Tuesday, September 24, 2024

प्राकृतिक प्रकोपबाट सात वर्षमा १२ हजारको मृत्यु

काठमाडौं–नेपालमा बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपमा परी प्रत्येक वर्ष अाैसतमा पाँच सय जनाको ज्यान जाने गरेको गृहमन्त्रालयले जनाएको छ।

गृह अन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्रको तथ्यांक अनुसार नेपालमा बाढीपहिरो, भूकम्प आगलागी, चट्याङ,   हावाहुरी, असिना, शीतलहर, हिमपहिरो लगायतका प्राकृतिक प्रकोपबाट जनधनको बढी क्षति हुने गरेको छ।

ती लगायतका प्राकृतिक प्रकोपका घटनामा परी सात वर्ष (२०६८ देखि २०७४ सम्म) काे अवधिमा १२ हजार दुई सय ३३ जनाको मृत्यु भएको केन्द्रको तथ्यांक छ। सो अवधिमा २६ हजार चार सय ५३ जना घाइते भएका छन्, भने एक हजार जना बेपता छन्।

सात वर्षकाे अवधिमा पहिरोकाे कारण सात सय ३० जनाको मृत्यु भएको छ, भने दुई सय ३९ जना बेपता भएका छन्।यसैगरी, बाढीका कारण मात्र ६ सय ६५ जनाको मृत्यु भएको छ, भने चार सय ४३ जना बेपता भएका छन्।

यसैगरी,आगलागीबाट चार सय ७५ जना, शितलहरका कारणले एक सय १६ जना र महामारीबाट ९५ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ। नेपालमा चट्याङमा परी प्रत्येक वर्ष सयभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। चटयाङ्मा परी सो अवधिमा सात सय ७३ जनाको मृत्यु भएको छ।

हिमपहिरोबाट ३२ को मृत्यु भएको र १८ बेपता भएका छन्। डुङ्गा पल्टिदा ३५ को मृत्यु,४२ बेपता भएका छन्। अविरल वर्षाका कारण ५५ जनाको मृत्यु भएको छ । हिमआँधीमा परी ३७ जनाले ज्यान गुमाएका छन्।

अचानक बाढी आउदा ४३ को मृत्यु र ३२ जना बेपता भएका छन्, भने लेक लागेर ३३ जनाको मृत्यु भएको छ। पुल भाच्चिदा दुई जनाको मृत्यु भएको छ, भने एक जना बेपता भएका छन्। पानीमा डुबेर ३३ जनाको मृत्यु तथा १५ बेपता भएका छन्।

२०६८ मा प्राकृतिक प्रकोपमा परी पाँच सय १९ जनाको मृत्यु भएको छ, भने एक सय ३२ वेपता भएका छन्। २०६९ मा तीन सय ९९ को मृत्यु भएको छ, भने ५३ जना वेपता भएका छन्। यसैगरी, ०७० मा चार सय १७ जनाको मृत्यु हुँदा एक सय ८२ जना बेपता भएको तथ्यांक छ।

२०७१ प्राकृतिक प्रकोपबाट पाँच सय ३९ जनाको मृत्यु भएको छ, भने दुई ८८ जना बेपता भएका छन्। त्यसैगरी, ०७२ मा नौ हजार दुई ७९ जनाको मृत्यु (भूकम्पसहित) भएको छ, भने दुई सय ३६ बेपता भएको तथ्यांकमा उल्लेख छ। १२ वैशाख २०७२ मा गएको भूकम्पमा मात्र ८ हजार ९ सय ७० जनाको ज्यान गएको थियो।

यसैगरी, ०७३ मा चार सय ८३ जनाको मृत्यु भएको र ४९ जना बेपता भएको जनाइएको छ।  ०७४ मा पाँच सय ९७ जनाको मृत्यु भएको छ। साे अवधिमा ६० जना बेपता भएको राष्ट्रिय आपतकालिन केन्द्रले जनाएको छ।

वर्षायाममा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका घटना बढ्ने भन्दै उद्धारका लागि सरकारले इटहरी र सुर्खेतमा नेपाली सेनाका हेलिकप्टर राखेको जनाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिवेदनअनुसार मुलुकका १८ जिल्लाका करीब दुई सय ८६ गाउँ पहिरोको उच्च जोखिममा छन्। प्राधिकरणले ती १८ जिल्लाका नौं सय ९३ गाउँको भौगर्भिक अवस्थाको अध्ययन गरेको थियो।

०७२ सालको भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरूमध्ये काठमाडौँ र भक्तपुर बाहेक गोरखा, धादिङ्ग, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर, ललितपुर, चितवन, तनहुँ, लमजुङ, सोलुखुम्बु, स्याङ्जा, पर्वत र गुल्मी पहिरोको उच्च जोखिम रहेका जिल्लामा पहिचान भएको छ।

विश्वमा भूकम्पीय हिसाबले नेपाल ११ औं जोखिमपूर्ण मुलुकमा पर्छ। बाढीबाट बढी क्षति हुने देशहरूमध्ये ३० औं स्थानमा पर्छ।

पहिरो र बाढीलगायत प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउने परिवारका व्यक्तिलाई राहत दिन तथा उद्धार कार्यका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुई अर्ब रुपैयाँ निकासा गरेको छ । अहिले कोषमा चार अर्ब १६ करोड रुपैयाँ जम्मा छ।

ताजा समाचार

सम्बन्धित समाचार