बर्दिया–बर्दिया जिल्लाको ठाकुरबाबास्थित गोविन्दपुर क्षेत्रका बासिन्दाले उजाडिएको वनलाई संरक्षण गरेर हराभरा र घना जंगल बनाएका छन्। स्थानीय बासिन्दाले वनजंगल फडानी, अतिक्रमण, डढेलो, चरिचरण र चोरीशिकारलाई नियन्त्रण गरेपछि खोदाउ वन पुनर्उत्पादन भइ घना जंगलमा परीणत हुँदै गएको हो।
करीब १ सय ८६ दशमलव ६८ हेक्टर क्षेत्रफलमा फैलिएको खोदाउ सामुदायिक वनमा बाघ, गैँडा र हात्तीको ओहोरदोहोर बढ्दै गएको छ। वन्यजन्तुको गतिबिधिलाई अध्ययन गर्न राखिएका क्यामरामा २ वटा पाटे बाघ समेत देखा परेका थिए।
चितुवा, निलगाइ, दुम्सी, खरायो र मयुर लगायत वन्यजन्तु तथा पंक्षी पनि देखिने गरेका छन्। खोदाउ सामुदायिक वन नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु स्याङ्चुरी जोड्ने जैविक मार्गमा पर्छ।
२०४५ सालसम्म खोदाउको वनको अवस्था राम्रै थियो। साल, साज, कुसुम, जामुन लगायतका प्रजातीका ठूलाठूला रुख थिए। विभिन्न किसिमका वन्यजन्तु र चराचुरुङ्गीहरु प्रशस्त मात्रामा विचरण गर्थे। राजनीतिक अस्थिरता, बढ्दो जनसंख्या र वसाइँसराइँको कारणले वन विनाश हुन थालेपछि स्थानीय उपभोक्ता संरक्षणमा जुटे।
समूहकी अध्यक्ष बिमलादेवी कँडेलका अनुसार वनको संरक्षणको काम २०५३ सालबाट सुरु भएको हो। एक जना वन हेरालुलाई मासिक रुपमा जिन्सी तिहाइ (माना पाथी प्रणाली) गरी वनको संरक्षणको शुरुवात भएको थियो। नेपालमा सामुदायिक वन गठन गरेर संरक्षण गर्ने अभियान नै सुरु भएपछि यहाँका स्थानीय उपभोक्ताले २०६० मा समूह गठन गरी जिल्ला वन कार्यालय, बर्दियामा दर्ता गरे। वनले २०६२ मा सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिदियो।
उपभोक्ताले संरक्षण सुरु गरेसँगै काठ दाउराका लागि हुने वन फडानीमा कमी आयो। चोरीनिकासी, वन अतिक्रमण पनि रोकिन थाल्यो। संरक्षणकै कारण समूहले जिल्ला वन कार्यालय, बर्दियाबाट उत्कृष्ट सामुदायिक वन तर्फको प्रथम पुरस्कार समेत प्राप्त गरिसकेको छ।
तीन वटै वर्गका रुखको उपलब्धतासँगै संरक्षणका कारण वन घना बनेका कारण खोदाउ सामुदायिक वन उत्कृष्ट बनेको बर्दियाका सहायक वन अधिकृत लल्लन रावतले बताए। वन घना बन्दै गएपछि खोदाउ सामुदायिक वनको प्रतिहेक्टरमा औसतमा ४१ हजार ९ सय ६७ विरुवा पुगेको छ। तीविरुवामध्ये औसत लाथ्रा संख्या प्रतिहेक्टरमा १९ हजार ७ सय ८१, पोल साइजका रुखको संख्या २ सय ९२ र ठूला रुखको संख्या ४४ छ।
वन पैदावारको चोरीनिकासी रोक्न उभोक्ताले पालैपालो गस्ती (स्थलगत अनुगमन) गर्ने गरेका छन्। संरक्षणसँगै वनजंगल घना भएपछि स्थानीय उपभोक्ताले खोदाउ सामुदायिक बनबाट घाँस, दाउरासँगै काठ सहज रुपमा पाइरहेका छन्।
आर्थिक अवस्थालाई आधार बनाएर आर्थिक अवस्था राम्रो भएका, मध्यम अवस्था भएका र गरीव तथा बिपन्न गरी तीन समूहमा वर्गाीकरण गरिएको छ। सामुदायिक वनमा आवद्ध ३ सय घरपरिवारमध्ये करीब ७० प्रतिशत उपभोक्ता गरीब तथा विपन्न वर्गका छन्।
समूहबाट उपलब्ध हुने काठमा मध्यम वर्गका उपभोक्तालाई ५० प्रतिशत छुट दिइन्छ। विपन्न वर्गलाईप्रति क्युफिट थप ५० रुपैयाँ अर्थात धनी उपभोक्ताभन्दा प्रति क्युफिट १ सय रुपैयाँ सहुलियतमा काठ बिक्री गर्ने गरिएको समूहकी कोषध्यक्ष साधना थारुले बताइन्। समूहले काठको गोलियाप्रति क्युफिटको मूल्य ३ सय ५० तोकेको छ। तर, गरीब तथा विपन्न वर्गका उपभोक्ताले प्रति क्युफिट २ सय ५० रुपैयाँ पाउने गरेका छन्।
समूहको कार्यसमितिमा महिला, दलित, जनजाती, खासआर्य सबै समुदायको प्रतिनिधित्व छ। समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष महिला छन्। कार्यसमितिका १३ जनामध्ये ९ जना महिला र ४ पुरुष छन्। समूहको बैठक भेलामा पनि महिलाको सहभागिता ५० प्रतिशतभन्दा बढी हुने गरेको छ। चौधरीका अनुसार वनबाट उत्पादन भएको काठ उपभोक्ताभन्दा बाहिरका व्यक्तिलाई दिइँदैन।
वनजंगलको पैदावार बिक्रीबाट संकलन भएको रकमबाट वन हेरालुको पारिश्रमिक, वनको झाडी सफाइ, हाँगा कटानी तथा काटछाँट गर्ने, फायरलाइन (अग्नि रेखा) सँगै वन्यजन्तु संरक्षणका लागि खर्च गरिने गरिएको उनले बताइन्। खोदाउ सामुदायिक वनमा २ जना वन हेरालु छन्। वन हेरालुलाई मासिक तलब ७ हजार ५ सयका दरले १४ महिनाको तलब दिइँदै आएको छ।
पर्यटक भित्र्याउन होम स्टे
वनजंगलमा वन्यजन्तुको चहलपहल बढेसँगै आन्तरिक र बाह्य पर्यटकका लागि उपभोक्ताहरुले होम स्टे सुरु गरेका छन्।
‘प्रकृतिसँगै संस्कृति’ भन्ने नाराका साथ सुरु गरेको होमस्टेको गत वैशाख २३ गते वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए।
खोदाउ सामुदायिक वनको अबलोकन गरेपछि मन्त्री बस्नेतले वनजंगलको संरक्षण तथा होम स्टको सञ्चालनबाट स्थानीयको आम्दानी वृद्धि मात्र नभइ पर्यापर्यटनको विकासमा समेत योगदान पुग्ने बताए।
अहिले १२ वटा घरमा होम स्टे सञ्चालनमा आएको छ। जसका लागि तराई–भूपरिधी कार्यक्रम (ताल) ले सहयोग गरेको छ। होम स्टे सुरु भएपछि सामुदायिक वनमा पनि पर्यटक आउने क्रम सुरु भएको समूहकी कोषध्यक्ष थारुले बताइन्।