११ मंसिर, काठमाडौं
चक्रीय अर्थतन्त्रका अभ्यासलाई दिगो आम्दानीको पाटो बनाउने ज्ञान र अनुभव साट्न काठमाडौँमा सम्मेलन सुरू भएको छ ।
‘नेपालमा चक्रीय अर्थतन्त्र तथा दिगो भविष्यतर्फ रूपान्तरण’ विषयक २ दिने सम्मेलन व्यक्ति, समुदाय र सरकारका विभिन्न निकायमा अर्थतन्त्र विभिन्न पाटोलाई जोड्न केन्द्रित छ । परम्परागत ज्ञान, अभ्यास र सूचना प्रविधिलाई जोड्न यस्तो जमघट भएको हो ।
खेर गएका वस्तु तथा सामग्रीलाई पुनः प्रयोग गर्ने विधि अंगाल्दा फोहोरको मात्रा घट्ने, वातावरण संरक्षणमा टेवा पुग्ने, व्यक्ति र संस्थाले आम्दानी गर्न सक्ने उत्पादन तथा विधि सम्मेलनको प्रदर्शनीमा राखिएका छन् । यो अवधारणामा केन्द्रित रहेर सामूहिक छलफल र अन्तरक्रियाका सत्रहरू तय गरिएको छ ।
चक्रीय अर्थतन्त्र निर्माणमा आवश्यक साझेदारीलाई प्रोत्साहन गर्न यो महत्वपूर्ण जमघट हुने सम्मेलन आयोजक वन्यजन्तु सरक्षण संघको बुझाइ छ । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य असर न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए ।
नेपालको दिगो विकास लक्ष्यहरू प्राप्त गर्न चक्रीय अर्थतन्त्रका अभ्यास अपरिहार्य रहेको बताउँदै उनले भने, ‘हामीले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि संरक्षणमा काम गर्ने सबै दातृ निकायको सहयोग आवश्यक छ ।’
नेपालका लागि यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जोले प्रकृतिलाई पहिलो प्राथमिकतामा राख्दै चक्रीय अर्थतन्त्रलाई अंगाल्नुपर्ने बताइन् । चक्रीय अर्थतन्त्रलाई आम्दानी र लेव्यवसायमा जोड्दा विपन्नदेखि विभिन्न तहका व्यक्तिहरूले लाभ प्राप्त गर्ने उनको भनाइ छ ।
परम्परागत ज्ञानसँगै नविनतम् विधि अंगाल्दा परिणाम राम्रो र दिगो बन्ने बताएकी लोरेन्जोले भनिन्, ‘चक्रीय अर्थतन्त्रमा व्यवसायीहरू, संघ संस्था र सरकार एक्लै सफल बन्न सक्दैनन् ।’ वातावरणविद् भूषण तुलाधरले चक्रीय अर्थतन्त्रको जरा समाजभित्रै भएको उल्लेख गर्दै यसका लागि प्रकृति र संस्कृतिलाई जोड्नुपर्ने धारणा राखे ।
सम्मेलनमा विभिन्न सरकारी र दात्तृ निकायका प्रतिनिधि, युवा उद्यमी, विश्वविद्यालयका विद्यार्थी र अन्य सरोकारला सहभागी छन् ।