Wednesday, April 23, 2025

वस्तीमा इँटा भट्टाको धुँवाको मुस्लो, जहिल्यै तुँवालो

पाँचखाल– काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल उपत्यकाको सौन्दर्य कालो प्रदूषित तुवाँलोले छेकेको छ। धुँवा अनि तुँवालो १ सय ३ वर्गकिलोमिटर क्षेत्रफल रहेको पाँचखालमा मडारिरहन्छ। बिहान र बेलुका पाँचखालको आकाशमा मडारिरहने तुँवालो दिउँसो घाम लागेपछि मात्र फाट्छ।

‘जहिल्यै बिहान, बेलुका तुँवालो लाग्छ,’ पाँचखाल–७ श्रीरामपाटीका भोलानाथ ढकाल भन्छन्, ‘यहाँको सफा आकाश हेर्न बर्खा कुर्नुपर्छ।’

आजभन्दा १०-१२ वर्ष अगाडि पाँचखल उपत्यकाका तत्कालीन ७ वटा गाविसमा दिउँसो तुँवालो लाग्दैनथ्यो–हिउँद बाहेक। तर, अहिले सफा आकाश कुर्न बर्खा लाग्नुपर्छ। बाँकी महिना तुँवालोले ढाक्छ।

ढकाल सम्झन्छन, ‘आजभन्दा करीब एक दशक अघि जब नवदुर्गा इँटा उद्योग स्थापना भयो। त्यतिखेरबाट धुँवाको सास्ती थपियो। पाँचखालको जनसंख्या बढेर ३७ हजार ९ सय ९७ (नगरपालिकाको तथ्यांकअनुसार) पुगिसक्यो । सँगसँगै इँटा उद्योग पनि ७ वटा पुगिसके।

वडा नम्बर ७ मा हनुमान र श्ववइनेश्वर इँटा उद्योगसँगै हिमालयन मल्टी प्लाइ उद्योग सञ्चालनमा छन्। यसैगरी, वडा नम्बर ८ मा नवदुर्गा र उपकार इँटा उद्योग, वडा नम्बर १२ मा पलाञ्चोक र जयभीमसेन इँटा उद्योग तथा वडा नम्बर ९ मा चाइनिज इँटा उद्योग छन्।

उनका अनुसार यहाँका इँटा उद्योगले मंसिरदेखि जेठ अन्तिमसम्म इँटा पकाउँछन्। तब सुरु हुन्छ इँटाको कालो धुँवाको आतंक। ‘करीब ७ महिना इँटाको कालो धुँवा खान बाध्य छौं,’ तरकारी खेती गर्दै आएका ढकालले भने, ‘काउली लगायो फूल पूरै कालो हुन्छ। आलुको पात नै ख्याउटिन्छ।’

तरकारीका लागि प्रख्यात पाँचखाललाई नगरपालिकाले ‘पाँचखाल कृषि सहर’ घोषणा गरेको छ।

तर, गत वर्ष भएको स्थानीय चुनावमा तत्कालीन एमालेबाट उपमेयरमा चुनाव लडेर हारेकी भक्तकुमारी तामाङ भन्छिन्, ‘अचेल यहाँको तरकारी बिक्री हुँदैन। तरकारी नै कालो हुन थालेपछि कालीमाटीबाट समेत फिर्ता हुन्छ।’ धोएर सुकाएको लुगा समेत धुँवाका कारण कालो हुने गरेको उनी बताउँछिन्।

स्थानीय लक्ष्मण राईले २ रोपनी जमिनमा तरकारी लगाएका छन्। तर, सिंचाइका लागि पानी नहुँदा तरकारी सुक्न थालेको उनको दुखेसो छ। ‘पहिले पर्याप्त पानी हुन्थ्यो। इँटा उद्योगले डिप बोरिङबाट पानी तान्दा कुवाको पानी सुक्न थालिसक्यो,’ रार्इ भन्छन्, ‘कसरी तरकारी खेती गर्नु।’

परम्परागत रुपमा चल्दै आएका इँटा उद्योगलाई प्रदूषणमुक्त र ऊर्जा खपत कम गर्न नयाँ मोडल बनाइएको छ। जसलाई ‘जिक–ज्याक’ प्रविधि भनिन्छ। भट्टाको डिजाइनमा सुधारका साथै वैकल्पिक ऊर्जा र प्वाल भएको (होलो ब्रिक्स) इँटाको प्रयोगबाट प्रदूषणलाई अझै न्यून बनाउन सकिन्छ।

तर, पाँचखालमा सञ्चालित कुनै पनि इँटा उद्योगले नयाँ प्रविधिको प्रयोग गरेका छैनन्। वस्तीमै सञ्चालित इँटा उद्योगको धुँवाले खोकी लाग्ने, शरीरमा घाउखटिरा हुने समस्या बढ्दै गएको स्थानीय बताउँछन्।

वडा नम्बर १२ का वडाध्यक्ष गोपालबहादुर दुनुवार पनि स्थानीयको हित विपरीत सञ्चालित इँटा उद्योग सञ्चालनको अर्थ नरहने बताउँछन्। उनी भन्छन्, ‘इँटा उद्योगले प्रदूषण बढाएकाले हटाउनुपर्छ भनेर नगरपालिकामा जानकारी गराएका छौं।’

पाँचखालका उपमेयर लक्ष्मी दुनुवार उद्योगलाई चलाउन पाइँदैन भनेर बन्द गर्न नसकिने बताउँछिन्। उनी भन्छिन्, ‘उद्योग सञ्चालनका लागि हामीले अनुमति दिएका होइनौं। पहिलेदेखि नै सञ्चालनमा छन्। बन्द गराउनुपर्छ भनेर भन्दैमा कसरी बन्द गराउनु ? वातावरणमैत्री कसरी बनाउने भनेर छलफल भइरहेको छ।’

‘वातावरण जोगाऔं अभियान’
पाँचखालमा सञ्चालित इँटा उद्योग वस्तीमै छन्। श्ववइनेश्वर इँटा उद्योग किटीनी चोकभन्दा करिव ५० मिटर टाढा छ, भने जयभीमसेन इँटा उद्योग र भुवनेश्वरी आधारभूत विद्यालयको दूरी २०–३० मिटर मात्र छ।

तर, घरेलु तथा साना उद्योग विभागले २०७२ मा जारी गरेको इँटा उद्योगको कार्यविधिमा ‘घनावस्तीभन्दा २ किलोमिटरको दूरीमा मात्र इँटा उद्योग खोल्न पाइने’ उल्लेख छ।

यसरी मापदण्डविपरीत वस्ती बीचमै इँटा उद्योग स्थापना हुँदा समेत पाँचखाल नगरपालिकाले कदम नचालेपछि स्थानीय बासिन्दाले ‘पाँचखाल उपत्यका वातावरण जोगाऔं अभियान’ थालेका छन्।

अभियानका संयोजक सूर्यबहादुर भेटवाल स्वच्छ हावा पाउने अधिकारको सुनिश्चितताको लागि अभियान थालिएको बताउँछन्। १९ जेठमा पाँचखालमा आयोजित ‘अव्यवस्थित तथा मापदण्डविपरीत सञ्चालित, मानव स्वास्थ्यमा दूरगामी तथा प्रत्यक्ष असर पार्ने इँटा भट्टा तथा प्लाइउड कारखाना हटाउने अभियान’ मा भेटवालले भने, ‘यहाँको वातावरण स्वस्च्छ बनाउने हो भने उद्योग हटाउनुको विकल्प छैन।

उनको भनाईमा वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण सापकोटा पनि सहमत छन्। उनी भन्छन्, ‘इँटा उद्योगले पाँचखालमा तुँवालो मात्र भरिएको छैन। मानवस्वास्थ्यमा नै असर परिरहेको छ। अब उद्योग सञ्चालन गर्न दिइन्न।’

नगरपालिका कार्यपालिकाको अब बस्ने बैठकमा इँटा उद्योग बन्दका लागि प्रस्ताव लैजाने उनले प्रतिवद्धता जनाए। पलाञ्चाेक इँटा उद्योगका सञ्चालक राजकुमार श्रेष्ठ खुला आँखाले हेरेर इँटा उद्योगकै कारण प्रदूषण बढेको भनेर भन्न नहुने बताउँछन्। उनी भन्छन्, ‘राज्यलाई कर तिरेर उद्योग सञ्चालन गरेका छौं। इँटा उद्योगकै कारण प्रदूषण बढेको हो भने सरकारी निकायबाट चेकजाँच होस्। सोही अनुसार सुधार गर्न तयार छौं।’

मापदण्डमा नरेहका इँटा उद्योग बन्द गराउनुपर्ने माग गर्दै यहाँका स्थानीय विगत एक वर्षदेखि आन्दोलनमा छन्। यसअघि उद्योगीहरूले आफूहरूको लगानी डुब्ने भन्दै ६ महिनासम्मका लागि उद्योग सञ्चालनका लागि अनुमति मागेपनि अहिले फेरि नगरपालिकाले नवीकरण थालेपछि स्थानीय आन्दोलित भएका हुन्।

इँटा उद्योगहरुको नवीकरण भइरहेको उपमेयर दुनुवारले पुष्टि गरिन। नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष पुष्प ढकाल उद्योगलाई वातावरणमैत्री बनाउनुको विकल्प नरहेको ठान्छन्।

विभिन्न अध्ययन अनुसार सडकको धुलो, सवारी साधनले निकाल्ने धुवाँपछि वायु प्रदूषणको तेस्रो कारण इँटा उद्योग बनिरहेको छ। विकास सहयोगका लागि स्वीस एजेन्सी (एसडिसी) का अनुसार इँटा क्षेत्रले प्रतिवर्ष इँटा भट्टाले ००.३५४ मिलियन टन कोइला खपत गर्दछ र यसबाट ०.७ मिलियन टन कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार