ होला,’ उनले भने। गत जेठ १५ गते कर्णाली चिसापानी पुलभन्दा केही उत्तरमा ४ वटा डल्फिन देखा परेका थिए।

त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मुकेशकुमार चालिसेसहितको टोलीले २०७२ मा डल्फिनको गणना गर्दा मोहना, काँढा, कान्द्रा र पथरैयाका विभिन्न स्थानमा ६२ देखि ८० वटा डल्फिन देखिका थिए।

डल्फिन पृथ्वीमा रहेका केहि धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। उसको सधैं खुसी रहन बानी र मानिससँगको मित्रवत व्यवहारले यो मानिसको प्रीय जीवको रुपमा परिचित छ।

गंगा नदीमा पाइने डल्फिनलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषित गरेको छ। डल्फिनलाई नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीको अनुसूचीमा समावेश गरेको छ।

तस्बिर : भाेजराज ढुंगाना।

संरक्षण अभियान
कैलालीमा डल्फिन संरक्षणका लागि करीब दुई दशकदेखि स्थानीय स्तारबाट प्रयास हुँदैछ। भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ को अगुवाइमा गुलेली नियन्त्रण, नदीमा विषादी प्रयोगमा रोक तथा जनचेतनामूलक कार्यक्रम गरिँदै आएको ढुंगाना बताउँछन्।

डल्फिन संरक्षण केन्द्र थापापुरका सचिव विजयराज श्रेष्ठ मोहना नदी जल क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गरिनुपर्ने बताउछन्। गत वैशाखमा टीकापुर पुगेका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र वन मन्त्री माया भट्टसँग त्यहाँका बासिन्दाले डल्फिन संरक्षण क्षेत्र घोषणा गरी पर्यटन भित्र्याउने अभियानमा सरकारले सहयोग गर्नुपर्ने बताएका थिए।

डल्फिन अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्छन।  श्रेष्ठका अनुसार ९ फिट लामो र १ सय ८० किलो तौलसम्मका डल्फिन यो क्षेत्रमा विचरण गर्ने गर्छन। अहिले डल्फिन हेर्न आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन्।

गत वर्ष मात्र ६ जना बाह्य पर्यटक र तीन सय विद्यार्थीले डल्फिन अवलोकन गरेको ढुंगानाले बताए। अब डल्फिन संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन सरकारसँग अनुरोध गरिरहेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार