२ वैशाख, चितवन ।
दुर्लभ एकसिंगे गैंडाको चोरी शिकार विगत ५ सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैंडा मरे पनि चोरी शिकारीका घटना रोकिएका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २ वर्षअघि ३० कात्तिक, २०८० मा निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैंडा मारेका थिए । त्यसको ९ दिनमा ९ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो ।
त्यसयता, सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरी शिकार हुन नपाएको थापा मगरले बताए । चालु आर्थिक वर्षको हालसम्म २४ गैंडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् ।
सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैंडाले थिचेर मृत्युका घटना भएका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरी शिकारीले गैंडा नमरेका निकुञ्जको दाबी छ ।
गत आर्थिक वर्षमा गैंडा २१ वटा मरेका थिए । मरेकामध्ये १८ वटा प्राकृतिक कारणले हो भने २ वटा चोरी शिकारीले र एउटाको कारण खुल्न नसकेको निकुञ्जले जनाएको छ । मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैंडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी शिकारीले मारेका थिए ।
विगतमा १ हजार ७१ दिनसम्म चोरी शिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरी शिकार शून्य गर्ने तर यसलाई उत्सवका रूपमा नमनाउने नीतिअनुरूप काम गरिएको थियो ।
सन् २०२१ को गणनाअनुसार नेपालमा गैंडाको संख्या ७ सय ५२ पुगेको छ । एकसिंगे गैंडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा ३ वटा गैंडा रहेको तथ्यांक छ ।
यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको चितवन निकुञ्जको दाबी छ ।
रासस