Saturday, March 22, 2025

‘हरित कूटनीति’लाई वेवास्ता

७ चैत, काठमाडौं ।
ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान काठमाडौं उपत्यकाभित्रको भ्रमण गन्तव्यमा मात्रै सीमित छैन, यहाँ विभिन्न देशका विशिष्ट पाहुनाहरूको ‘प्राकृतिक चिनो’ समेत छ ।

विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट पाहुनाहरूले वृक्षरोपण गरेको गोदावरी उद्यान पछिल्ला वर्षहरूमा भने उच्चस्तरीय भ्रमणको प्राथमिकतामा छैन । नेपाल भ्रमणमा आउने विशिष्ट पाहुनाहरूको भ्रमण कार्यसूचीमा पर्न/पारिन छाडेपछि यो उद्यानको ‘अतिविशिष्ट वृक्षरोपण बाटिका’को ओझ खस्किएको छ ।

हालसम्म विभिन्न १५ देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट पाहुनाहरूले गोदावरी उद्यानमा विभिन्न प्रजातिका नेपाली रैथाने बिरूवा रोपेका छन् । विदेशी राष्ट्राध्यक्षको पछिल्लो गोदावरी यात्रा १२ मंसिर, २०५३ (२७ अगस्ट, सन् १९९६) मा भएको थियो । सो बेला जर्मनीका राष्ट्रपति रोमन हरजोग र उनकी श्रीमती क्रिस्टिने करूबले ढाले कटुसको बिरूवा रोपेका थिए ।

त्यसपछि विभिन्न मितिमा विदेश राष्ट्राध्यक्ष र सरकार प्रमुखहरू नेपाल आए तर उनीहरू त्यहाँ वृक्षरोपण गर्ने गरी पुगेनन् । जर्मन राष्ट्रपति हरजोगको गोदावरी यात्राको करिब ३ दशकपछि वृक्षरोपण गर्नेगरी त्यहाँ पुग्ने विशिष्ट पाहुना हुन् बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी ।

गत २४ माघमा उद्यानमा ‘सुन चाँप’को बिरूवा रोप्दै बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी ।

करिब एक साताको नेपाल भ्रमणका क्रममा उनीहरूले गत माघ अन्तिम साता (२४ माघमा) ‘सुन चाँप’ र ‘लालीगुराँस’को बिरूवा रोपे । एड्वर्डले ‘अतिविशिष्ट वृक्षरोपण बाटिका’मा चाँप र सोफीले उद्यानको मुख्य प्रवेशद्वार परिसरमा गुराँसको बिरूवा रोपिन् । वृक्षरोपणसँगै उनीहरूले त्यहाँको जैविक विविधता शैक्षिक उद्यानका साथै हर्बेरियम, अर्किड हाउसलगायत क्षेत्रको अवलोकन गरे ।

८२ हेक्टरमा फैलिएको उद्यानभित्रको ‘अतिविशिष्ट बाटिका’ करिब ४ रोपनी क्षेत्रमा छ । हालसम्म यो बाटिकाका सबै बिरूवा हुर्किएका, सुरक्षित र हराभरा रहेका उद्यान अधिकृत गौरब परमारले बताए । ‘विशिष्ट पाहुनाहरूको चिनो र उहाँहरूको उपस्थितिको प्रमाण सुरक्षित छ, सुरक्षित रहन्छ’, उनी भन्छन्, ‘अतिविशिष्ट बाटिकामा वृक्षरोपण हुने परम्पराले निरन्तरता पायो भने उद्यानको पहिचान धेरै फराकिलो बन्थो ।’

बाह्रै महिना हरियाली रहने गोदावरी उद्यानमा १ हजार २ सय ८५ प्रजातिका वनस्पति अभिलेख छन् । अन्य देशमा नपाइने र नेपालमा मात्रै अभिलेख भएका विभिन्न ११ प्रजातिका वनस्पति पनि यहाँ संरक्षित र सुरक्षित रहेका परमारले जानकारी दिए ।

उनका अनुसार वार्षिक ६ लाख हाराहारी आगन्तुक यो उद्यानमा पुग्छन् । ‘६ लाख आगन्तुकमध्ये वार्षिक २ हजार हाराहारी विदेशी यहाँ आउँछन्’, उनी भन्छन्, ‘विशिष्ट बाटिकामा वृक्षरोपणले निरन्तरता पाएको भए पक्कै पनि विदेशी आगन्तुकहरूको संख्या यहाँ बढ्ने थियो ।’

पहिलो विशिष्ट पाहुना युगोस्लाभियाका राष्ट्रपति

अतिविशिष्ट बाटिकामा वृक्षरोपण गर्ने पहिलो राष्ट्राध्यक्ष युगोस्लाभियाका राष्ट्रपति जोसिप ब्रोन्ज टिटो हुन् । उनले २२ माघ, २०३० (४ फेब्रुअरी, सन् १९७४) मा लालीगुराँसको बिरूवा रोपेका थिए । उनीपछि म्यानमा (बर्मा), चीन, श्रीलंका, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, रोमानिया, जर्मनीका राष्ट्रपतिहरूले यहाँ वृक्षरोपण गरेका छन् ।

बेलायती महारानी एलिजावेथ द्वित्तीय र उनका श्रीमान् फिलिप, चीनका प्रधानमन्त्री झाओ जियाङ, बंगालादेशको मन्त्रिपरिषद्का अध्यक्ष हुसेन मोहम्मद इर्साद लगायतले पनि नेपाल भ्रमणका क्रममा वृक्षरोपण गरेको अभिलेख छ ।

तत्कालीन राजा वीरेन्द्र स्वयंको उपस्थितिमा अतिविशिष्ट बाटिकामा विशिष्ट पाहुनाहरूलाई वृक्षरोपणका लागि गोदावरी पु-याउने गरिन्थ्यो । प्रकृतिसँग निकट रहने स्वभावका वीरेन्द्र स्वयंले भने यहाँ वृक्षरोपण गरेको अभिलेख छैन ।

उद्यानको अतिविशिष्ट वृक्षरोपण बाटिका ।

तत्कालीन नेकपा माओवादीले २०५२ पछि सशस्त्र संघर्ष सुरू गरेपछि नेपाल भ्रमणमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूलाई सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सरकारले गोदावरी लाने परम्परा रोकेको थियो । सरकार र माओवादीबीचको शान्ति प्रक्रिया पश्चात पनि हरित कूटनीतिको परम्परा रोकिनु त्यसयताका सरकारहरूकै कमजोरी ठान्छन् वरिष्ठ वनस्पतिविद् डा. पुष्पमान अमात्य ।

विशिष्ट पाहुनाहरूको भ्रमणका क्रममा हुने वृक्षरोपण परम्परा टुट्दा कूटनीतिक अभ्यासको पाटो खुम्चिने उनको तर्क छ । उच्चस्तरीय भ्रमणमा हुने वृक्षरोपणको अर्थ गहिरो हुने बताउँदै उनी भन्छन्, ‘झट्ट सुन्दा भिभीआईपीहरूले बिरूवा रोप्ने कुरा सामान्य लाग्छ, तर कूटनीतिमा यसको अर्थ गहिरो हुन्छ, यो त नेपालले अन्य देशसँग सम्बन्ध निकट बन्ने/बनाउने अभ्यास पनि हो ।’

सरकारले चाहेमा राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूले गर्ने वृक्षरोपणले निरन्तरता पाउने अमात्यको ठहर छ । उद्यानको पृष्ठभूमि राजासँग र गणतन्त्र घोषणाअघिसम्म उद्यानको नाम ‘शाही’ शब्द जोडिँदा गणतन्त्र घोषणापछिका सरकारहरूले जानाजान यो क्षेत्रलाई कूटनीतिक प्राथमिकतामा नपारेका हुनसक्ने उनको तर्क छ । वनस्पति विभागमा १६ वर्ष वैज्ञानिक अधिकृत रहेका उनी विगतमा एक दशक हाराहारी गोदावरी उद्यान प्रमुख थिए ।

गोदावरी उद्यानको पृष्ठभूमि
नेपालका वनस्पतिबारे बेलायती आवद्धता निकै पुरानो छ । नेपाल–बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना अगावै सन् १८०२ मा बेलायती वैज्ञानिक फ्रान्सिस हेमिल्टनले नेपाल भ्रमण गरी नेपालका विभिन्न भेगका वनस्पतिको अध्ययन/अनुसन्धान गरेका थिए ।

गोदावरी उद्यान बेलायतसँगकै सहयोग/सहकार्यमा बनेको हो । तत्कालीन राजा महेन्द्र २०१७ मा बेलायत भ्रमणमा जाँदा उनले त्यहाँको शाही वनस्पति उद्यान अवलोकन गरेका थिए । सो उद्यानका धेरै पक्षले मन जितेपछि उनले नेपालमा त्यस्तै प्रकृतिको संरचना बनाउने परिकल्पना गरे । परिणामस्वरूप २०१९ मा शाही वनस्पति उद्यानको शुभारम्भ भयो ।

उद्यानलाई मूर्तरूप दिन बेलायतले २ जना डिजाइनरहरू पठाएको थियो । उनीहरू करिब ४ वर्ष (सन् १९६१ देखि १९६५) सम्म गोदावरीमै बसेर उद्यानका विभिन्न पाटो र संरचना तयार गर्न जुटेका थिए । बेलायतका शाही परिवारका सदस्यहरूले यो उद्यानमा विभिन्न मितिमा भ्रमण गरेका छन् ।

उद्यान परिसरमा वनस्पति विभागका महानिर्देशक सञ्जिव राई, वन राज्यमन्त्री रूपा विक, बेलायती राजकुमारी सोफी र राजकुमार एड्वर्ड ।

महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चाल्र्स सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपाल भ्रमणका क्रममा गोदावरी पनि पुगेको अभिलेख छ । २०७२को विनाशकारी भूकम्पछिको पुननिर्माणमा सहयोग गर्ने उद्देश्यसहित नेपाल आएका अधिराजकुमार ह्यारीले पनि सन् २०१६मा यो उद्यानको भ्रमण गरेका थिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पूरा भएको अवसरमा ६ असोज, २०७३मा गोदावरीमा ‘जैविक विविधता शैक्षिक उद्यान’ निर्माण भएको छ । करिब ५ हजार प्रजातिका वनस्पतिहरूको नमूना (हर्वेरियम) संकलन गरेको उद्यानले वनस्पति अध्ययन, अनुसन्धान र संरक्षण गर्दै आएको छ ।

कूटनीतिको महत्वपूर्ण पाटो

विशिष्ट पाहुनाहरूको औपचारिक भ्रमणका कार्यक्रमहरूकै सूचीमा वृक्षरोपणलाई समेट्ने गरिन्छ । यस्तो कार्यक्रम अन्य देशहरूमा कूटनीतिक अभ्यासकै महत्वपूर्ण पाटोका रूपमा स्थापित रहेकाले सरकारले विगतको परम्परालाई प्राथमिकतामा राख्नुपर्ने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठको बुझाइमा नेपालमा स्थापित भइसकेको ‘हरित कूटनीति’लाई नेपाल सरकारले खुम्च्याउने काम गरिरहेको छ । ‘कूटनीतिमा यो महत्वपूर्ण अन्तर्राष्ट्रिय अभ्यास हो, मित्र देशहरूको मित्रताको चिनो हो’, उनी भन्छन्, ‘चिनो जोगाउन सकियो भने ती देशहरूसँगको कूटनीतिक सम्बन्ध वर्षौसम्म जिवन्त बन्छ ।’

परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापालसमेत रहेका श्रेष्ठको अनुभवमा द्विपक्षीय सहमतिमा वृक्षरोपण लगायतका कार्यक्रमहरू भ्रमणको औपचारिक सूचीमा समेटिने भएकाले परराष्ट्र मन्त्रालयले चाहेमा रोकिएको परम्परा व्युँतिन सक्छ, कूटनीतिको यस्तो अभ्यासले निरन्तरता पाउँछ ।

नेपालमा यस्तो अभ्यास रोकिए पनि नेपालका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरू विदेश यात्रामा रहँदा वृक्षरोपण कार्यक्रममा सहभागी हुने गरेका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ३ वर्षअघि बेलायतको औपचारिक भ्रमणका जाँदा वृक्षरोपण कार्यक्रममा सहभागी थिए । १७ कात्तिक, २०७८मा उनले स्कटल्याण्डको एडिनब्रास्थित शाही वनस्पति उद्यानको नेपाली बगैँचामा ‘भोजपत्र’को बिरूवा रोपेका थिए ।

गोदावरी उद्यानमा नेपाली राष्ट्राध्यक्षहरू

विदेशी विशिष्ट पाहुनाहरूलाई वृक्षरोपणका लागि गोदावरी लागे परम्परा रोकिए पनि गणतन्त्र घोषणापछिका नेपाली राष्ट्राध्यक्षहरू उद्यान पुगेका छन् । प्रथम राष्ट्रपति डा. रामवरण यादव र द्वितीय राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट बाटिकामा वृक्षरोपण गरेका छन् ।

यादवले ४ साउन २०६८ मा रूद्राक्ष र भण्डारीले ६ असोज, २०७३ मा लौडसल्लाको बिरूवा रोपेकी थिइन् । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल वृक्षरोपण गर्ने गरी उद्यान आउने जानकारी नआएको उद्यान अधिकृत परमारले बताए ।

कूटनीतिज्ञहरूको रोजाइमा गोदावरी
नेपालका लागि विभिन्न देशका आवासीय राजदूत र दूतावासका उच्च अधिकारीहरू नियमितजसो गोदावरी पुग्ने गर्छन् । बाक्लै गोदावरी पुग्ने राजदूतहरूको पहिलो सूचीमा छन् नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास ।

उद्यान परिसरमा फूलेको सुनगाभा ।

उद्यान अधिकृत परमार भन्छन्, ‘बेलायत र चीनका राजदूतहरू पनि नियमित जसो आउनुहुन्छ । अरू भन्दा इजरायली राजदूत अलि धेरै आउनेमा पर्नुहुन्छ, उहाँ प्रायः २/३ महिनाको अन्तरमा आइरहनुहुन्छ ।’ बासअघि नेपालका लागि सोही देशका राजदूत हनान गोदर पनि नियमितजसो गोदावरी पुगिरहन्थे ।

वर्तमान बेलायती राजदूत रव फान नेपाल आएयता ४ पटक उद्यान भ्रमणमा पुगेका छन् । राजदूतहरूले उद्यानका अन्य क्षेत्रमा वृक्षरोपण समेत गरेका छन् । तर, राजदूतहरूलाई अतिविशिष्ट वृक्षरोपण बाटिकामा वृक्षरोपण गर्न दिने परम्परा छैन ।

ताजा समाचार

सम्बन्धित समाचार