Saturday, April 19, 2025

दक्षिण इलाममा भेटियो कोइलीको नयाँ प्रजाति

३ वैशाख, काठमाडौं ।
दक्षिण इलामको माइ नगरपालिकामा नयाँ प्रजातिको पक्षी अभिलेख भएको छ ।

माइ नगरपालिका–४को सुखानी वन क्षेत्रमा भिओलेट कुक्कु (बैजनी कोइली) फेला परेको हो । पक्षी अनुसन्धाता राजेन्द्र गुरूङ, मलेसियाका पक्षीविज्ञ एलेकजेन्डर जोन एङ याङ, रोजर रोबर्ट र नेपाली चराविद् अनिष तिमिल्सिनाको टोलीले सो क्षेत्रमा भाले भिओलेट कुक्कु फेला फेला पारेको हो ।

समुद्र सतहबाट ३ सय मिटर उचाईको सो भेग झापासँग सीमा जोडिएको चुरे क्षेत्र हो । गत २५ चैत भेटिएको सो पक्षीका तथ्यहरू परीक्षण गर्दा भिओलेट कुक्कु नेपालका लागि पहिलो पुष्टि भएको हो ।

विहान ११ बजेपछि एक घण्टा हाराहारी एउटा रूखबाट अर्कोमा उड्दै बस्दै गरेको अवस्थामा यो पक्षी भेटिएको गुरूङले बताए । उनले भने, ‘जंगलमा अरू पक्षीहरू पनि थिए, तर भिओलेट कुक्कु एक्लै थियो, सँगै रहनु भएका मलेसियन नागरिक अलेक्जेन्डरले आवाजबाट यो चरा हुनसक्ने ठहर गर्नुभयो ।’

उनीहरूले संकलन गरेका तस्बिर, भिडियोहरू परीक्षण गर्दा यसअघि नेपालका कुनै पनि भेगमा यस्तो पक्षी आधिकारिक अभिलेख नभएको नेपाल पक्षीविद् संघले जनाएको छ ।

विज्ञहरूसँग छलफल गरेर संघले भिओलेट कुक्कुलाई नेपाली नाम ‘बैजनी कोइली’ जुराएको छ । यससँगै नेपालमा आधिकारिक अभिलेख भएका पक्षीका प्रजातिको संख्या ८ सय ९९ पुगेको छ ।

गत २८ चैतमा सो पक्षीबारेका तथ्य परीक्षण गर्न गुरूङले तस्बिर, भिडियो संघलाई पठाएका थिए । ‘तस्बिर र अन्य विवरणहरूको विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्हरूबाट पनि रायसुझाव लियौँ, तथ्यहरू परीक्षण गर्दा भिओलेट कुक्क नेपालका लागि नयाँ रेकर्ड बन्यो’, संघको नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए ।

बैजनी कोइली अघि नेपालमा कोइलीका १९ प्रजाति अभिलेख भएका छन् । गर्मीयामको सुरूवातसँगै पक्षीका ६५ प्रजाति हाराहारी भित्रिन्छन् । तापक्रममा सुधार आएसँगै नेपाल भित्रिने पाहुना पक्षीमा कोइलीका प्रजाति धेरै हुन्छन् । इलामको सुखानीमा भेटिएको बैजनी कोइली विचरणकै क्रममा नेपाल भित्रिएको हुनसक्ने पक्षीविद्हरूको ठहर छ ।

विज्ञहरूका अनुसार नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफैँ गुँड बनाउँदैनन् । गर्मीयामका पाहुना पक्षीहरूमध्ये जुरे कोइली अफ्रिकी महादेशबाट करिब ५ हजार किलोमिटर लामो दूरी तय गर्दै आउने गर्छ ।

बैजनी कोइली चीन, भारत, भुटान, बंगलादेश, फिलिपिन्स, सिंगापुर, ब्रुनाइ, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ । यसले भुटान, फिलिपिन्स, सिंगापुरमा प्रजनन गर्दछ ।

विश्वमा यो पक्षीका दुई उप–प्रजाति (सी. एक्स. साइन्थोरिङ्कस र सी. एक्स. एमिथिस्टिनस) अभिलेख छन् । सुखानीमा भेटिएको बैजनी कोइली सी. एक्स. साइन्थोरिङ्कस भएको पक्षीविद् संघले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार