५ वैशाख, पोखरा । वन कुकुर संरक्षणबारेको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्टमा परेको छ ।
यो वर्ष नेपालका सिठी बजाउने सिकारीहरूमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवद्र्धन नामक परियोजना विश्वभरका उत्कृष्ट ६ भित्र मनोनीत भएको थियो । उत्कृष्ट ६ भित्र परेपछि सुरू भएको भोटिङका आधारमा नेपाली परियोजना सर्वोत्कृष्ट भएको हो ।
‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट भएको हो । परियोजना सर्वोत्कृटमा परेसँगै परियोजनाले ३० हजार युरो प्राप्त गर्नेछ । यो रकम कास्कीको मादी गाउँपालिकामा वन कुकुरको अनुसन्धान र संरक्षणका काम गरिने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।
सन् २०१७ र २०२१ मा मादी–२ ताङतिङमा सो संस्थाले वन कुकुर अनुसन्धानका लागि राखेको क्यामेरा ट्यापिङमा त्यस क्षेत्रमा लोपोन्मुख वन कुकुर देखिएका थिए । ताङतिङ गाउँमा यो प्रजातिलाई पर्यटन र आयआर्जनसँग जोड्ने योजनासहित परियोजना अघि बढाउने लक्ष्य अघि बढाइने बताइएको छ ।
वन कुकुरलाई स्थानीय समुदायले ‘प्याउँ’ भनेर चिन्छन् । यस प्रजातिको संंरक्षणका लागि जनचेतना, पानीको स्रोतका लागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहर व्यवस्थापन लगायतका संरक्षण कार्यक्रम सञ्चालन गरिने आचार्यले बताए । जंगलमा फ्याँकिएका प्लास्टिक जम्मा गरेर हस्तकलाका सामग्री बनाएर बिक्री गरिने पनि उनले बताए ।
वन कुकुर संरक्षण किन ?
दुर्लभ वन कुकुर संकटमा रहेको विज्ञ बताउँछन् । यो लोपन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको संख्या ९ सय ४९ देखि २ हजार २ सय १५ को आसपासमा रहेको अनुमान गरिएको छ । नेपालमा भने ५ सय भन्दा कम मात्र रहेको आचार्य बताउँछन् । वन कुकुरको संख्या तीव्र गतिमा घट्दै गइरहेको कारण संरक्षण गर्नुपर्ने अवस्था रहेको विज्ञ बताउँछन् ।
सन् १९७० सम्म नेपालका धेरै भू–भागमा पाइने भए पनि पछिल्लो समयमा केही सीमित स्थानमा मात्र अभिलेख गरिएको पनि आचार्यले बताए । यसको संख्यामा आएको गिरावटको मुख्य कारण आहारा प्रजातिको कमी, मानिससँगको द्वन्द्व, कृषि क्षेत्र विस्तार, प्रतिशोध स्वरुप मारिनु लगायत रहेको बताइएको छ ।
वन कुकुर (ढोले) प्रजातिको नामले चिनिने यो वन्यजन्तु कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो । पछिल्ला केही वर्षमा गरिएको अध्ययनले सो प्रजाति पुनः देखापरेको बताइएको छ । मादी गाउँपालिकाको क्षेत्रमा भेटिएका सो प्रजाति पुनः हराउन सक्ने अवस्था प्रति संरक्षणकर्मी चिन्तित छन् । विगतमा स्थानीय समुदायसँगको द्वन्द्वको कारण वन कुकुर प्रजातिलाई ठूलो क्षति पुगेको यस क्षेत्रमा लामो समयदेखि अध्ययन तथा संरक्षणमा संलग्न संरक्षणकर्मी आचार्य बताउँछन् ।
समाधान दैनिक/पोखरा