१७ चैत, पर्वत
महत्व नबुझेर अहिलेसम्म वन जंगलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ ।
चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको चुत्रो र गुर्जो संकलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो । कुश्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा सञ्चालनमा आएको चिनियाँ कम्पनी छिफु बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो ।
८ करोड रूपैयाँको लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा ३ चिनियाँ र ३१ नेपाली कार्यरत छन् । कम्पनीले चुत्रोका डाँठको प्रतिकिलो २५ रूपैयाँ र जरालाई प्रतिकिलो ४० तथा गुर्जोलाई प्रतिकिलोको २० रूपैयाँ दिन थालेको छ । सदियौँदेखि उपयोगविहीन बनेको चुत्रो र गुर्जो बिक्री हुन थालेपछि अहिले गाउँगाउँका किसानलाई संकलन गर्न भ्याइनभ्याइ छ ।
कम मेहनत र लगानीमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि दैनिकजसो जंगलमा गएर चुत्रो संकलन गर्नेहरूको संख्या ह्वात्तै बढेको मोदी गाउँपालिका–४ क्याङका टीका पुनले जानकारी दिए । वार्षिक ७ सय ३० मेट्रिक टन चुत्रो र गुर्जो संकलन गर्ने लक्ष्य राखेको उद्योगले ४ महिनामा २० टनभन्दा बढीको काम हुन नसकेको जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले चुत्रो र गुर्जोलाई प्रशोधन गरी धुलो बनाएर चीन पठाउने गरेको छ । जिल्लाको जलजला गाउँपालिका–६ शालिजाका युवा शेरबहादुर पुनले २ सातामै एक हजार ५ सय किलो चुत्रो र गुर्जो बिक्री गरेर ५५ हजार रूपैयाँ आम्दानी गरेको जानकारी दिए ।
घरभन्दा माथिको तारे सामुदायिक वनबाट उक्त मात्रामा संकलन गरिएको हो । यस्तै फलेवास नगरपालिका–७ लिमीठानाका जगन्नाथ शर्माले चुत्रो र गुर्जो खोजी गर्न वनजंगल जानेहरूको संख्या बढेको बताए । चुत्रो सहजै संकलन गर्न सकिने भए पनि गुर्जो खोजी गर्न भने समय लाग्ने बताएका उनी यसको उपयोगसँगै खेतीसमेत विस्तार गर्नतर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याउँछन् ।
औषधिजन्य वनस्पति चुत्रो र गुर्जो संकलन तथा बिक्री भए पनि यसको दीर्घकालीन उपयोग र खेती विस्तारमा ध्यान नदिइएको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । नागरिकको विरोध बढेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन गरेको थियो ।
वन कार्यालयको अनुगमनपछि कम्पनीले आवश्यक कानूनी प्रक्रिया नपुर्याएको भन्दै पत्रचार नै गरी तत्काल संकलन कार्य रोक्न आदेश दिएको भए पनि कम्पनीले अटेर गर्दै धमाधम प्रशोधन गरिहेको स्थानीयले बताएका छन् । डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाका अनुसार विदेशी कम्पनीले प्रारम्भिक वातवरणीय परीक्षण नगरिक नै परियोजना सञ्चालन गरेको पाइएको छ ।
वन कार्यालयले पत्राचार गरेर यो विषयमा आफ्नो सरोकार देखाएजस्तो गरेको भए पनि व्यक्तिको दर्ता श्रेस्ता कायम भएका नम्बरी आवादीमा रहेका वनबाट जडीबुटी संकलन तथा ओसारपसारका लागि अनुमति दिन परिपत्र जारी गरिरहेको छ । कार्यालयले गण्डकी प्रदेश वन नियमावली विसं २०८१ को अनुसूची १६ मा कायम गुर्जो र चुत्रो संकलन तथा ओसारपसार गर्नलाई अनुमति प्रदान गरिएको सापकोटाले बताए ।
व्यक्तिगत वनबाट ल्याउने कुरालाई आफूहरूले रोक्न नमिल्ने उनको भनाइ छ । कार्यालयका अनुसार पर्वतबाट यही पुसदेखि गुर्जो गानो १० हजार ५ सय किलो र चुत्रो ३ हजार किलो मात्र संकलन गरिएको छ । छिफु बायोटेक्नोलोजी प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत नभइसकेको तर अन्तिम प्रक्रियामा रहेको बताए । उद्योग परीक्षणकै क्रममा किसानले ठूलो परिमाणमा चुत्रो र गुर्जो संकलन गरेर ल्याएपछि वन कार्यालयले रोकेको उनको दाबी छ ।
पैयुँ गाउँपालिकाले गत २७ फागुनमा चुत्रो र गुर्जाेगानो संकलन कार्य रोक्न सूचना नै जारी गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले गाउँपालिकाले अहिले पूर्ण रूपमा संकलन कार्यमा रोक लगाइएको बताए । डिभिजन वन कार्यालयले गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो र गुर्जो पहाडी भेगमा सबैजसो ठाउँमा पाइने जनाएको छ । कम्पनीले पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, अर्घाखाँची, गुल्मी स्याङ्जालगायतका जिल्लालाई केन्द्रित गरेर प्रशोधन उद्योग सञ्चालन गरेको बताएको छ ।
लक्ष्मीप्रसाद सापकोटा/रासस