Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : ललितपुरमै पुगेन खानेपानी, गर्मीले ज्वरोका बिरामी बढे

काठमाडौँ – आजको पत्रपत्रिकामा मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो, थोपा सिँचाइ प्रणालीबाट केराखेती गरिँदै, ७५ प्रतिशत जार र बोटलको पानी दुषित, गर्मीले ज्वरोका विरामी बढे, ललितपुरमै पुगेन खानेपानी, बर्खे धान रोपाइँ सुरु लगायतका शिर्षकमा समाचार प्रकाशित भएका छन् ।
नयाँ पत्रिका
– नयाँ पत्रिकाले ‘थोपा सिँचाइ प्रणालीबाट केराखेती गरिँदै’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरिएको छ । कञ्चनपुरमा नयाँ प्रविधि ‘थोपा सिँचाइ प्रणालीबाट केराखेती सुरु गरिएको छ । केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्थाले जमिन भाडामा लिएर नयाँ प्रविधिबाट केराखेती सुरु गरेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिक
– आजको नागरिक दैनिकमा ‘मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो’ शिर्षकमा समाचार छापिएको छ । गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ । आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होइन उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको समाचारमा उल्लेख छ।

त्यस्तै नागरिकमै ‘७५ प्रतिशत जार र बोटलको पानी दूषित’ शिर्षकमा समाचार छापिएको छ । उपत्यकामा विक्री हुने जारको पानी र मिनरलवाटरमा ७५ प्रतिशत दुषित भेटिएको छ । अधिकांश पानी उद्योगहरूले सामान्य मापदण्ड पूरा नगरी भरेको जारको पानी र मिनरलवाटर दुषित भेटिएको समाचारमा छापिएको छ ।

त्यसैगरी ‘गर्मीले ज्वरोका विरामी बढे’ शिर्षकमा अर्को समाचार छापिएको छ । गर्मी र मनसुन बढेसँगै अस्पतालमा ज्वरोका बिरामी बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक औसत २० जना ज्वरोको बिरामी आउने गरेका छन् भने राजधानी कै अर्को हेल्पिङ ह्याण्डस अस्पतालमा दैनिक १५ ज्वरोको बिरामी आइरहेका छन् । अस्पतालमा आउने बिरामीकोे स्थिति हेर्दा समुदायमै ज्वरोको समस्या फैलिँदै गएको हुनसक्ने चिकित्सकहरूको अनुमान रहेको समाचारमा उल्लेख छ ।

कान्तिपुर
– आजका कान्तिपुर दैनिकमा नुवाकोट दरबार पुनर्निर्माण असोजदेखि शिर्षकमा समाचार छापिएको छ । तीन वर्षदेखि टेकोको भरमा अडिएको साततले दरबार चीन सरकारको सहयोगमा असोजदेखि पुनर्निर्माण हुने भएको छ । गत वर्ष भदौमै चिनियाँ प्राविधिकले दरबारको सर्वेक्षण गरेका थिए भने सोमबार मात्रै चिनियाँ राजदूत यु होङले अवलोकन गरेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
– अन्नपूर्ण पोस्टमा ‘ललितपुरमै पुगेन खानेपानी’ शिर्षकमा समाचार प्रकाशित भएको छ । ललितपुर जिल्लाका ११ प्रतिशत बासिन्दा खानेपानी सुविधाबाट वञ्चित रहेको पाइएको छ । राजधानीसँग जोडिएको जिल्लाका बासिन्दा खानेपानीबाट वञ्चित भइरहँदा सरकारको आँखा भने त्यसतर्फ नगएको समाचार उल्लेख छ ।

त्यस्तै ‘बर्खे धान रोपाइँ सुरु’ भन्ने शिर्षकमा अर्को समाचार छापिएको छ । असार नलाग्दै लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ । मनसुन सुरु भएसँगै भलपानी पछ्याउनुका साथै सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सुरु भएको समचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार