Saturday, October 26, 2024

२०१७ को वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

काठमाडौँ– नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवसको अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘‘वातावरण पत्रकारिता पुरस्कार– २०१७” दि काठमाण्डौ पोष्ट दैनिकका संवाददाता चन्दनकुमार मण्डल र अन्नपूर्ण पोष्टका संवाददाता छेटु शेर्पालाई संयुक्तरुपमा प्रदान गरेको छ ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१७ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार एक जनालाई प्रदान गर्ने गरेको थियो । तर, यो पटक विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरुको मूल्याङ्कन गर्दा दुवैजना पत्रकारहरुको बराबरी अङ्क भएकाले संयुक्त रुपमा प्रदान गरीएको नेवापसले जनाएको छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१७ मा आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । वरिष्ठ पत्रकार राजेन्द्र दाहाल संयोजक, पत्रकार तथा कार्यसमिति सचिव शारदा रिजाल र कार्यसमिति विज्ञ सदस्य तथा वातावरणविद् सूर्यमान शाक्य रहेको छनौट समितिले संकलित सामाग्रीको मूल्याङ्कन गरेको थियो ।
समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुमध्ये सान्दर्भिकता, गहनता, विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता समेतका आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार