Tuesday, September 24, 2024

बाढी सम्भावित क्षेत्रमा एनसेलको एसएमएस, टेलिकमको सेवामा ‘प्राविधिक समस्या’

लगातारकाे झरीले डुवानमा परेकाे कैलालीकाे भजनी नगरपालिका माेहनपुर।

काठमाडौं– देशभर झरी पर्नुका साथै मुख्य नदीहरूमा बहाव बढ्न थालेपछि जल तथा मौसम विज्ञान विभागले एनसेलसँग सहकार्य गरी सम्भावित बाढीको पूर्वसूचना मोबाइलमा एसएमएसमार्फत् उपलब्ध गराउन थालेको छ।

सोमबार चितवनको रिउखोला, बर्दियाको बबई, कर्णाली चिसापानी, पश्चिम राप्ती र नारायणी लगायतका नदीमा बहाव बढेपछि सो क्षेत्रका करीब ६० हजार मोबाइलमा पूर्वसूचनाको एसएमएस पठाइएको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए।

उनका अनुसार चितवनस्थित रिउ खोलामा बाढी आउनु पूर्व माडीका १० हजार मोबाइलमा एनसेलमार्फत् एसएमएस पठाइएको हो, बबई नदीमा जल सतह सतर्कताभन्दा माथि नाघेपछि बर्दियासहितका क्षेत्रमा करीब ५० हजार एसएमएस गरिएको छ।

यसैगरी, कर्णाली चिसापानी नदीमा जलसतह बढ्न थालेपछि सो क्षेत्रमा पनि एसएमएस गरिएको र नेपालगञ्ज लगायतका डुवानमा परेका क्षेत्रमा पनि एसएमएस गर्ने काम भइरहेको उनले बताए। ‘एकीन तथ्यांक आउन बाँकी छ,’ उनले भने, ‘सम्भावित जोखिम हेरेर एसएमएस सेवा जारी रहन्छ।’

विभागले सम्भावित बाढीपहिरोबारेका पूर्वसूचना मोबाइलमा एसएमएसमार्फत् उपलब्ध गराउने गरी गत वर्ष नेपाल टेलिकम र एनसेलसँग सम्झौता गरेको थियो। जुन सम्झौता असार मसान्तसम्मका लागि मात्र हो। अर्काे सम्झौता चाँडै नै हुने उनले जनाए।

विभागको बाढीपूर्वानुमान महाशाखाले नदीमा तीन दिनसम्मको जल सतहबारे प्रक्षेपण गर्दै आएको छ। नदीमा पानीको सहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले भिन्ना भिन्नै विषयवस्तु एनसेललाई दिन्छ र त्यहीअनुरूप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरूलाई सर्टकोड एसएमएस पठाउछन्।

सोमबार देशका विभिन्न स्थानमा बाढीको जोखिम बढेका बेला एनसेलमार्फत् एसएमएस गरिए पनि नेपाल टेलिकमको सेवामा भने प्राविधिक समस्या देखिएको शर्माले बताए। ‘प्रभावित क्षेत्रमा टेलिकममार्फत् एसएमएस पठाउन प्राविधिक समस्या आएको छ,’ उनले भने, ‘टेलिकम र विभागका प्राविधिकबीच छलफलको तयारी हुँदैछ, भोलिसम्म सेवा सुरु हुन्छ होला।’

महानिर्देशक शर्माका अनुसार अहिले मुलुकभर मनसुन सक्रिय भएपछि झरी परिरहेको हो। आगामी तीन दिनसम्म पानी पर्न सक्ने पूर्वानुमान गरिएको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार